'नेहरुले चिठी लेखेर अनुरोध गरेपछि कालापानीमा भारतीय सेना बस्न दिइएको हो'

काठमाडौं- भारतले एकतर्फी रुपमा राजनीतिक नक्सा जारी गरेपछि नेपाल-भारतबीच पछिल्लो असझदारी सुरु भएको छ। गत वैशाख २६ गते उसले नेपाली भूमि हुँदै निर्माण गरेको सडक उद्घाटन गरेपछि त त्यो असमझदारी झनै उत्कर्षमा पुगेको छ। भारतीय गतिविधिको प्रतिक्रिया स्वरुप नेपालले पनि आफ्नो अद्यावधिक नक्सा सार्वजनिक गरेको छ। र, संविधान संशोधनको प्रक्रिया अघि बढाएको छ।

भारतसँगका सम्बन्ध र नेपाली भूमिका उसको सैनिकको उपस्थितिका सम्बन्धमा नेपाल लाइभका लागि डिबी खड्काले तत्कालीन राजा महेन्द्रका सहयोगी विश्वबन्धु थापासँग कुराकानी गरेका छन्। महेन्द्र, जसको बलियो प्रभाव रहेको बेलामा भारतीय सैनिक नेपाली भूमिका बस्न सुरु गर्‍यो। त्यसको कारण के हुनसक्थ्यो? वा, रणनीति के हुनसक्थ्यो? नेपाल-भारतका बाध्यता वा समझदारी कस्ता थिए? भन्ने जस्ता कोणबाट थापासँग कुराकानी गरिएको छ।

भिडिओमा विस्तृत कुराकानी हेर्न र सुन्न सकिन्छ। प्रस्तुत छ, थापाका धारणाहरुको सम्पादित अंशः

नेपाल भारतको सिमानामा समस्या छैन। अहिले धेरै चर्चा भएर आएको हो। नेपाल र भारतबीचको सम्बन्ध अर्कै तहको हो। जंगे पिल्लर राख्दैमा हाम्रो सम्बन्ध छेकिँदैन। नेपाल र भारत त विश्वासको पिलरले छुट्टिएका हुन्।
  
मैले झापामा हेर्दा पहिले जंगे पिल्लर देखिँदैन थियो। अहिले सरेर सहर नजिकै आइसकेको छ। अब यी सबै कुरा हेर्न सुगौली सन्धिमा जानुपर्छ। यो हामीले हारेको वा जितेको जे भए पनि त्यो एकप्रकाकारको सन्धि थियो। तराई ब्रिटिशले राख्यो र पहाड हामीलाई दियो। तर, तराईका केही भाग पछि हामीलाई फेरि आयो।

जंगबहादुर राणाले ब्रिटिशलाई खुसी पारेका थिए। नयाँ मुलुक उनले माग गरेका कारण पाएको हो। पहिला नेपाल भनेको काठमाडौं नै हो । हामी यहाँ आउँदा पनि काठमाडौं नै थियो। यहाँ राणाले हामीलाई मान्छे होइन, जन्तु भन्थे। मुखिया  र जिम्मावालले चलाएको देश थियो। यहाँ सरकार नै थिएन।

२००७ सालको क्रान्तिपछि मात्र नेपालमा आधुनिकीकरणको इतिहास सुरु भयो। त्यसपछि मात्र प्रहरी र सेनाको स्थापना भएको हो।

अहिलेको विवाद मानसरोवर जाने उद्देश्यबाट सुरु भएको देखिन्छ। प्रधानमन्त्री नरेन्द्र  मोदीले चीनसँग मानसरोवर बाटो बनाउने भनेर सहमति गरेको देखिन्छ। चीनले पनि लिपुलेकबाट व्यापार गर्ने सोचेको हुनसक्छ। यी नाका खुल्दा भारत र चीन दुवैलाई फाइदा हुने भएपछि यो सहमति उनीहरुका बीचमा भएको हुनसक्ने देखिन्छ।

यो सहमतिका विषयमा नेपाललाई जानकारी नभएको होइन। सरकार झुक्किने कुरा हुँदैन। अहिले कम्युनिस्ट सरकार छ, यसलाई हल्लाखल्ला गर्न पाए आफ्नो छवि उज्यालिन्थ्यो भनेर गरेको पनि हुन सक्छ। तर, जे भए पनि यो राम्रै भएको छ। यो भूमि नेपालकै हो नेपालले आफ्नो दाबी गर्नुपर्छ।

प्रकाशित मिति: : 2020-06-01 08:01:32

प्रतिकृया दिनुहोस्