भारत अनलक–१ : संक्रमणबाट पीडित देशकाे सूचीमा चाैथाे, तर खुले सपिङ्ग मल, रेष्टुरेन्ट र धार्मिक स्थल

बिएल संवाददाता

नयाँदिल्ली

भारतमा अनलक–१ घोषणासँगै आज सोमबारदेखि सपिङ्ग मल, रेष्टुरेन्ट र धार्मिक स्थल सुचारु भएका छन्। 

पहिले कोरोना भाइरसलाई नियन्त्रणमा राख्नको लागि लकडाउन गरिएपनि संक्रमितको संख्या तिब्र गतिमा बढ्दै गयो। संक्रमितको संख्या बढ्दै जाँदा विभिन्न राज्यहरुमा लकडाउनको अवधि बढ्दै गयो। यसले देशको आर्थिक गतिविधिमा गहिरो प्रभाव पार्‍यो। 

लामो समयसम्म आर्थिक कारोवार ठप्प हुँदा आर्थिक व्यवस्था गोलमाल भयो। यसकै कारण देखाउँदै अनलक घोषणा गरिएको हो। 

यता प्रधानमन्त्री नरेन्द्र मोदीले  महामारीका कारण संकटमा परेको अर्थव्यवस्थालाई फेरि चलायमान बनाउन उत्सुक देखिए। मोदी सरकारको चाहना थियो आफ्ना लाखौँ जनता पुनः सामान्य अवस्थामा फर्किउन र दैनिक जनजीवन सुचारु गरुन्। 

उनकै चाहना स्वरुप भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार एक दिशानिर्देश जारी गर्दै बढी संक्रमित क्षेत्र बाहेक बाँकी क्षेत्रका होटेल, सपिङ्ग मल, रेष्टुरेन्ट र धार्मिक स्थलहरु आजदेखि खोल्नका लागि अनुमति दिएको हाे।

आज अनलकको पहिलो चरणको सुरुवात हो। आज धेरै राज्यहरूमा सपिङ्ग, रेष्टुरेन्ट तथा धामिर्क स्थलहरु खुला गरिएका छन्।  

कोरोना भाइरसको प्रकोपबाट बच्नको लागि धार्मिक स्थानहरूमा सुरक्षाको व्यवस्था मिलाइएको छ।  

यी ठाउँहरु खुला राख्नका लागि केही नियमको पालना अनिवार्य रुपमा गर्नुपर्ने भारत सरकारले जनाएको छ। भारतले यो निर्णय यस्तो बेला गरेको छ जब आइतबार दैनिक संक्रमणले रेकर्ड तोड्दै ९ हजार ९७१ नयाँ संक्रमित थपिएका थिए। 

भारतमा संक्रमितको संख्या इटाली, स्पेन जस्ता देशहरु भन्दा धेरै पुगेको छ र अब भारत संक्रमितका हिसाबले विश्वको चौथो नम्बरमा पुगेको छ।

भारतमा हालसम्म दुई लाख ५७ हजार भन्दा बढी पुगेको छ। त्यसमध्ये सात हजार २०७ जनाको ज्यान गएको छ।

यस्ता छन् नियम

– स्वास्थ्य मन्त्रालयका अनुसार होटेल, सपिङ्ग मल, रेष्टुरेन्ट र धार्मिक स्थलहहरु ६ फिटको दूरी कायम गर्नुपर्नेछ। मास्क, सेनिटाइजर र थर्मल स्क्रीनिंग अनिवार्य गरिएको छ।

– होटल तथा सपिङ्ग मलमा २४ देखि ३० डिग्रीसम्म एसी चलाउने अनुमति दिइएको छ र हावालाई स्वच्छ राख्न भनिएको छ।

– ती क्षेत्रहरुमा बिना लक्षणका मानिसहरुलाई मात्रै प्रवेशको अनुमति दिइनुपर्ने छ। यस्तै सार्वजनिक स्थलमा थुक्न प्रतिबन्ध लगाइएको छ।

– यता रेष्टुरेन्ट सञ्चालकले सबै ग्राहकहरुको सम्पर्क ठेगाना, मोबाइल नम्बर, विदेश यात्रा तथा रोग भए त्यसको विवरण राख्नु पर्नेछ छ।

– यस्तै धार्मिक स्थल र मलमा ६५ वर्षभन्दा माथि उमेर भएका व्यक्ति र १० वर्ष भन्दा कम उमेर भएका व्यक्ति तथा गर्भवती महिला र बिरामी व्यक्तिहरुलाई प्रवेश निषेध गरिएको छ। 

– मलमा सपिङ्ग गर्न आउने व्यक्तिहरुले आ–आफ्नो मोबाइलमा ‘आरोग्य सेतु एप’ डाउनलोड गर्नुपर्ने छ।

– धार्मिक स्थलमा आउनेहरुले आफ्नो जुत्ता चप्पल गाडीमै राख्नुपर्ने छ।  जोसँगै गाडी छैन उसले आफ्नो जुत्ता चप्पलको व्यवस्था आफै गर्नुपर्ने छ। तर मन्दिरमा दर्शन गर्न जाँदा प्रसाद भने दिइने छैन।

प्रकाशित मिति: : 2020-06-08 12:44:50

प्रतिकृया दिनुहोस्