पाल्पा बस दुर्घटना

एकै गाउँका ६ महिलाको मृत्युले खुर्सानेटोल शोकमा

पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ खुर्सानेमा भएको बस दुर्घटनामा एउटै टोलका ६ जनाको मृत्युको खबरले सिंगो खुर्साने गाउँ यतिवेला शोकमा डुबेको छ। 

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको यात्रुबहाक बस खुर्साने पुग्नै लाग्दा हिजो राति साढे ९ बजे मधुवन नजिकै दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर सोही ठाउँकी ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीय खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डेले ज्यान गुमाएका छन्। एउटै गाउँका ६ जाना महिला दिदीबहिनीको ज्यान गएपछि गाउँमा रुवाबासी नै चलेको रैनादेवी छहरा गाउँपालिका–८ का वडाध्यक्ष रेम रानाले बताए। दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्।

घाइते मध्ये खुर्शानेकी ६० वर्षीय यमकली रास्कोटी र ३९ वर्षीया यमकला पाण्डेका टाउकोमा चोट लागेकाले दुवैजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी विरेन्द्र थापाले बताए। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। अन्य १६ जना घाईतेको लुम्बिनी प्रादेशिक अस्पताल र एडमन सिटि हस्पिटल बुटवलमा उपचार भइरहेको छ।

उनीहरुको अवस्था सामान्य रहेको डिएसपी थापाले बताए। मृतकको पोष्ट मार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको डिएसपी थापाले जानकारी दिए। रुपन्देहीको बुटवल पायक पर्ने सो गाउँका २४ जना हिजो बुटवल स्थित गोलपार्कमा रहेको सच्चाई केन्द्र नेपालमा ईश्वरीय महिमा सत्य प्रवचन कार्यक्रममा सहभागि भएर गाउँफर्कदै गर्दा दुर्घटनामा परेको दुर्घटनाकी घाइते २८ वर्षी लिमकली पाण्डेले बताए। 

रातको समय र जिर्ण सडक भएकाले बसको स्टेरीङ्ग फेल भएर बस दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ। बस सडकबाट करिब ६० मिटर तल खोचमा खसेको छ।

 

प्रकाशित मिति: : 2023-01-06 17:13:00

प्रतिकृया दिनुहोस्