हार्दिक श्रद्धाञ्जली - आर्य आक्रमण सिद्धान्त

भाग-१

सरकारले विद्यालय तहमा संस्कृतलगायत २६ वटा भाषा ऐच्छिक विषयको रूपमा पठनपाठन गराउन पाठ्यक्रम तयार गरेको छ। यस्तो समाचार सार्वजनिक भए लगत्तै विभिन्न ढंगबाट यसको चर्चा सुरू भएको छ ।

एकथरी भन्छन्, ‘संस्कृत भाषा ऐच्छिक होइन, अनिवार्य बनाउनुपर्छ। अर्काथरी भन्छन्, ‘संस्कृत युरोपको ककेसियाबाट आएकाले लादेको भाषा हुँदा नेपालमा पठनपाठन गराईनु हुँदैन।’  

नेपालमा १२९ वटा भाषा छन्। सबै भाषाको संरक्षण, संवर्धन र प्रवर्धन हुनुपर्छ। यसमा दुई मत छैन। सरकारले नेपालका भाषाको संरक्षण गर्ने उद्देश्यले ल्याएको संस्कृतलगायत अन्य २६ वटा भाषालाई ऐच्छिक विषयको रुपमा विद्यालयमा प्रवेश गराउने कदम स्वागतयोग्य छ। 

नेपालको संविधान २०७२ को धारा ७ को उपधारा १ मा पनि देवानागिरी लिपिमा लेखिएको नेपाली भाषालाई सरकारी काम चलाउको भाषा मानिएको र नेपालका १२९ वटा भाषिक समूदायलाई जोड्ने काम नेपाली भाषाले गरेको हुँदा नेपाली भाषालाई सम्पर्क भाषा रुपमा विद्यालयमा अनिवार्य पठनपाठन गराउनु स्वाभाविक हो। तर संस्कृत भाषालाई विद्यालयमा अनिवार्य गरिनुपर्ने माग गर्नु अर्को अतिवादी सोँच हुन जान्छ। 

सामाजिक सञ्जालमा पुरा समाचार नै नपढी प्रतिक्रिया दिन हतार गर्नेको जमात देख्दा इन्टरनेट जस्तो अभूतपूर्व प्रविधिको अझै पनि सदुपयोग हुन नसकेको भान पर्छ। एउटा, संस्कृत भनेको युरोपको ककेसियाबाट आएकाले ल्याएको भाषा हो भनेर कमेन्ट गरिदिन्छ अरूले बुझ्दै नबुझी बाझाबाझमा उत्रिहाल्छन्। त्यसरी कमेन्ट गर्ने घृणा र विभाजन ल्याउन नियोजित रूपमा परिचालित हुनसक्छ भन्ने कुराको हेक्का राख्नेको कमि देखिन्छ।  

जातीय घृणा र द्वन्द्वको कुरा आउँदा प्राय: रूवाण्डाको घटना दोहोर्‍याएर हेर्नुपर्ने हुन्छ। हुतु र तुत्सीबीच भएको १०० दिनको जातीय हिंसामा करिब १० लाख मारिएका थिए। जातीय द्वन्द्व एकै दिन सुरु भएको थिएन। सात सय वर्षदेखि सामाजिक अन्तरघुलन भएको रुवाण्डली समाज बेल्जियन र फ्रेन्चहरुले एउटा एउटा जातिलाई काखी च्याप्ने र धर्म परिवर्तन गराउने कार्यले विभाजित बनेको थियो।

आरटीएलएम जस्ता रेडियोले नियमित रुपमा जातीय घृणा फैलाउँदा फैलाउँदा अन्तमा जातीय नरसंहार हुनपुगेको थियो। 

तत्कालिन रूवान्डाको आरटिएलएम रेडियोमा जस्तै हाल सामाजिक सञ्जालमा एउटा जात बिरुद्ध अर्को जातले घृणा ओकलिरहेको देखिन्छ। कतै रुवान्डाकै नियति नेपालमा दोहोर्‍याउने प्रपञ्च त हुँदै छैन? 

