अंक २–

पल शाह प्रकरण: यसो गरे सबैको ‘जीत’ हुन्छ !

पल शाह प्रकरणले मभित्रको चलचित्र पत्रकार/समीक्षकलाई फेरि एकपटक झक्झकायो। चालिसको दशकको सुरूदेखि लगभग तीनदशक नेपाली चलचित्रलाई पत्रकारिता तथा समीक्षाको माध्यमबाट केही योगदान गरेको क्षणतिर डोहोर्याएर लग्यो। हुन त यो कुरा गर्नु एक किसिमले बेकार पनि छ किनकि आजको पल शाह पुस्ता र उनीहरूको लागि चलचित्र पत्रकारिता गरिदिनेहरूले मिलको पत्थर भैसकेको हाम्रो पुस्तालाई चिन्दैन। प्रकाश थापा र तुलसी घिमिरेको नाम त सुनेको छैन भन्नेहरू छन्, रमण घिमिरे, प्रदीप भट्टराईहरूको नाम सम्झन्छन् भनेर अपेक्षा गर्नु नै असान्दर्भिक हो। तैपनि हामीले योगदान गरेको समयका चलचित्रकर्मीहरू आज पनि हाम्रो कर्मका जिउँदा साक्षी छन् जो हाम्रो चलचित्र विचारलाई अक्षर मात्र सम्झदैनन्। 

नेपाली चलचित्र पल शाह प्रकरणले फेरि एकपटक संगीन घडीमा उभिएको छ। यो बेला समयको अभिलेखकै लागि मात्र भए पनि केही लेख्ने उद्घोष गरेको थिएँ, त्यसैको यो दोस्रो श्रृङ्खला हो। यो श्रृंखलामा पहिलो अंकपछिको विकासक्रम, त्यसमा उत्पन्न क्रिया-प्रतिक्रिया र अबको बाटोको बारेमा आफ्नो धारणा समेटेको छु। 

पहिलो अंकपछिको विकासक्रम

बुधबार अपरान्ह, ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा जानका लागि लाजिम्पाटको एक व्युटी सेलुनमा तयार हुँदै थिए, पल शाह। तनहुको जिल्ला प्रहरी कार्यालयमा नावालिगले उजुरी दिएको खबर पाए। र, यो पनि थाहा पाए कि पक्राउ पुर्जी  हातमा लिएर प्रहरी उनलाई खोजिरहेको छ।
 
उनले प्रिमियरमा नआउँने भने, गएनन्। प्रिमियर स्तव्ध थियो। हलमा ‘म यस्तो गीत गाउँछु २’ चलिरहेको बेला पनि त्यहाँ सहभागी नेपाली चलचित्रकर्मीको मनमा अब के होला? चलिरहेको थियो। तत्कालका लागि ‘म यस्तो गीत गाउँछु २’को भविष्यका लागि चिन्तित उनीहरूको पछिसम्मको चिन्ता चाँहि नेपाली चलचित्र उद्योगलाई यो परिघटनाको असरबाट कमभन्दा कम प्रभाव पारेर कसरी पार लगाउने भन्ने नै थियो। 

पललाई प्रहरीले खोजिरहेको छ, अहिले उनी फरार छन्। नायक पल शाह फरार- नेपाली सञ्चारमाध्यममा पछिल्लो समयको समाचारको लगभग शीर्षक हो यो। फेरि एकपटक, नायक फरार – संगति नमिलेको शीर्षक पस्कन बाध्य छन् नेपाली मिडिया। शुरूमा नायक पल शाहमाथि बलात्कारको आरोप थियो, अहिले त्यो अगाडि बढेर बलात्कारको आरोप लागेका नायकको खोजी गर्दै प्रहरी हुँदै नायक पल शाह फरारको स्थितिमा पुगेर ‘पज’ भएको छ। नायक फरार हुन्छ त? नहुनुपर्ने हो तर दु:खका साथ भन्नुपर्छ अहिले यही भएको छ। 

