पर्सामा शुक्रबारदेखि समय तालीका अनुसार व्यापार व्यवसाय खुल्ने

पर्सामा शुक्रबारदेखि समय तालिका मिलाएर व्यापार व्यवसाय सञ्चालनमा आउने भएका छन्। जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बुधबार साँझ सम्पन्न बैठकले सामाजिक दूरी कायम गरी जेठ २३ गतेबाट वीरगन्ज बजार खोल्ने निर्णय गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले औषधि पसल चौबिसै घण्टा खुला रहने, बैंक तथा बित्तिय संस्थाहरू नियमित सन्चालन गर्ने निर्णय गरेको छ। खाद्यान्न, किराना, तरकारी, दुध पसलहरू बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्ने र तरकारी पसल खुल्ला रूपमा बजार लगाउन नपाईने निर्णय गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले रेडिमेड कपडा, कस्मेटिक, ईलेक्ट्रिकल इलेक्ट्रिोनिक्स पसलहरू जोर गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म, हार्डवेयर, साईकल,मोटर तथा मोटर पार्टस,अटोवक्र्स, भाडाबर्तन, सुनचाँदी फर्निचर तथा अन्य पसल बिजोर गते बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ।

माछा, कुखुरा तथा सोको दाना, पशु आहार, खाद्य किराना, कृषि उत्पादन, मलबिउ, सिमेन्ट डण्डी, औधोगीक कच्चा पदार्थलगायतका बस्तुको ढुवानी हरेक दिन साँझ ७ बजेपछि गर्ने निर्णय गरेको छ।

यस्तै सिनेमा हल, जिमखाना, रेष्टुरेन्ट, चिया पसल, मदिराजन्य पसल, सैलुन, मठमन्दिर मस्जिद, गुम्बा पूर्ण रूपमा बन्द गर्ने बैठकले निर्णय गरेको छ।

यस्तै सार्वजनिक बस, रिक्सा, टाँगा, मोटर साईकल, टेम्पुलगायतका पास नभएका सम्पूर्ण सवारी साधन बन्द गर्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बिएल नेपाली सेवालाई जानकारी दिए।

बैठकले व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम गरी लाईन व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित व्यबसायीको हुनुपर्ने, व्यवसायी तथा ग्राहकले अनिवार्य मास्क लगाएको हुनुपर्ने, बैंक वित्तिय संस्था तथा पसलमा सेनेटाईजरको व्यवस्था हुनुपर्ने, माल सामान खरिद गर्न जाँदा सवारी साधनको प्रयोग गर्न नपाईने निर्णय गरेको छ।

उल्लेखित नियमहरुको उलंघन गरिएको पाईएमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन अनुसार कारबाही गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। 

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लागू गरिए पनि अहिलेसम्म लकडाउनलाई प्रभावकारी बनाएको उल्लेख गरेको छ।

लामो समयदेखि व्यापार व्यवसाय बन्द रहेकाले अर्थतन्त्रमा परेको असरलाई मध्यनजर गर्दै यहाँका उद्योगी व्यवसायीको माग अनुसार कोरोना संक्रमण नफैलिने गरी व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाएको बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-04 09:15:55

प्रतिकृया दिनुहोस्