कतिपय पढेलेखेका भन्नेलेसमेत संस्कृत भाषा र वैदिक संस्कृति युरोपको ककेसिया भन्ने ठाउँबाट आएका ‘आर्य’ नश्लका मानिसहरुले ल्याएर लादेका हुन् भन्दा पत्याउनेको जमात नेपालमा तयार भइसकेको छ। 

छिमेकी राष्ट्र इन्डियामा यही भनाई दोहोर्‍याएर बेलायतीको शासनलाई ‘स्वाभाविक’ बनाउने प्रयास गरिएको थियो। यसैलाई दोहोर्‍याएर दक्षिण इण्डियामा द्रभिड  विरुद्ध ‘आर्य’ अनि उत्तर इण्डियामा उच्च जाति ‘आर्य’ विरुद्ध दलित भन्दै विभाजनको रेखा कोरिएको छ। दलितको लागि दलित्स्तान र द्रभिडको लागि द्रभिद्स्तानको वकालत त गर्ने नै भए।  

डिभाईड एण्ड रुल गर्न खप्पिस खेलाडीले फालेको आर्य आक्रमण सिद्धान्तमा त्यहाँ त हो’मा’हो मिलाउने जमात तयार गरिसकेर अब नेपाल पनि प्रवेश गरेको छ। नेपालमा त झन् राजनीतिक दलहरुप्रतिको चरम नैराश्यताले विदेशीले फालेको आर्य आक्रमण सिद्धान्तको जालो कसरी जेलिने हो, हेर्ने बाँकी छ। 

के हो आर्य आक्रमण सिद्धान्त?

‘आज भन्दा ३५ सयदेखि ४ हजार वर्ष अगाडि युरोपको ककेसियाबाट आर्यहरू आएर इन्डिया र पाकिस्तानको बीचमा रहेको सिन्धुघाटी सभ्यतामाथि आक्रमण गरे। त्यहाँको सभ्यता मासेर वैदिक संस्कृति र संस्कृत भाषा लादे’, यो आर्य आक्रमण सिद्धान्त हो।  

यो श्वेतहरुले आफ्नो नश्लीय उच्चता देखाउन र बेलायती साम्राज्यबाट स्वतन्त्र चाहनेहरुको नैतिक बल गिराउन गरिएको हावादारी कुरा हो भन्ने कुरा धार्मिक ग्रन्थमा आधारित प्रमाण, ऐतिहासिक स्थलहरुको उत्खनन्, नदीमा आधारित प्रमाण र आनुवांशिक (डिएनए) संरचनाको अध्ययनले प्रमाणित गरिसकेको छ।  

आर्य भनेको कुनै नश्ल होइन। आर्य गुणवाचक शब्द हो। अंग्रेजीमा जेन्टलम्यान भने जस्तै संस्कृतमा ‘आर्य’ भनिन्छ। युगद्रष्टा डा निर्मलमणि अधिकारीका अनुसार सन् १८६६ अप्रिल ९ मा भएको इसाई पादरीहरुको रोयल एसियाटिक सोसाइटीको भेलाले आर्य शब्दलाई नश्लवाचक शब्द बनाएको थियो।

आर्य शब्दलाई नाक चुच्चो, विस्फारित आँखा र गहुँ गोरो वर्णको मानिस हो भनेर उक्त भेलाले निर्णय गरेको थियो। जब कि, इन्डियाका संविधानका निर्माता भिमराव रामजी अम्बेडकरले ऋग्वेदका पाना पाना पढेर गणना गर्दा ३१ स्थान आर्य शब्द प्रयोग भएको पाए र सबै ठाउँ गुणवाचक जनाउन मात्र प्रयोग भएको पाए। गुणवाचक आर्य शब्दलाई नाक चुच्चो, विस्फारित आँखा भएको गहुँ गोरो मानिस भन्ने अर्थ लगाएपछि हिन्दु धर्मग्रन्थमा भनिएको ‘कृण्वन्तो विश्‍वमार्यम्।’ (ऋग्वेद ९।६३।५) को अर्थ विश्वका सारा मानिसलाई गुण, स्वभाव र कर्मले सर्वश्रेष्ठ बनाउ भन्ने उद्गारले ‘विश्वका सारा मानिसहरुलाई नाक चुच्चो, विस्फारित आँखा र गहुँ गोरो बनाउ भन्ने अर्थ लाग्ने भयो। त्यस्तै गौतम बुद्धले दिनुभएको ‘आर्य आष्टांगिक मार्ग’ को अर्थ नाक चुच्चो, विस्फारित आँखा र गहुँ गोरोको आठ मार्ग भन्ने अर्थ लाग्ने भयो।

