स्वास्थ्यमा अनियमितता शृंखला : २८ करोडका सामग्री किन्न ३ दिन मात्र समय दिँदै शनिबार टेन्डर आह्वान

सरकारले झन्डै २८ करोड रुपैयाँ बराबरको मेडिकल सामग्री खरिदका लागि ३ दिनको मात्र समय दिँदै टेन्डर आह्वान गरेको छ। शनिबार तीन दिन मात्र समय दिँदै स्वास्थ्य सेवा विभागले टेन्डरका लागि सूचना प्रकाशन गरेको हो। 

विभागले कोरोना परीक्षणमा प्रयोग हुने उपकरण अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन ७ सेट र ५ लाख किट खरिदका लागि शनिबार टेन्डर गरेको छ।कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब पिसिआर परीक्षण मेसिनमा राख्नुअघि प्रशोधनका लागि अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन प्रयोग गरिन्छ। यसका प्रयोग भएसँगै संकलित नमुनाको परीक्षणको दायरा बढाउन सहज हुन्छ।

अहिले कोरोना परीक्षणका लागि संकलन भएको स्वाब प्रशोधनको काम म्यानुयल रुपमा भइरहेको छ। जसका कारण संकलन भएको नमुनाको परीक्षण गर्न लामो समय लाग्ने गरेको छ।

सातै प्रदेशमा एक-एक वटा यो उपकरण उपलब्ध गराउने भन्दै विभागले खरिद गर्न लागको हो। विभागले ५ लाख किट पनि आवश्यक पर्ने भन्दै खरिद गर्न शनिबार टेन्डर सार्वजनिक गरेको हो।

विभागले शनिबार (१३ जुन)मा सूचना प्रकाशन गर्दै मंगलबार (१६ जुन) दिउँसो १२ बजेभित्र इच्छुक फर्मले ७० लाख रुपैयाँको बैंक ग्यारेन्टीसहितको धरौटी राखी टेन्डरमा सहभागी हुनुपर्ने सर्त राखेको छ। यसका अन्य सर्त तथा विवरण विभागको वेबसाइटमा राखिने टेन्डरको सूचनामा विभागले उल्लेख गरेपनि यो समाचार तयार पार्दासम्म ती विषयमा विभागले कुनै विवरण र सर्त वेबसाइटमा राखेको छैन।

प्रकाशित मिति: : 2020-06-14 08:23:36

प्रतिकृया दिनुहोस्