टिपरसँगै कर्णालीमा बग्यो मजदुरीको कमाइ

बिस्नप्रसाद न्याैपाने

धुमधामसँग बिहे गर्ने योजना थियो । त्यही सपना पूरा गर्न रास्कोटका मानबहादुर बम र दैलेख गैरागाउँकी राधिका शाही भागेर भारत गए । एक वर्षसम्म दुवैले उतै पसिना बगाए । बिहेका लागि खर्च जुटाएर गाउँ फर्किए । तर यो जोडीको धुमधाम बिहे गर्ने सपना कर्णालीमा बग्यो ।

लालीघाटमा बुधबार भएको टिपर दुर्घटनामा उनीहरूले मुस्किलले ज्यान त जोगाए । तर बिहेका लागि भनेर ल्याएको सबै कमाइ र सामान कर्णालीमा बगेको छ । मानबहादुरले भने, ‘बिहेका लागि भने अढाई तोला सुन, एक लाख ५० हजार नगद र सामान ल्याएका थियौं, सबै टिपरसँगै कर्णालीले बगायो ।’ घर पुगेर धुमधाम बिहे गर्ने योजना तत्कालका लागि तुहिएको उनले सुनाए । रास्कोट ३ का धनरूप कुमालको पनि सपना छुट्टै थियो । उनी यो वर्ष पत्नीसहित भारत गएका थिए । धेरै पैसा कमाएर ल्याउने आशमा गत पुसमा उनीहरू भारत गएका थिए । दुईजनाको कमाईले लुगालत्ता तथा खाद्यान्न किन्ने र छोरालाई बोर्डिङ स्कुलमा पढाउने सपना थियो यो जोडीको । खर्च कटाएर ६५ हजार बचाएका थिए । १५ हजारका लुगा किने । तर उनीहरूको सपना पनि कर्णालीमा बग्यो । ‘कपडासँगै ५० हजार उनैले राखेकी थिइन्’, धनरूपले भने, ‘दुर्घटनामा सबै कमाइ बग्यो, उनलाई पनि जोगाउन सकिनँ ।’

प्रकाशित मिति: : 2020-06-12 07:26:31

प्रतिकृया दिनुहोस्