गुणवाचक शब्दलाई नश्लवाचक शब्द बनाएर वैदिक संस्कृति र बौद्ध संस्कृतिमा एकसाथ हमला गरेका रोयल एसियाटिक पादरीहरु त्यतिमै सिमित रहेनन्। एसियाटिक सोसाईटी अफ बङ्गालका संस्थापक विलियम जोन्सले आर्य आक्रमण सिद्धान्तको प्रतिपादन गरे।

आर्य आक्रमण ३५ सयदेखि ४ हजार वर्षको बीचमा भएको थियो भन्नु पछाडि एउटा हाँस्यास्पद कारण छ। विलियम जोन्स लगायत तत्कालिन बेलायती पादरी र खोजकर्ताहरु पृथ्वी छ हजार वर्ष अगाडि निर्माण भएको भन्ने कुरामा विश्वास गर्थे। बाईबलमा उल्लेखित  नोहाज फ्लड अर्थात नोहाको बाढी ४५ सय वर्ष अगाडि भएको भन्ने मान्थे। वैदिक ग्रन्थ गौतम बुद्धभन्दा अगाडिको हो र गौतम बुद्ध यशु क्रिस्ट भन्दा ५ सय वर्ष अगाडीको भन्ने ज्ञान थियो। आर्यहरू ४५ सय वर्ष भन्दा अगाडि आएको भन्न मिलेन किन भने त्यो बेला पृथ्वीभरी पानी नै पानी भन्ने मान्थे। न त गौतम बुद्धभन्दा पछाडि आएको भन्न मिल्यो।  

यसरी पृथ्वीमा आएको ठूलो बाढी रोकिएपछि तर गौतम बुद्ध भन्दा अगाडि आर्यहरुद्वारा आक्रमण भएको होला भनेर मान्ने क्रममा ३५ सयदेखि ४ हजार वर्ष अगाडिको समय निस्कियो। यो हाँस्यास्पद तर्क हो। पृथ्वीको उमेर साँढे चार अर्ब वर्ष भइसकेको हुँदा ६ हजार वर्षअघि पृथ्वीको निर्माण भएको थियो र ४५ सय वर्ष अगाडि पृथ्वीभरी पानी नै पानी थियो भन्ने कुराको वैज्ञानिक प्रमाण छैन। यी दुई विषयलाई आधार बनाएर स्थापना गरिएको आर्य आक्रमणको समयको खम्बा यही ढलिसकेको छ।

आर्य आक्रमण सिद्धान्तको षड्यन्त्रलाई तत्कालिन युरोपेली श्वेतहरुको नश्लीय अहमबाट पृथक राखेर हेर्न मिल्दैन। जुन बेला विलियम जोन्स लगायतका खोजकर्ता तत्कालिन बेलायती साम्राज्य रहेको भारतीय उपमहाद्वीपमा आए, त्यो बेला युरोपमा क्रानियोमेट्रिले राम्रै बजार पिटेको थियो। सन् १७७८ मा नेदरल्याण्ड्सका मानवशास्त्रीले नाकको उचाई नापेर कुन व्यक्तिको दिमागी क्षमता कस्तो हुन्छ भनेर पत्ता लगाउने सकिने यन्त्र बनाएका थिए। क्रानियोमेट्री भनिने यो विधि प्रयोग गरेर जसको नाकको उचाई बढी हुन्छ, उही बुद्धिमान हुन्छ भनेर मानिने अवस्था थियो। यही विधि प्रयोग गरेर पिट्रुस काम्परले श्वेतहरुको ८० डिग्री, अफ्रिकनहरुको ७० डिग्री, उरांगओटाङ्गको ५८ डिग्रीको उचाईको नाक हुने भएको हुँदा सबै भन्दा उच्च नश्ल ककेसियन हो भनेर प्रमाणित गरे।

