उनका हात समाई हिँड्ने बेलामा

प्रितम पाण्डे

(म्यान्मार)

ए छोरा छोरी हो

एकपटक फर्केर हेर त

आमाको ती हातलाई

आमाको ती पाउलाई

आमाको त्यो जिउलाई

कति चलाइन् होला

कति जलाइन् होला

कति गलाइन् होला

तिमीलाई तिमी बनाउन

आफ्नो पेट काटेर

आफ्नो शरीर झाँटेर

प्राणसँग स्वयंलाई साटेर

तिमीलाई तिमी बनाइन्

कठै बिचरी आमा ।

 

ए छोरा छोरी हो!

एकपटक फर्केर हेर त

बाउका ती हातलाई

बाउका ती पाउलाई

बाउको त्यो जिउलाई

हातको फोकाहरू हेर

पाउका चोटहरू हेर

काँधका छालाहरू हेर

कति घिस्रिए होला

कति पिसिए होला

कति चिसिए होला

तिमीलाई तिमी बनाउन

पसिनामा  शरीर भिजाएर

असिनामा शरीर पिटाएर

कर्तव्यले शरीर थिचाएर

तिमीलाई तिमी बनाए

कठै बिचरा बाउ ।

 

ए छोरा छोरी हो!

के गर्‍यौ आज?

ती आमाबाउका लागि

घरमा मैतालू ल्यायौं

उनको कुरामात्र सुन्यौ

वृद्ध आमाबाउ घरबाट धपायौं

उनका हात समाई हिँड्ने बेलामा

मैतालूको हात समाइ डोहोर्‍यायौं

पहिला खुवाउनुपर्ने उनलाई

निर्लज्ज भई आफैंले सप्कायौ

तिमीहरूसँग बोल्न पनि

डर मान्नुपर्ने बनायौ

हो आज-

कौवाले मोती खान थालेछ

मयुरले दाना टिप्न थालेछ

कृष्णले भने झैं

साँच्चै कलियुग आएछ ।

प्रकाशित मिति: : 2020-05-30 17:25:00

प्रतिकृया दिनुहोस्