जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट

बिएल संवाददाता

काठमाडाै‌ं

जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्याँकमा उल्लेख छ । 

गत मार्चमा पनि जर्मनीको औद्योगिक उत्पादनमा ८.९ प्रतिशतले ह्रास आएको थियो । सन् १९९१ जनवरीपछि यति ठूलो परिमाणमा औद्योगिक उत्पादनमा पहिलोपटक ह्रास आएको जर्मनीको सरकारी तथ्याँक विभाग डेस्टाटिसले जनाएको छ । 

सन् २०१९ को अप्रिलको तुलनामा भने औद्योगिक उत्पादनमा २५.३ प्रतिशतले कमी आएको छ । विश्लेषकहरुले पूर्वानुमान गरेभन्दा अप्रिल महिनामा औसतमा १६ प्रतिशतले औद्योगिक उत्पादनमा ह्रास आएको हो । 

सवारी साधनको उत्पादनमा ७४.६ प्रतिशत घटेको  भए पनि निर्माण क्षेत्रमा भने निकै सुधार भएको छ । यस क्षेत्रमा केवल ४.१ प्रतिशतले ह्रास आएको छ । 

विश्वभर कोरोनाभाइरसको महामारीका कारण ठूलो आर्थिक क्षति पुगेको छ तर जर्मनीले आफ्ना समकक्षी मुलुकको तुलनामा निकै प्रगति गरेको छ । यस वर्षको पहिला तीन महिनामा कूल आर्थिक उत्पादनमा २.२ प्रतिशतले मात्र ह्रास आएको अधिकारीहरुले बताएका छन् । 

प्रकाशित मिति: : 2020-06-08 17:10:06

प्रतिकृया दिनुहोस्