३ महिनादेखि थला परेको राजधानी तंग्रिन थाल्यो, हेर्नुस् काठमाडौं भित्रको चहलपहल (भिडियो)

कोरोनाको सम्भावित संक्रमण रोक्न सरकारले करीब तीन महिनादेखि मुलुक लकडाउन गरेको छ। सर्वसाधारण नागरिकले पनि विगत ८४ दिनसम्म राज्यको आदेश मान्दै घर बाहिर निस्किएनन्। राज्यको आग्रहलाई पूर्ण रूपमा पालना गरे।

यद्यपी कोरोना संक्रमित र मृतकको संख्या बढ्दै जानथालेपछि राज्यले पनि आठौं चरणसम्म बन्दाबन्दी थप गर्दै गयो। त्यही बिचमा राज्यले ब्यावसायीलाई कर तिर्न उर्दी गर्दै सूचनासमेत जारी गर्‍यो। यतिबेलासम्म शान्त रहेका नेपाली सर्वसाधारणहरू एकाएक सरकारको विरूद्धमा आन्दोलनमा उत्रिए। स्वस्फूर्त नागरिकहरू सरकारको रवैयाको विरोध गर्न थाले।

लामो समयदेखि ठप्प रहेको ब्यापार व्यवसाय गर्नेले कसरी कर तिर्ने भन्दै आन्दोलन चर्किएपछि यसको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो।

अन्ततः अदालतले अन्तरिम आदेश दिएसँगै सरकार करको मामलामा केही पछि हट्यो।

लामो बन्दाबन्दीबाट आजित नागरिक राज्यको बेवास्ता गर्दै बाहिर निस्कन थाले। सुरूका केही दिनमा प्रहरीले आफुखुसी बाहिर निस्कनेलाई नियन्त्रणमा समेत लिन थाल्यो, तर त्यो सङ्ख्या बढ्दै गएपछि राज्य पछि हट्न बाध्य भयो। आम नागरिक र सरोकारवालाको बिरोध पछि सरकारले असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाउने निर्णय नै गर्‍यो।

‘लकडाउन जारी छ, खुकुलो मात्र भएको हो’, प्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाई सुन्दा र काठमाडौंको स्थिति हेर्दा लाग्छ लकडाउनको कुनै छनक छैन। बजारमा भएकाजतिका सबै किसिमका पसलहरू खुलेका छन्। मानिसको आउजाउ बाक्लिएको छ।

यद्यपी सरकारले भीडभाड कम गर्न सार्वजनिक यातायात भने चलाउन दिएको छैन। निजी सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागू गरेको छ।

करिव ३ महिनादेखि थला परेको राजधानी बिस्तारै तंग्रिन थालेको छ।

बजार पसलहरु खुल्न थालेका छन्। काठमाडौंको अति ब्यस्त न्यूरोड क्षेत्रमा मानिसको भिडभाड बढ्न थालेको छ। ठूला-ठूला ब्यापारिक मलसमेत खुल्ने तयारीमा छन्।

असार १ गतेदेखि सरकारी कार्यालयसँगै खुलेका साना ब्यावसायीका कारण सकडमा ट्राफिक जाम हुन थालेको महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

‘लकडाउन खुलेको होइन खुकुलो भएको हो, राज्यले  जस्तो गर भन्छ त्यस्तै गर्ने हो, कोरोना भाईसरको संक्रमण दिनैपिछे बढेको बढ्यै छ, त्यसमा हामी सबै सचेत हुनुपर्छ,’ एसएसपी ढकालले भने।

सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागू गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ।

तर काठमाडौंभित्र केही खुकुलो भएपछि बाहिरबाट भित्रीने सवारी साधनमा भने कडाई गरिएको छ। यो सँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण गरेका सबै पासहरू पनि रद्ध भएका छन्।

हेर्नुहोस् काठमाडौंका चहलपहल तस्बिर र भिडियोमा

प्रकाशित मिति: : 2020-06-16 17:31:00

प्रतिकृया दिनुहोस्