जाँचकै क्रममा पनि सर्न सक्छ कोरोनाः डा. मरासिनी (अडियो कुराकानी)

बिरामी जाँच्दा छुट्टाछुट्टै सामग्री प्रयोग नभए खतरा

नेपालमा पनि पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ। संक्रमण बढिरहँदा अत्यावश्यक कामका लागि बाहिर निस्करहेकाहरू पनि उच्च जोखिममा परेका छन्। त्यस्ता मानिसहरूमा मानसिक त्रास पनि बढेको मनोविद्हरू बताउँछन् । 

मानिसहरुमा त्रास बढ्दा भाइरस संक्रमणको लक्षण नदेखिदै पनि जाँच गराउनेहरूको संख्या बढिरहेको छ। स्वास्थ्य मन्त्रालयको शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार झण्डै १ लाख ६२ हजार ९ सय ५० मानिसको शरीरमा भाइरस जाँच गरिएको छ।

यसमध्ये ६० हजार मानिसमा गरिएको पिसीआर परीक्षणमा करिब ११ सय मानिसमा संक्रमण पुष्टि भएको छ।

अधिकांशको जाँच ‘कन्ट्याक ट्रेसिङ’ र लक्षणका आधारमा गरिए पनि केही ‘फ्रन्टलाइनर’ हरूले भने बिना लक्षण पनि जाँच गराएका छन्।

यसरी बिना लक्षण जाँच गराउनुपर्ने अवस्थामा असावधानीका कारण अझै जोखिम बढ्नेतर्फ सचेत रहन विज्ञहरुले सचेत गराएका छन्। सरूवा रोग विशेषज्ञ डा.बाबुराम मरासिनीले जाँचका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्रीको सही व्यवस्थापन हुन नसक्दा धेरै मानिसमा सर्न सक्ने बताए ।

उनले भने, ‘स्वास्थ्यकर्मी त यसै जोखिममा छन् । तर जाँच गर्दा सावधानी अपनाइएन भने संक्रमित भएको बिरामीको स्वाब लिने स्वास्थ्यकर्मीबाट भाइरस नभएको व्यक्तिमा पनि सर्न सक्ने खतरा छ।’

उनका अनुसार हरेक व्यक्तिको जाँका लागि नयाँ पञ्जा लगाउनुपर्ने र साबुन पानीले अनिवार्य हात धुनुपर्ने बताए ।

उनले भने, सुरक्षा सामाग्रीबाटै सर्न सक्छ । हरेकलाई नयाँ पञ्जा लगाउनुपर्ने हो । साबुनपानीले अनिवार्य हात धोएर मात्रै अर्कोको टेष्ट गर्ने हो । सेनिटाइजर मात्रै सुरक्षित नहुन सक्छ । तर नेपालको त्यस्तो गरेको छैन जस्तो लाग्छ । यस्तो विषयमा विशेष ख्याल गर्नुहोला ।’

स्वास्थ्यकर्मी आफैं पनि आफूले प्रयोग गर्ने सुरक्षा सामग्री लगाउदा र फुकाल्दा पनि विशेष ख्याल गर्नुपर्ने बताए। उनले अमेरिकन एक नर्सलाई असावधानीको कराण इबोला संक्रमणको उदाहरण दिँदै भने, ‘लगाइराखेको कपडा फुकाल्ने पनि कला चाहिन्छ । अमेरिकामा केही समयअघि एक नर्सलाई इबोला भयो । त्यतिबेला उनले मास्क निकाल्दा कानको छेउमा आफ्नो हातले छोइएर भाइरस सरेको रहेछ । त्यसैबाट उनमा संक्रमण भएको थियो। त्यसैले यस्तो खालको तालिम पनि दिन जरुरी छ ।’

अहिले संक्रमणको समयमा भाइरस जाँचका क्रममा अपनाउनुपर्ने सावधानीबारे सुरक्षाकर्मी, ल्याबका कर्मचारीलाई तालिम आवश्यक रहेको उनको भनाई छ।

सुन्नुहोस् अडियो कुराकानी

प्रकाशित मिति: : 2020-05-29 12:16:00

प्रतिकृया दिनुहोस्