यसैबीच पलले  नावालिगसँग मिलेर आफ्ना चारजना साथीहरू उनलाई फसाउन लागेको भनेर अडियो क्लिपसहित फेसबुक स्टाटस राखे। ती नामहरू थिए, गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँ। उनले सार्वजनिक गरेका अडियो क्लिपले उनीमाथि नियोजित रूपले दवाव बढाएको देखिन्छ। र, यदि नावालिगको चाहना विपरित उनीहरूले उचालेको मात्र हो भने षडयन्त्रजस्तो पनि देखिन्छ, दुरूत्साहन त हो नै। 

पलको आरोप लगाएका नम्बर १ षडयन्त्रकारी दुर्गेश थापाले पलटवार गर्दै नावालिगले सहयोग मागेपछि आफूले उनलाई सहयोग गरेको दाबी गरेका छन्। उनले एक नावालिग रूदैं सहयोग माग्न आएपछि सहयोग गरेको बताउँदै आफूसँग थप प्रमाण भएको र बढी नबोल्न पललाई चेतावनी पनि दिएका छन्। उनले चाँडै प्रेस कन्फ्रेन्स नै गर्ने बताएका छन्। 

सत्य के हो त्यो त नावालिग र पललाई मात्र थाहा छ र अब पलको भाग्य र भविष्यको फैसला नावालिग अगाडि कसरी बढ्छिन्, त्यसैमा भर पर्छ। यसमा प्रहरी र सरकारी वकिलको कसरी प्रस्तुत हुन्छन्, त्यसले पनि केही फरक पार्छ तर तात्विक फरक हैन।

तपाई हामी हाम्रा १४-१५ वर्षका चेलीबेटीलाई त्यो नावालिगको ठाउँमा राखेर सेलिब्रेटी पल शाहसँग यस्तो सम्बन्ध भएको कल्पना गरौं। के त्यतिबेला पनि तपाई हामी हाम्रा चेलीबेटीकै गल्ती हो भनेर पल शाहहरूलाई क्लिन-चिट दिन सक्छौं?

पलको क्रियापछिका प्रतिक्रियाहरू

पल प्रकरणलाई लिएर नेपाली जनमत विभाजित छ । सामाजिक सञ्जाल मात्र हैन, मूलधारका मिडियाको समाचारको एंगलिङ् हेर्यो भने पनि त्यो अनुभव गर्न सकिन्छ। ठ्याक्कै भन्न नसके पनि बहुमत मान्छे पलकै गल्ती देख्छन्, केही नावालिगको गल्ती ठान्ने पनि छन्। यसका लागि उनीहरू उही परम्परागत तर्क दिइरहेका छन् ‘केटीले नचाहेसम्म केटाले केही गर्न सक्दैन। अन्तिम स्वीकृति गर्ने उनीहरू नै हुन्।‘ लगभग यही कुरालाई उनीहरू आआफ्नो हैसियतअनुसार श्लील र अश्लील दुबै किसिमले राखिरहेका छन्। केही मानिसहरू दुबैको गल्ती देख्छन् तर यस कोटीका मानिस पनि यसमा पलकै बढी गल्ती देख्छन्। केही मान्छेहरू पललाई शत्रु लागेको र अरूले षडयन्त्र गरेको पनि भनिरहेका छन्।

यी सबै ध्रुवीकृत तर्क हेरिसकेपछि मेरो मनमा एक हैन, अनेक प्रश्नहरू तरेली लागेका छन्। त्यसमा पनि केन्द्रीय प्रश्नचाँहि ‘के यो शारीरिक सम्बन्ध नर्मल हो’ भन्ने नै हो। यस प्रश्नका लागि पृष्ठभूमीमा जाउँ- पल र नावालिगको रिलेसनको टाइमलाइन हेर्दा पल ३० र नावालिग १५ वर्ष हुँदा शारीरिक सम्बन्ध भएको देखिन्छ। यसरी हेर्दा एकजना ३० वर्षे युवा १५ वर्षे किशोरीमाथि शारीरिक सम्बन्ध राखिरहेको छ। त्यसमाथि पनि सम्बन्ध राख्ने ३० वर्षिय पुरूष जल्दोबल्दो सेलिब्रेटी नायक हुन् भने किशोरीचाँहि मात्र १५ वर्षकी छिन् अनि आर्थिक र सामाजिक रूपमा पनि अलि पछि नै परेकी छन् । 

एक छिन तपाई हामी हाम्रा १४-१५ वर्षका छोरी चेलीहरूलाई त्यो नावालिगको ठाउँमा राखेर हेरौं र सेलिब्रेटी पल शाहसँग उनीहरूको यस्तो सम्बन्ध भएको कल्पना गरौं। के त्यतिबेला पनि तपाई हामी हाम्रा छोरीचेलीको गल्ती हो भनेर पल शाहहरूलाई क्लिन चिट दिन सक्छौं ?

