देश विकासमा कोरोना भाइरस बाधक बन्याे: प्रधानमन्त्री ओली (भिडियो)

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा कोरोना भाइरस (काेभिड–१९) बाधक बनेको बताएका छन्।

गणतन्त्र दिवस–२०७७ का अवसरमा आज बिहीबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। ‘‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ देश समुन्नती र समृद्धिको मार्गमा द्रुत्तर गतिमा अगाडि बढिरहँदा कोरोना भाइरस (कोभिड–१९)ले अवश्य अप्ठ्यारो पारेको छ’,उनले भनेका छन्,‘यतिबेला भौतिक पूर्वाधारलगायत विकासका कार्यभन्दा महामारीबाट जनतालाई जोगाउनु राज्यको प्रमुख दायित्व बनेको छ।’ 

उनले नेपालमा कोरोना भाइरसबाट चारजनासहित विश्वका विभिन्न देशमा धेरैजना नेपालीहरुले जीवन गुमाउको भन्दै सबैमा भावपूर्ण श्रद्धाञ्जी अर्पण गरेका छन्। साथै नेपाललगायत विभिन्न देशमा कोरोनाबाट संक्रमित भइ उपचारमा रहेकाहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले काम गर्दै आएकोले थप  गौरव गर्ने वातावरण बनेको उनले बताएका छन्। ‘तीनै तहका सरकारले महामारी नियन्त्रणका लागि गरिरहेका कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको छ,’उनले भनेका छन्,‘म कोरोना रोकथामका लागि गरिरहेका कार्यका लागि धन्यवादसहित आफ्ना कदमलाई अझै प्रभावकारी बनाउँदै लैजान सबै तहका सरकारलाई आग्रह गर्दछु।’

उनले गणतन्त्रलाई अझै समृद्ध बनाउनुका साथसाथै  भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्दै लैजानुपर्नेमा जोड् दिए।

उनले भनेका छन्,‘गणतन्त्र प्राप्तीका लागि हामीले जसरी एकताबद्ध भएर संघर्ष गर्‍यौं, हाम्रो भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रियताको रक्षा र सुदृढीका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्नेछ।’

प्रकाशित मिति: : 2020-05-28 08:36:30

प्रतिकृया दिनुहोस्