भारत-चीन तनाव: मोदीले बोलाए सर्वदलीय बैठक

लद्दाखमा भारत र चिनियाँ सेनाबीच भएको हिंसात्मक भिडन्तमा भारतीय सेनाका एक कमाण्डर र १९ जवानको ज्यान गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन्।

मोदीले जुन १९ अर्थात शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएका हुन्। बैठक शुक्रबार बेलुका पाँच बजे बस्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको हो। 

दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो। चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ।

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्। गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको बताएको समाचारमा जनाइएको छ।

बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन। तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ।

भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ। स्थानीय सञ्चारमाध्यमले भारतीय सैनिकहरूको कुटीकुटी हत्या गरिएको विवरण प्रकाशित गरेका छन्। तर सेनाले यसको पुष्टि गरेको छैन।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ।
 

प्रकाशित मिति: : 2020-06-17 15:25:25

प्रतिकृया दिनुहोस्