यदि हामी नर्मल माइती हौं भने सक्दैनौ र सक्नु हुदैन पनि। यदि त्यसो गर्न थालियो भने हामी मान्छे हुनुमै प्रश्न गर्नुपर्ने हुन्छ, सभ्य समाजको कुरा त धेरै परको भयो।

यही बीचमा मैले केही जाने मानेका नेपाली नायिका र गायिका दिदीहरूले पल शाहका साथ भगवान रहेको प्रतिक्रिया दिएको पढ्न पाएँ। ती प्रतिक्रियाहरू देखेर म ती दिदीहरूको मानसिकता देखेर निराश भएँ। एउटी नावालिग गायिका ‘म वलात्कृत भएँ' भनेर न्याय माग्न कानूनी प्रक्रियामा छिन्  तर त्यही लिङ्ग भएका केही दिदीहरू भने बलात्कार-आरोपीसँग भगवान छन् भनिरहेका छन्। यदि भगवान बलात्कार गर्नेसँग हुने हो भने बलात्कृतसँग चाँहि को हुन्छ?  

मलाई लाग्छ, अहिलेको अवस्थामा पलका समर्थकहरूले धेरै भन्न सक्ने कुरा यति मात्र हो कि, पल दोषी हुन् कि निर्दोष त्यसको छिनोफानो कानूनले गर्नेछ। उनी दोषी हुन् भने सजाय पाउँनुपर्छ, निर्दोष हुन् भने उनीमाथि न्याय हुनुपर्छ र दोष लगाउनेहरूमाथि कारबाही हुनुपर्छ। दोषी नबचुन्, निर्दोष नफसुन् र पीडितमाथि न्याय होस्। अथवा, यस्तो लेख्न सकिदैन भने मौन बस्नुपर्छ। अहिलेका लागि यही नै पलको अधिकतम समर्थन हो। तर, जो जसरी पललाई क्लिन चिट दिदै नावालिगमाथि नै जाइलागेका छन्, उनीहरू पलका त समर्थक होलान् तर नारी अस्मिता र मानवताकै विरोधी हुन्। अस्मिता र मानवताका अगाडि व्यक्ति गौढ हुन्छ। यस्ता भनाइहरूले हाम्रो समाजमा अरू पल शाहहरू जन्माउन मदत पुग्छ। के हाम्रो समाजलाई अरू पल शाहहरू चाहिएको हो र? 

मैले केही जाने मानेका नेपाली नायिका र गायिका दिदीहरूले पल शाहका साथ भगवान रहेको प्रतिक्रिया दिएको पढ्न पाएँ। ती प्रतिक्रियाहरू देखेर म ती दिदीहरूको मानसिकता देखेर निराश भएँ। एउटी नावालिग गायिका ‘म वलात्कृत भएँ भनेर न्याय माग्न कानूनी प्रक्रियामा गएकी छिन्  तर त्यही लिङ्ग भएका दिदीहरू बलात्कार-आरोपीसँग भगवान छन् भनिरहेका छन्। यदि भगवान वलात्कार गर्नेसँग हुने हो भने वलात्कृतसँग चाँहि को हुन्छ?  

अब के हुन्छ ?

