बारामा आलोपालो समय तालिका मिलाएर पसल खोलियो

बारामा बुधबारदेखि आलोपालो समय तालिका  मिलाएर विभिन्न पसल व्यवसाय सञ्चालनमा आएका छन्।

जिल्ला सुरक्षा समितिको बैठक र उद्योग वाणिज्य संघ बारा तथा किराना व्यापार संघले तोकेको समय तालिका अनुसार व्यवसायको प्रकृति अनुसार आलो पालोको समय तालिका मिलाई व्यवसाय सञ्चालन गर्न निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पण्डितले जानकारी दिए।

सुरक्षा समितिको सम्पन्न बैठकले जेठ २१ गते बिहान १ बजेदेखि जेठ ३२ गते राति १२ बजेसम्मका लागि लागू हुनेगरी व्यवसाय सञ्चालन गर्न आलोपालो समय तालिका तोकेको छ। लकडाउनमा व्यापार व्यवसाय बन्द हुँदा व्यापारीले नोक्सानी व्यहोर्नुका साथै उपभोक्तालाई पनि कठिनाइ भएकोले आलोपालो गरेर व्यवसाय गर्न दिएको प्रमुख जिल्ला अधिकारी पण्डितले भने।

लकडाउनलाई खुकुलो पार्दै बाराको कलैयामा बुधबारदेखि आलोपालो समय तालिका मिलाएर व्यापार व्यवसाय सञ्चालनमा आएपछि उद्योग तथा व्यवसायीलाई अहिले राहत भएको छ। लकडाउनका कारण व्यापार व्यवसाय चौपट बनेको भन्दै विरोध हुन थालेपछि त्यसलाई व्यवस्थित पार्न आलोपालो प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएको हो ।

प्रशासनले आइतबार र मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कपडा, साइकल, मोटरसाइकल, मोटर तथा मोटर पार्टस्, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, रेडिमेड, कस्मेटिक, जुत्ता, चप्पल, सैलुन खोल्ने, सोमबार, बुधबार, शुक्रबार र शनिबार किराना, खाद्यान्न, आलु, प्याज, किटनासक, बिउ बिजन, मलखादलगायतका व्यवसायहरू र बिहीबार हार्डवेयर पसल, सुनचाँदी पसल, भाँडा बर्तन, टेलरिङ, फ्लोरिङ र फनिर्सिङ, फर्निचर र अन्य पसल बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म स्वास्थ्य सावधानी अपनाएर खोल्न विज्ञप्ति मार्फत जनाएको छ।

हरियो तरकारी तथा फलफूल, मुख्य बजारमा नलिएर घुम्ती पसलमार्फत बिहान १० बजेसम्म र बेलुका ५ बजेपछि मात्रै बिक्री वितरण गर्न भनिएको छ। व्यवसाय सञ्चालन गर्दा व्यक्ति व्यक्तिबीच एक मिटरको दूरी भने अनिवार्य कायम गर्नुपर्नेछ।

प्रमुख जिल्ला अधिकारी पण्डितले जारी गरेका सूचनामा स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, दुध, बैंक, फोहोरमैला व्यवस्थापन, इन्धन लगायत अत्यावश्यक सेवाहरू दैनिक सञ्चालन हुने, उद्योग व्यवसाय सञ्चालन गर्दा मापदण्ड अनुसार सञ्चालन गर्न, सिमेन्ट, जस्ता पाता, कोइला, बिटुमिन तेल, क्लिंकर, निर्माण सामाग्री ढुवानी गर्दा बजार क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजे बाहेकको समयमा ढुवानी गर्ने, माछा, कुखुरा, कुखुराको दाना, पशु आहारको ढुवानी बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गर्नुपर्ने त्यसो नगरेको पाइएमा संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख गरिएको छ।

उद्योग वाणिज्य संघ बारा र किराना पसल संघलाई समय तालिका पालनामा सघाउन प्रशासनले आग्रह गरेको छ।

बारामा आलोपालो समय तालिका मिलाएर पसल खोलियो

प्रकाशित मिति: : 2020-06-04 08:56:19

प्रतिकृया दिनुहोस्