‘विनियोजन विधेयक २०७७’ स्वीकृत : कोरोना नियन्त्रणमा रकम अभाव नहुने

रासस

काठमाडौँ 

प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ स्वीकृत भएको छ।

 अर्थमन्त्री डा युवराज खतिवडाले संसद्मा प्रस्तुत गरेको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो। विधेयक स्वीकृत हुनुपूर्व विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले कोरोना नियन्त्रण र त्यसबाट प्रभावित भएका नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताएका थिए। 

सांसदको  जिज्ञासामा अर्थमन्त्री डा  खतिवडाले स्वास्थ्य क्षेत्रमा यसपालिको बजेट केन्द्रित भएको स्पष्ट पारे। उनले स्वास्थ्य सामग्री खरीदका लागि रु पाँच अर्ब थप निकासा गरिसकिएको र कोभिड–१९ सङ्क्रमण रोक्न राहत कोषमा रु दुई अर्ब ३१ करोड जम्मा भइसकेको जानकारी दिए।

मन्त्री खतिवडाले भने, 'उक्त कोष र विपद् व्यवस्थापन कोषबाट पनि केही रकम परिचालन गर्न सकिने अवस्था छ, सबै  स्वास्थ्यका सामान खरीद र ल्याब टेष्टको सामग्र्रीमा खर्च गर्ने हो, सरकारको प्राथमिकतामा रोग नियन्त्रणमा नै छ, रकम अभाव हुन दिइने छैन।'

उनले सांसदलाई तथ्यमा रहेर आलोचना गर्नसमेत आग्रह गरे। तथ्यमा आधारित भएर आलोचना भयो भने प्रोत्साहित हुने मन्त्री डा खतिवडाको भनाइ थियो।   

दुई विधेयक प्रस्तुत

आजको बैठकमा मन्त्री डा खतिवडाले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७७’, र ‘ऋण तथा जमानत ९चौबीसौँ संशोधन० विधेयक २०७७’ समेत सदनमा प्रस्तुत गरेका छन्।

आव २०७७/७८ मा नेपाल सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न राष्ट्र ऋण उठाउन वाञ्छनीय भएकाले विधेयक ल्याइएको मन्त्री डा खतिवडाले बताए।
 
उनले संसद्मा आजै ‘ऋण तथा जमानत ९चौबीसौँ संशोधन० विधेयक २०७७’  समेत प्रस्तुत गरे। बजेट कार्यान्वयनका लागि खर्च बेहोरिने विभिन्न स्रोतमध्ये विदेशी सरकार वा दातृ निकायबाट लिइने रकमको सीमा रु १२ खर्बबाट बढाएर  १४ खर्ब कायम राखिने विधेयकमा उल्लेख छ।

 सरकारले लिएको ऋणबाट कार्यान्वयनमा रहेको योजना र असार मसान्तसम्म हुन सक्ने भुक्तानी तथा नेपाल सरकारले जमानत दिएको रकमलाई समेत ध्यानमा राखी गरी आगामी वर्ष रु दुई खर्ब ९९ अर्ब ५० करोड बाह्य ऋण परिचालन गर्ने लक्ष्य विधेयकमा छ। विसं  २०७६ फागुन मसान्तसम्म भुक्तानी गर्न नेपाल सरकारको बाह्य ऋण रु छ खर्ब ९९ अर्ब हुने छ। 

प्रकाशित मिति: : 2020-06-01 17:18:18

प्रतिकृया दिनुहोस्