पाकिस्तानका विदेश मन्त्री महमुद कुरेशीले चीनसँग बढ्दो तनावका बीच भारतले आफ्नो देशमा आक्रमण गर्न सक्ने बताएका छन्। उनले यदी भारतले आफ्नो देशमा आक्रमण गरे यसका लागि आफूहरू तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।
भारतले एक दिन अगाडि जासुसी गरेको आरोपमा दिल्लीस्थित आफ्नो हाईकमिशनबाट ५० प्रतिशत कर्मचारी कटौति गर्न दिएको निर्देशन लगत्तै कुरेशीको यो बयान आएको हो।
उनले भारत सरकारको व्यवहारप्रति असन्तुष्टी जनाए। ‘भारतले यस्तो हर्कत जारी राखे हामी पनि भारतीय हाईकमिशनका कर्मचारीलाई इस्लामाबादबाट पठाउने छौं,’ उनले भनेका छन्।
दिल्ली प्रहरीले ३१ मेमा पाकिस्तानी दुतावासका दुई कर्मचारीलाई जासुसी गरेको आरोप लगाएको थियो। पाकिस्तानका दुई कर्मचारीमाथि पैसा खर्चेर सुरक्षा सम्बन्धि दस्तावेज लिइरहेको अवस्थामा पक्राउ गरिएको दिल्ली प्रहरीले दावी गरेको थियो।
पक्राउ परेका दुबै कर्मचारी भिसा असिस्टेन्टको रूपमा कार्यरत थिए। दुबैलाई २४ घण्टाभित्र भारत छोड्न भनिएको थियो।
इस्लामाबादमा पनि १५ जुनमा भारतीय हाइकमिशनका दुई अफिसरमाथि जासुसीको आरोप लगाइएको थियो।