होला त वासिङ्टन डीसी अमेरिकाको ५१औं राज्य ?

अमेरिकाको राजधानी वासिङ्टन डीसीलाई ५१औं राज्य बनाएर नयाँ नाम स्टेट अफ वासिङ्टन, डगलस कमनवेल्थ दिने प्रस्ताव अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पारित गरेको छ।

शुक्रबार अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले यो प्रस्ताव पारित गरेको हो । डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनमा पार्टी लाइनमै मतदान भएको थियो। प्रस्तावको पक्षमा २३२ र विपक्षमा १८० मत परेको थियो। 

हाउस अफ रिप्रेजेन्टेटिभ्समा प्रस्ताव लगेको डेमोक्रेटिक पार्टीले वासिङ्टन डीसीलाई ५१औं राज्य  बनाउन चारवटा तर्क अगाडि सारेको थियो। पहिलो, यसको जनसंख्या सात लाखभन्दा बढी हुनु। दोस्रो, यसको क्षेत्रफल भर्मन्ट र बायोमिङ राज्यको भन्दा पनि ठूलो हुनु । तेस्रो, अमेरिकाका ५० राज्यमध्ये २२ राज्यभन्दा बढी कर तिर्नु । चौथो, यो राज्य हुँदा अमेरिकाको राजधानी सहरको गरीमा बढ्नु ।

तर, रिपब्लिकन पार्टीले भने यी तर्क देखाउने दात मात्र भएको र खास कारण चाँहि वासिङ्टन डीसी राज्य हुँदा यहाँबाट थप दुई सिनेटर र पाँच कंग्रेसमेन डेमोक्रेटिक पार्टीले जित्ने कुटील चाल भनेको छ। यही तर्कका आधारमा रिपब्लिकन सांसदहरूले पार्टी लाइनमै प्रस्तावको विपक्षमा मतदान गरेका छन्।

अमेरिकाको राजधानी वासिङ्टन डीसीलाई ५१औं राज्य बनाएर नयाँ नाम स्टेट अफ वासिङ्टन, डगलस कमनवेल्थ दिने प्रस्ताव अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पारित गरेको छ। डेमोक्रेटिक पार्टीलाई २ सिनेटर र ५ कंग्रेसमेन/वुमन थपिदिने यो प्रस्ताव अहिलेको अवस्थामा पास हुन असम्भव छ। तर, अमेरिका क्रमश: नीलो हुँदै गएकोले अर्को वर्ष भने वासिङ्टन डीसी अमेरिकाको ५१औं स्टेन नहोला भन्न सकिन्न। 

राष्ट्रपति डोनल्ड ट्रम्पले भने यसअघि नै डेमोक्रेटिक पार्टीलाई थप दुई सिनेटर र पाँच कंग्रेसमेन दिने यो प्रस्तावको पक्षमा आफू कहिल्यै नहुने बताइसकेका छन् । 

अब यो प्रस्ताव कंग्रेसको माथिल्लो सदन सिनेटमा जाने छ। त्यहाँ रिपब्लिकन पार्टीको बहुमत भएकाले या त प्रस्ताव नै छलफलमा ल्याइदैन या त ल्याइए पनि असफल गराइन्छ। कथमकदाचित पारित भैहाल्यो भने राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा बचेको एक भिटो प्रयोग गर्ने निश्चितप्राय: छ। 

अहिलेको राजनीतिक अंकगणित र समीकरणमा वासिङ्टन डीसी अमेरिकाको ५१औं राज्य हुन लगभग असम्भव छ। तर, अर्को वर्ष यसको सम्भावना बढ्दै गएको पछिल्लो अमेरिकी जनमतले संकेत गर्दैछ। राता राज्य फिक्का हुँदै जाने र फिक्का राता र  फिक्का नीला क्रमश:  गाढा नीला हुँदै जान थालेको यो अवस्थामा त्यो सम्भावना बढेर गएको हो।  

प्रकाशित मिति: : 2020-06-27 08:26:51

प्रतिकृया दिनुहोस्