हिँडेरै हुम्ला पुगेका डा. केसीको सेवा

दृश्य

चियाको सर्को लिँदै सरकारी सेवामा आसिन कम्युनिष्ट बिल्लावाला बोल्छ, ‘बुढाको अलि दिमागी समस्या छ पनि भन्छन् नि? के हो खास? नत्र यतिसम्म को गर्छ त?,’ उसले अनुमान लायो वा आफ्नै मनको कुरा अरुले भनेजस्तो गरि भनेर बच्न खोज्यो। जे होस सार्वजनिक रूपमा दाबी गर्न सकेन।

अर्कोले होमा हो थप्यो। ‘मैले पनि त्यस्तै सुनेको छु,’ उसको चियाको सर्कोबाट ठूलो आवाज आयो।

कहिलेकाहीँ चिया पसलमा अति जरूरी सूचना पनि पाइन्छन्। केही मान्छेले आम मान्छेको धारणालाई कसरी डाइभर्ट गर्छन् भन्ने पनि थाह हुन्छ। त्यसैले मधेसबाट लेख्ने वरिष्ठ पत्रकार चन्द्रकिशोर चिया पसललाई सूचनाका गतिला स्रोत मान्छन्।

केही थान मनुवाहरू मौन थिए। मानौं कि उनीहरुको आफ्नो विचार नै थिएन। एक हिसाबले चम्चे जस्ता। जस्तो कि कसैले ‘फलानो पागल हो’ भन्यो भने, पछाडिको वाक्य ‘...पागल हो’ मात्र थपिदिने। उनीहरुको विचार मात्र होइन भाषा पनि आफ्नो नभए जस्तो।

एउटाले कडा प्रतिकार गर्‍यो। ‘जो यो देशको स्वास्थ्य क्षेत्र सुधारको लागि मरिमेटेको छ उही पागल? पागल त तिमीहरु हौं, तिम्रो सत्ता हो। आफ्नै अगाडि जो स्वास्थ्य क्षेत्रमा विकृति ननिम्त्याउ भनेर भोकभोकै बसिरहेको छ। उही पागल? आफ्नै बासना थाहा नपाउने कस्तुरीहरूलाई विचरा बाहेक केही भन्न सकिदैन।’‍

त्यसपछि भनाभन नै चल्यो। भनाभन यस्तरी बढ्यो, तेरो मेरोबाट ‘तेरो बाउआमा’ सम्म पुग्यो।

यो थियो २०७५ असार १६ गते बिहान जुम्लामा चिया पसलमा चलेको दृश्य। त्यतिबेला उनी आफ्नो १५ औं सत्याग्रहको लागि जुम्ला पुगेका थिए। अनि हरेक चोक, चौतारोमा उनकै चियो चर्चा भइरहेको थियो।

०००

उनीहरू माथिका दृश्य झैं बाँडिएका थिए। काँग्रेस सत्तामा भएको बेला सत्ता बाहिर हुने कम्युनिष्टहरु डा.केसीका धुमधडाक समर्थक हुन्थे भने सत्तावाल डा. केसी देखिसहँदैनथे।

कम्युनिष्टहरु सत्तामा हुँदा काँग्रेस डा. केसीका फ्यान भइहाल्थे। सत्तामा नहुने त सँधै समर्थक। तथापि कोही सँधैका विरोधी थिए। बुढा हेर्दा एक्ला जस्ता देखिए पनि आफ्नो पक्षमा बोल्ने कोही न कोही पाई नै रहेका हुन्थे।

०००

उनले आफ्नो १७ औं सत्याग्रह २०७६ कात्तिक २६ गते मंगलबार तोडेका थिए। भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि असहमति जनाउँदै राष्ट्रिय एकताका लागि भनेर सत्याग्रह तोडेका उनले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरु मार्फत गराएका थिए।  

