महिला हिंसाविरुद्धको सोह्रदिने अभियानः

‘घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छ’

Symbolic photo
Symbolic photo

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक बिनु शाही प्रायः दिनहुँ घरेलु तथा लैङ्गिक हिंसाका उजुरी हेर्दै व्यस्त हुन्छिन्।

महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लामा दातृ निकाय एवं सरोकारवाल निकायले सचेतनामूलक कार्यक्रम, गोष्ठी गरिरहँदा जिल्ला प्रहरी कार्यालय महिला सेलमा भने हिंसाका उजुरी नआएको दिन छैन।

‘प्रायः दिनहुँ आइरहेका घटनामा घरेलु हिंसामा कुटपिट र लैङ्गिक हिंसा महिला तथा पुरुषहरू बाहिर सम्बन्ध राखेका, सामाजिक सञ्जालमार्फत अन्यत्र सम्बन्ध रहेकालगायतका घटना आइरहन्छन्’, उनले भनिन्, ‘सोह्रदिने अभियानका क्रममा घरेलु हिंसाका पाँच र लैङ्गिक हिंसाका तीन उजुरी परेका छन्।’

उनले उजुरी परेकामध्ये पाँचवटा मिलापत्र र तीनवटामा कारबाही गरिएको बताइन्। ‘सामाजिक सञ्जालमा पनि लैङ्गिक हिंसाका घटना बढ्दै गएको देखिन्छ’, प्रहरी निरीक्षक शाहीले भनिन्, ‘कतिपय अवस्थामा युवाहरूले युवतीको विवाहपश्चात पनि फोटो, भिडियो परिवारसम्म पुर्याएर घटना घटाइरहेको अवस्था छ।’

उनले घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिने गरेको बताइन्। ‘पारिवारिक सम्बन्ध बिग्रिने कुराले पनि परिवारका सदस्य यहाँ आएर मिलापत्रमै उजुरी टुङ्ग्याउन चाहन्छन्’ , उनले भनिन्, ‘कतिपय अवस्थामा जोहेरवालाको मागअनुसार कारबाही प्रक्रिया पनि अघि बढाएका छौँ।’

उनले युवा पुस्तामा साइबर क्राइमका मुद्दा बढिरहेको बताइन्। ‘घटना प्रहरीमा पुगेपछि परिवारकै सदस्यहरू आएर टुङ्ग्याएर जान्छन्’, उनले भनिन्, ‘परिवारका सदस्यहरू पीडकलाई एक–दुई दिन थुनामा राख्नमै बढी उद्यत हुन्छन्।’

त्यसैगरी माइती नेपाल कञ्चनपुरमा कार्यरत कर्मचारी गीता डगौंराले महिला हिंसा उजुरी अभियानका क्रममा पनि नरोकिएको बताइन्। माइती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा १६ दिने अभियानका क्रममा सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ।

महाकाली नदीमा अवस्थित चार लेनको पक्की पुल क्षेत्रमा आयोजना गरिएको सचेनामूलक कार्यक्रममा दोधारा चादँनीका जनप्रतिनिधि र सुरक्षा निकयको उपस्थिति थियो।

प्रकाशित मिति: : 2023-12-10 12:04:00

प्रतिकृया दिनुहोस्