चौतर्फी विरोधपछि सरकारले असार ७ सम्म बढायो कर तिर्ने अवधि


सरकारले लकडाउनबीच व्यवसायी र सर्वसाधारणलाई जेठ २५ गतेसम्म बाँकी रहेको कर तिरिसक्न तोकेको समयसीमा एक दिन पनि धान्न सकेन । बुधबार दिनभरिको चौतर्फी  तीव्र आलोचनापछि अब कर तिर्ने म्याद असार ७ गतेसम्म थप्न बाध्य भएकाे छ। 

अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजश्व विभागका अनुसार, नयाँ सूचनाअनुसार मूल्य अभिवृद्धि करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्वैमासिक र दोस्रो चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ ।

अन्तःशुल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशुल्क दाखिलाको म्याद पनि असार ७ नै बनाइएको छ । 

आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि असार ७ नै हुने गरी बढाएको छ । 
आयकर ऐन बमोजिम चैतमा बुझाउनुपर्ने चालू आर्थिक वर्षको संशोधित कर अनुमान र दोस्रो किस्ता बुझाउनुपर्ने म्याद असार १५ सम्म दाखिला गर्न भनिएको छ ।

यसबाहेक फागुन र चैतको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसञ्चार सेवा दस्तुर असार ७ सम्मै बुझाउनुपर्ने छ । 

विभागले दुई दिनअघि सोमबार मात्र सूचना जारी गर्दै जेठ २५ भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको थियो । बुधबार दिनभरिको चौतर्फी विरोधपछि सरकारले निर्णय सच्याएको हो । 
 

प्रकाशित मिति: : 2020-06-03 20:28:15

प्रतिकृया दिनुहोस्