विकासमा लकडाउन प्रभावः सडक निर्माणमा मजदुर र निर्माण सामग्री अभाव (भिडियो)

पुतलीसडक र गौशाला-चाबहित सडकमा काम चल्दै

  •  कोरोना भाइरस नियन्त्रणका लागि गरिएको ‘लकडाउन’ अवधिमा पनि विभिन्न स्थानमा सडक निर्माण कार्य रोकिएका छैनन्।

  •  तर ‘लकडाउन’ बढ्दै जाँदा अहिले निर्माण सामग्री र मजदुरहरूको समस्या बढ्दै जाँदा कामको गति घटेको छ।

  •  सडक विभागको वार्षिक लक्ष्यअनुसार चालू आर्थिक वर्षभित्र देशभरी १२ सय किलोमिटर सडक निर्माण गर्ने योजना थियो।

  •  अहिलेसम्म झण्डै ४ सय किलोमिटर मात्रै सम्पन्न भएको विभागले जनाएको छ।

  • योसँगै ३ सय पुल निर्माण गरिसक्ने लक्ष्य रहेकोमा डेढ सय वटा पुल निर्माण कार्य सकिएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको ‘लकडाउन’ अवधिमा पनि विभिन्न स्थानमा भइरहेको सडक निर्माण कार्य रोकिएका छैनन्।

चालु आर्थिक वर्षमा निर्माण गर्नुपर्ने सडक निर्माण कार्य लकडाउन’ मा नरोकिएको सडक विभागले जनाएको छ। तर ‘लकडाउन’ बढ्दै जाँदा अहिले निर्माण सामग्री र मजदुरको समस्या बढ्दै गएपछि कामको गति घटेको छ।

सडक विभागका प्रवक्ता शिवहरी सापकोटाका अनुसार ‘लकडाउनको शुरूवातमा धमाधम काम भए पनि अहिले मजदुर र निर्माण सामग्रीको अभावले काम प्रभावित भएको छ।

‘अली अगाडि त जोसिएर काम गरिरहेका थियौं। अहिले अलिकति स्लो डाउन भएका छौं। किनभने मान्छेदेखि सामग्रीहरू, मेसिन उपकरणहरुको अभाव देखिएको छ,’ बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने।

सडक विभागको वार्षिक लक्ष्यअनुसार चालू आर्थिक वर्षभित्र देशभरी १२ सय किलोमिटर सडक निर्माण गर्ने योजना थियो। अहिलेसम्म झण्डै ४ सय किलोमिटर मात्रै सम्पन्न भएको विभागले जनाएको छ।  योसँगै ३ सय पुल निर्माण गरिसक्ने लक्ष्य रहेकोमा डेढ सय वटा पुल निर्माण कार्य सकिएको छ।

काठमाडौंका अत्यावश्यक ठाउँ र नियमित सडक मर्मतसम्भार गर्ने कार्य जारी रहेको विभागका प्रवक्ता सापकोटाले बताए। उनले भने, ‘काठमाडौंको हकमा क्रोनिक ठाउँ भनेको पुतलिसडक, गौशाला-चाबहिल हो। यहाँको काम भइरहेको छ। यो काम त गर्नैपर्छ। तर, लक्ष्यअनुसार देशभरीको काम भने सम्पन्न गर्न गाह्रो छ।’

सापकोटाका अनुसार चालू आर्थिक वर्षको लक्ष्यअनुसारको सडक निर्माण भने टरेको छ। ‘यी सडकको काम यही आर्थिक वर्षभित्र सक्ने हाम्रो लक्ष्य थियो,’, उनले भने, ‘तर कोरोना पेन्डामिक पनि बढेको र बजारमा सामाग्री अभाव भएपछि काम गर्न अली असहज भएको छ।’ 

नेपालको सन्दर्भमा आर्थिक वर्षको अन्तिम तीन महिना वैशाख, जेठ, असार भनेको ‘पिक सिजन’ मानिन्छ।  चालु आर्थिक वर्षको ‘पिक सिजन’ शुरु नहुँदै कोरोना महामारीको त्रास बढेपछि चालु आर्थिक वर्षमा विकास निर्माण कार्य ठप्प प्रायः बनेको छ।

चालू आर्थिक वर्षको दोस्रो अन्तिममा महिना चलिरहँदा कूल विकास खर्चको २८ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: : 2020-05-24 15:40:00

प्रतिकृया दिनुहोस्