‘अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कूटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं। त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन,’ उनले त्यसबेला विज्ञप्तिमा मार्फत भनेका थिए, ‘चिकित्सा शिक्षा क्षेत्रमा भएको दस अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन।’

स्वास्थ सुधारका लागि लामो समय सत्याग्रहमार्फत आन्दोलन र उपलब्धि समेत गरेका डा. केसीले आन्दोलन मात्रै गरेनन्, सेवा पनि गरे। डुवानमा पर्दा आफ्नै खर्चमा मधेस झर्ने उनी देशले भोगेका हरेक संकटमा अनवरत रुपमा जनताको सेवामा तल्लीन रहेने चिकित्सक हुन्।

भलै उनको सत्याग्रहलाई लिएर अनेक खालका टिकाटिप्पणी चिया चौतारोमा मात्र नभएर सदन र सडकमा समेत भइरहे। केही नबुझेका देखि साह्रै बौद्धिक छवि बनाएकाहरु पनि बोले। त्यसै सिलसिलामा त्रिवि शिक्षण अस्पतालका प्रा. डा. भगवान कोइरालाले ‘भिसी र केसीको चेपुवामा’ परेको टिप्पणी गरे।

अरुले के बोल्छ भन्दा पनि आफूले के गरको छु भन्ने प्रवृत्ति भएका डा. केसी हाल हुम्लीहरुको सेवामा तल्लीन छन्। उनी हुम्ली नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि हुम्लाको विकट ताँजाकोट गाउँपालिका पुगेका छन्।

विगत केही महिनादेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा बिरामीको उपचारमा खटिएका डा. केसी बाजुराको मार्तडीबाट पैदल हिँडेर हुम्ला पुगेका हुन्।

उनले शुक्रबारदेखि दुई दिनसम्मका लागि हुम्लाको ताँजाकोट र अदानचुलीमा निःशुल्क स्वास्थ्य शिविर चलाएर सेवा गरिरहेको मैला स्वास्थ्य चौकी इन्चार्ज धनराज ढकालले जानकारी दिए।

‘डा. केसी बाजुराको मार्तडीबाट पैदल हिँडेर बिहिबार यहाँ पुगेपछि शुक्रबारदेखि दुई दिनसम्मका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुभयो,’ उनले भने।

स्वास्थ्य सेवाबाट बञ्चित दुर्गमका जनतालाई सेवा प्रदान गर्न डा. केसी औषधि बोकेर आफैं विभिन्न ठाउँ पुग्ने आफ्नो योजना अनुसार हुम्ला र बाजुराको सिमानामा रहेका दुर्गम गाउँसम्म पुगेका हुन्।

विकट बस्तीमा रहेका आम नागरिकको सेवा गर्न रुचाउने डा. केसी नेपालको स्वास्थ्य क्षेत्र सुधारका हस्ती र जनताका असली सेवक रहेको नेपाल विद्यार्थी संघ हुम्लाका अध्यक्ष धर्मराज जैसीले बताए।

‘विकट बस्तीका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने पवित्र उदेश्य बाकेर डा. केसी आउनुभएको हो,’ उनले बिएल नेपाली सेवालाई भने, ‘आफैं औषधि बोकेर जनताको घर आगनमा पुग्दा सबैले भगवान् आएजस्तो मानेका छन्।’

डा. केसी शनिबारसम्म हुम्लामा रहने र फेरि बाजुरा फर्कने बिरामीको उपचारका लागि सहजिकरण गरिरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

डा. केसीका माग पूरा नगर्ने र सत्तामा बसेर अनर्गल टिप्पणी गर्नेलाई बोलेर भन्दा पनि गरेर देखाउनुले उनको सेवाभावको सधै उच्च मूल्यांकन हुने गरेको छ। चाहे सत्तामा रहनेले पागलै किन नभनुन्।

प्रकाशित मिति: : 2020-06-28 18:39:00

प्रतिकृया दिनुहोस्