प्राकृतिक रुपमै ककेसियनहरु धेरै दिमाग हुने भएको र रेड इन्डियन तथा अफ्रिकनहरु कमजोर दिमागी क्षमताको हुने भएकोले दास बन्नु स्वाभाविक हो भनेर नश्लीयतालाई छद्म विज्ञान प्रयोग गरेर प्रमाणित गर्ने अवस्था थियो तत्कालिन युरोपमा। न्युजिल्याण्डका माओरी जाति, अष्ट्रेलियाका अबोरोजिन र क्यारिबियाका क्यारिब्सहरु त चित्रकार बन्न, कवि बन्न र आफै सभ्यता सिक्न नसक्ने भए हुँदा ककेसियनले यिनीहरुलाई सभ्यता सिकाउनुपर्ने दावी गरिन्थ्यो। 

श्वेत बाहेक समृद्ध सभ्यता अरुको हुनै सक्दैन भनेर विश्वास गर्ने विलियम जोन्स लगायतका खोजकर्ता तथा पादरीहरु जब भारतीय उपमहाद्वीपमा आएर खोज गरे उनीहरुको बुझाईको प्रतिकुल यस क्षेत्रको धरातलीय यर्थाथ थियो।

भारतीय उपमहाद्वीपमा संस्कृत भाषाको अध्ययन गर्दा संस्कृत भाषा ग्रीक र ल्याटिन भाषासँग समानता रहेको देखियो। आमालाई संस्कृतमा मातर, ल्याटिनमा माटेर हुँदै अंग्रेजीमा मदर हुन पुगेको देखियो। त्यस्तै चतुर, क्वार्टुस हुँदै अंग्रेजीमा क्वार्टर। मिथ्या (संस्कृत), मिथोस (ग्रीक), मिथ (अंग्रेजी)। संस्कृत भाषामा लेखिएको वैदिक ग्रन्थहरु देखेर रन्थनिय। ग्रीक र ल्याटिन भाषा भन्दा समृद्ध र व्याकरणिय दृष्टिकोण एकदम वैज्ञानिक संस्कृत भाषा फेला पर्नु तत्कालिन नश्लीय उच्चताबोध भएका श्वेतहरुलाई पाच्य भएन। आफ्नो नश्ल बाहेक अन्यले सभ्यताको विकास गर्ने सक्दैनन् भन्ने मानसिकता भएकाहरुले भारतीय उपमहाद्वीपका रैथानेहरुले यत्रो सभ्यताको विकास गरे होला भनेर मान्ने कुरै भएन। त्यसपछि सन् १७८६ मा विलियम जोन्सले संस्कृत, ग्रीक र ल्याटिन भाषा एउटै मूल भाषाबाट विकास भएको हुनुपर्ने प्रस्ताव अघि सारे।  प्रोटो-इण्डो- युरोपियन भाषाको रुपमा उक्त भाषाको कल्पना गरियो। स्मरण रहोस् प्रोटो-इण्डो- युरोपियन नामको कुनै भाषा छैन। यो त नेपाली, हिन्दी, मैथिली, संस्कृत हुँदै, ग्रीक, ल्याटिन, फ्रेन्च, अंग्रेजी, स्पेनिश भाषाको बीच समानता देखेर यी सबै भाषाको मूल एउटै होला र त्यो भाषा यस्तो होला भनेर निर्माण गरिएको भाषा हो। काल्पनिक प्रोटो-इण्डो-युरोपियन भाषा पनि कुनै एक निश्चित ठाउँमा बोलिन्थ्यो होला भनेर अर्को अनुमान गरियो।    