१७ वर्षे नावालिग अहिले अत्यन्त विचलित मनोदशामा छिन् भन्ने अनुमान गर्न सकिन्छ। घटनाक्रमलाई हेर्ने हो भने उनले एकजना स्टारसँग जीवन बिताउने लोभमा १५ वर्षकै उमेरमा आफ्नो अस्मिता सुम्पिएकी थिइन् होला। स्टारले आफ्नो स्टारडमबाट गलाएर सहमतिमै सम्बन्ध राखेका थिए होलान्। तर एउटी किशोरीले केही सपना नदेखी त्यो सहमति पक्कै पनि गरिनन् होला। पृष्ठभूमिबाट के बुझिन्छ भने विवाह गर्ने सहमतिमा़ शारीरिक सम्बन्ध राखिएको हुनुपर्छ । तर, पलले नावालिगसँगको यो सहमतिको गम्भीरतालाई बुझेनन्। अझ यसो भनौं, उनले १७ वर्षीयासँग गरेको समागमको रमाइलोको गुरूत्वमात्र बुझे, तर त्यो अप्ठ्यारो हुँदा कति महंगो हुन्छ भन्ने बुझेनन्। उनका वरिपरि घुम्नेहरू पनि त्यो बुझ्ने र बुझाउने तहका थिएनन्। प्रकारान्तरमा यो ललाईफकाई राखिएको सम्बन्ध र त्यसका लागि गरिएको सहमति धोकामा परिणत हुँदा यो भयावह स्थिति सिर्जना भएको हो।

अब के हुन्छ ? यसै भन्न सकिने स्थिति छैन। मानसिक रूपमा विचलित देखिएकी नावालिगले निरन्तर पक्ष फेरिरहेकी छिन्। उनको उमेर त काँचो छ नै, मनोदशा पनि ठीक छैन। त्यसैले कुनै पनि बेला उनले कुरा फेर्न सक्छिन्। अहिले उनी जे भनेर प्रहरीकोमा गएकी छिन्, कुनै पनि बेला पलले भेटाएर विवाह गर्छु भनी दिए भने उजुरी मात्र फिर्ता लिने हैन कि मलाई दबाब दिएर उजुरी गर्न लगाएको पनि भन्न सक्छिन्। त्यसैले यो प्रकरण अत्यन्त तरल स्थितिमा छर यसको कसरी पटाक्षेप हुन्छ?, यसै भन्न सकिने अवस्था छैन। 

यसमा दोषी को? 

यसमा मुख्य दोष पल शाहकै हो। किनकि पछिल्लोपटक दुलेगौढास्थित प्रदीप थापाको घरमा सम्बन्ध राख्दा उनी ३२ वर्षका पठ्ठो थिए भने नावालिग १७ वर्षकी मात्र थिइन्। उजुरीमा भनिएअनुसार यो उनीहरूको शारीरिक सम्बन्ध राखिएको तेस्रो मुकाम थियो। पहिलो सम्बन्ध त ०७७ सालको पुस १० गते पोखराको होटल प्राइममै राखिसकिएको रहेछ। त्यतिबेला त उनी १५ वर्षकी मात्र थिइन्। 

३० वर्षको पठ्ठो नायकले १५ वर्षकी नावालिगसँग शारीरिक सम्बन्ध राखेको दावी गरिएको छ। र, स्वयं सहभागीले पनि सम्बन्ध राखेको स्वीकारेको एक अडियो क्लिप सार्वजनिक भएको छ। उनले त्यो क्लिपमा गर्भ नबोकेकै कारण विवाह नगर्ने भनेका छन्। त्यही भनेपछि चाँहि नावालिग र पलले भनेका चारजनाले विवाह गराउनकै लागि योजना बनाएको देखिन्छ जसलाई उनले षडयन्त्र भनेका छन्। उनले जुन भिडियो क्लिप बाहिर ल्याए, त्यो पनि पलले फकाएर नावालिगसँगै लिएको सजिलै अनुमान गर्न सकिन्छ। केही दिनअघि मात्र पलले नावालिगलाई भेटेर त्यो क्लिप पनि लिएका थिए र आफ्ना पकेटका मिडियामा आफूहरू साथी मात्र भएको स्पष्टिकरण दिदै हिडाएका थिए। पललाई पटक पटक आफ्नो अस्मिता सुम्पिएकी उनी अहिले पनि उनलाई पाउँन जे गर्न पनि तयार देखिन्छिन्। यो मुद्दा पनि पललाई पाउन नै गरिए जस्तो देखिन्छ। 

