राष्ट्रिय जनमोर्चाले अहिले भारतले केपी ओलीलाई हटाएर देशमा राजतन्त्र ल्याउन खोजिरहेको जनमोर्चाको दाबी छ।
पार्टीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै शनिबार जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘ भाजपाको सरकारले नेपालमा धर्म निरपेक्षताको अन्त्य गरी त्यसको आधारमा राजतन्त्रको पुनस्थापना गर्न प्रयत्न गर्दै आएको छ। त्यसको लागि नेकपाको ओली सरकार बाधा भएको छ र यो सरकारलाई हटाउन चाहेको छ। यो स्थितिमा उनीहरुका निहीत उद्देश्य वा स्वार्थका कारणले यो सरकारलाई अपदस्त गर्ने कुरा सही हुँदैन।’
यस्तै उनले नेकपा कम्युनिस्ट सरकार नभएको आरोप लगाएको छ। ‘हामीले शुरुदेखि नै बताउँदै आएका छौँ कि नेकपाको सरकार कम्युनिस्ट सरकार होइन। यो गणतन्त्र पनि बर्जुवा व्यवस्था हो। यिनबाट देश र जनताका सम्पूर्ण समस्याहरुको समाधान हुँदैन।’
तैपनि तुलनात्मक दृष्टिले अहिलेको अवस्थामा नेकपा गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा उभिनु सकारात्मक भएको वक्तव्यमा उल्लेख छ। संसदमा एक सीटको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा रहेको जनमोर्चाले ओली सरकारको मूल्यांकन गर्दै भनेको छ, ‘नेपाली भूमि फिर्ता गर्ने, त्यसका लागि नयाँ नक्सा जारी गर्ने, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिला ७ वर्षसम्म लगातार नेपालमा बसेको हुनुपर्ने व्यवस्था गर्ने कार्य सकारात्मक र महत्वपूर्ण छन्।’
राष्ट्रिय जनमोर्चाले अंगीकृत नागरिक सांसद सरिता गिरी जस्ता सांसद केही संख्यामा हुने हो भने वा बहुमत भयो भने त्यो स्थितिमा नेपालको स्थिति फिजी जस्तै हुनेछ बताएका छन्। त्यसकारण, नेपालको नागरिकता सम्बन्धी नीति कडा हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको नीति र तिनीहरुका गतिविधिको राजनैतिक भण्डाफोर गरिनु पर्ने उल्लेख छ।
यता एमसीसी सम्झौता नेपालको हितमा नभएको मात्र होइन, गम्भीर राष्ट्रघाती भएको बताएको छ। ‘एमसिसीका विरुद्ध देशका राजनीतिक दल, संघ, संस्था स्वयं नेकपाका कतिपय नेता, कार्यकर्ता र जनता सडकमा ओर्लेर विरोध गरेका छन्। अझै पनि ओली नेतृत्वको सरकार र अमेरिकी ट्रम्प प्रशासन त्यसलाई संसदबाट पारित गरी लागु गर्न प्रयत्न गरिरहेका छन्। अमेरिकी विदेश मन्त्रीले त्यसबारे गम्भीर चासो देखाएका छन् र नेपाल सरकारका विदेश मन्त्रीले आगामी संसदको अधिवेशनबाट त्यसलाई पारित गर्ने आश्वासन दिएका छन्। त्यसकारण, त्यसका विरुद्धको संघर्षलाई जारी राख्नु पर्ने आवश्यकता छ।’