सचिन र विराटको नामममा अस्ट्रेलियामा बाटो

अस्ट्रेलियामा भारतीय लगानीकर्तालाई लोभ्याउने योजनाअनुसार सरकारले मेलबर्नको सडकलाई क्रिकेटका हस्ती सचिन तेन्दुलकर र विराट कोहलीको नामबाट नामाकरण गरेको छ। 

मेलबर्न शहरमा सडकको नाम तेन्दुलकर ड्राइभ र कोहली क्रिसेन्ट राखिएको छ। यस्तै, सन् १९८३ मा भारतलाई विश्व कप जिताएका कप्तान कपिल देवको नाममा पनि देव टेरेस भनेर एउटा बाटोको नामाकरण गरिएको छ। 

यसमा पाकिस्तानीलगायत अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ वाको नाममा ‘वा स्ट्रिट’, वेष्ट इन्डिजका पूर्व कप्तान ग्यारी सोबर्सको नाममा ‘सोबर्स ड्राइभ’, न्युजिल्याण्डका पूर्व कप्तान रिचर्ड ह्याड्लीको नाममा ‘ह्याड्ली स्ट्रिट’ र पाकिस्तानका वासिम अक्रमको नाममा ‘अक्रम वे’ राखिएको छ।
 
मेलबर्नको प्रोपर्टी खरिद–विक्रि गर्ने रेसी वेन्चर कम्पनीकी एलिसा हेसका अनुसार क्रिकेटरको नामबाट सडकको नामाकरण गर्दा जमिन खरिद–विक्रिमा आकर्षण बढेको छ। भारतीय मुलका व्यक्तिहरू बढी लोभिएको बताइएको छ। 

‘भारतीय क्रिकेटरको नाममा सडकले मान्यता पाएपछि घर किन्नलाई मानिसहरू जानकारी लिन बढी मात्रामा आउने गरेका छन्’, उनले भनिन्। 
रेसी वेन्चर्सका निर्देशक खुर्रम सइदका अनुसार अस्ट्रेलियाका महान क्रिकेटर डन ब्रेडम्यानसमेत ६० क्रिकेटरको नाम स्विकृतिका लागि पठाइएको थियो। यसमा ब्रेडम्यानको नाम स्विकृत भएन। उनको नाममा पहिलेदेखि नै एउटा सडक निर्माण भइसकेको छ। 

कोहलीको नाममा सडक रहेको क्षेत्र महंगो भएको पनि खुर्रमले जानकारी दिए। उनले कुमार संगकारा, राहुल द्रविड, महेन्द्रसिंह धोनीको नाम पनि अनुमतिका लागि माग गरेको तर स्विकृत नभएको बताए।

प्रकाशित मिति: : 2020-06-15 19:19:28

प्रतिकृया दिनुहोस्