हाल युरोपेली र एसियाका देशहरुमा बोलिने ४४५ वटा भाषाको मूलको रुपमा कल्पना गरिएको प्रोटो इण्डो युरोपियन भाषाको उत्पति थलो कहाँ त ? आफ्नो नश्लीय अहम, युरोपेलीहरुको विश्वभरी दबदबा रहेको त्यो बेलामा भारतीय उपमहाद्वीपमा उक्त भाषाको विकास भएर युरोपमा पुगेको भनेर मान्ने अवस्थै थिएन। त्यसपछि अघि सारियो ‘आर्य आक्रमण सिद्धान्त’ अर्थात दक्षिण पश्चिम रसियाको ककेसियाका आर्य नश्ल/जातिका मानिसहरु उक्त प्रोटो - इण्डो- युरोपियन भाषा बोल्थे। तिनै आर्यहरु हाल पाकिस्तान र इन्डियाको सिमानामा रहेको हरप्पा र महेंजोदारोमा आक्रमण गरेर त्यहाँ रहेका ‘द्रभिड’ जातिलाई दक्षिण इण्डियातिर लखेटे। त्यसपछि त्यहाँ संस्कृत भाषा लादे। वैदिक ग्रन्थको रचना गरे। घुमन्ते / फिरन्ते ‘आर्य’ जातिका मानिसहरु ककेसियाबाट पुस्तौंसम्म यात्रा गरेर महेंजोदारो र हरप्पामा आईपुगे। संस्कृत भाषाको विकास गरे। वैदिक ग्रन्थको रचना गरे। पुरै सभ्यता बनाएर बसेका हरप्पा र महेंजोदारोका अनगिन्ति मानिसहरु  भने दक्षिण इन्डियातिर लखेटिए।

सहजबुद्धि लगाएरै बुझ्दा पनि यो अपत्यारिलो कुरा हो। तर इसाई मिसिनारीको जोडबल र वामपन्थीको बोलाबाला बढी भएको कारण इन्डियामा यो सिद्धान्त नराम्रोसंग गिजोलिएर उत्तर इन्डियामा दलित विरुद्ध ब्राम्हण क्षेत्री र दक्षिण इन्डियामा नाक चुच्चा गहुँ गोरा विरुद्ध नाक थेप्चा काला मानिसहरु बीच विभाजनको गहिरो रेखा कोरिएको छ। त्यसको हावा नेपालमा चल्ने नै भयो।       

'आर्य आक्रमण सिद्धान्त' घृणा र द्वन्द्व मच्चाउने बिउ थियो। संस्कृत भाषा र यो भाषामा लेखिएको वैदिक ग्रन्थले इसाई पादरीहरुको धरातल भत्काउने पक्का थियो। त्यसकारण वैदिक ग्रन्थ र संस्कृत भाषाको इतिहासमाथि प्रहार गरेर यहि क्षेत्रमै ‘विदेशीले आक्रमण गरेर लादेको’ बनाएपछि अर्को पक्षलाई यस विरुद्ध उचालेर नष्ट र आफ्नो वर्चश्व कायम राख्ने तिनीहरुको एजेण्डा थियो।

तर हरप्पा र महेंजोदारोको पुरातात्विक स्थलहरुको उत्खननबाट प्राप्त प्रमाणले ‘आर्य आक्रमण सिद्धान्त’  गलत सावित गरेपछि रक्षात्मक अवस्थामा पुगेपछि यो सिद्धान्तधारीहरु 'आर्य आक्रमण' होइन 'आर्य आप्रवासन' भन्न थाले। तर आनुवांशिक संरचनाको अध्ययन (जेनेटिक्स)को अध्ययनले आर्य आप्रवासनलाई समेत गलत प्रमाणित गरेपछि अहिले आर्य पर्यटन भनिन थालेको छ।

तर नेपालमा विदेशी एजेण्डाधारीहरुको निम्ति यो राम्रै खुराक बनेको छ।  सम्हालिनसक्नु संख्यामा रहेका आईएनजीओ, विदेशीबाट फोटोकपी बोकेर आएका राजनीतिक दल र समाचार नै नपढी कमेन्ट गर्ने  फुर्सदिलाहरु मिलेर यो ‘आर्य आक्रमण सिद्धान्त’ लाई……  

(बाँकी अर्को लेखमा)

प्रकाशित मिति: : 2020-05-11 22:00:00

प्रतिकृया दिनुहोस्