यो घटनाकी एक पात्र नावालिग पनि यो परिघटनाका लागि केही मात्रामा दोषी छिन्। १४ वर्षकै उमेरमा ठाउँ ठाउँमा अस्मिताको ओछ्यान लगाउँदै हिड्नु उनको गल्ती हो। तर, उनको उमेर, पृष्ठभूमी र अर्कोतिर पलको नायक व्यक्तित्व, उनको सामाजिक उत्तरदायित्व र उमेरलाई हेर्दा त्यो गौढ मात्र भएको हो। अझ, अहिले जुन रूपमा यो प्रस्तुत भएको छ, त्यसले त उनलाई लगभग निर्दोष  नै बनाउन सहयोग पुर्याएको छ।

रह्यो पलले यहाँ दोष दिएका अन्य चारजनाको प्रश्न। उनीहरू नावालिगले नभनी र केही भन्ने ठाउँ नै नभइ यो परिघटनामा संलग्न भएका हैनन्। आरोपित नम्बर १ दुर्गेश थापाको भनाइले त्यही भन्छ। पल र नावालिगबीच आगोको फिलिङ्गो थियो, त्यसलाई आगो बनाउन उनीहरू लागे। त्यो आगो नावालिगलाई सहयोगको लागि मात्र पनि बालिएको हुन सक्छ, पललाई जलाउन पनि लगाइएको हुन सक्छ। त्यसको छिनोफानो फेरि पनि नावालिगले मात्र गर्न सक्छिन्। उनले अब कुन स्टाण्ड लिन्छिन्, त्यसमा भर पर्छ।

अझै पनि पलले वालिग भएपछि विवाह गर्छु भन्ने विश्वास दिलाए भने कुनै पनि बेला मुद्दा फिर्ता हुन सक्छ। त्यसो भयो भने यो परिघटनाको कानूनी रूपमा अन्त हुन सक्छ। सामाजिक रूपमा अन्त नभए पनि सुरक्षित अवतरण हुन सक्छ, त्यसका लागि पल र नावालिगले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर भन्नुपर्छ कि ‘हामीबाट गल्ती भयो, आइन्दा हामी यस्तो रमिता देखाउँदैनौ, अहिले हामी साथीका रूपम रहन्छौ र वालिग भएपछि विवाह गर्छौं, हामीलाई क्षमा दिनुहोला।‘

यसो हेर्दा नावालिगको एक मात्र चाहना पललाई श्रीमान बनाउन पाउँ भन्ने जस्तै मात्र देखिन्छ र पलले त्यसका लागि वचन दिएजस्तो पनि देखिन्छ। त्यस्तो वचन नदिइ एउटी नर्मल किशोरी तीन तीन ठाउँमा शारीरिक सम्बन्ध राख्न तयार हुन्न। एब्नमर्लको कुरा त अर्कै भयो। जब पलले उनलाई विवाह गर्दिन भन्न थाले त्यसपछि नावालिग पलले भनेका चारजना ‘षडयन्त्रकारी’कोमा सहयोग माग्न पुगेजस्तो देखिन्छ।

यो पृष्ठभूमिलाई हेर्दा अझै पनि पलले वालिग भएपछि विवाह गर्छु भन्ने विश्वास दिलाए भने उनले कुनै पनि बेला मुद्दा फिर्ता लिन सक्छिन्। त्यसो भयो भने यो परिघटनाको कानूनी रूपमा अन्त हुन सक्छ। रह्यो, सामाजिक रूपमा अन्त हुने कुरा, यसको समुल अन्त त अब कहिलै हुदैन। तर, यसको सुरक्षित अवतरण हुन सक्छ, त्यसका लागि पल र नावालिगले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर भन्नुपर्छ कि ‘हामीबाट गल्ती भयो, आइन्दा हामी यस्तो रमिता देखाउँदैनौ, अहिले हामी साथीका रूपम रहन्छौ र वालिग भएपछि विवाह गर्छौं, हामीलाई क्षमा दिनुहोला।‘

यसो गर्न किन पनि आवश्यक छ भने उनीहरूमाथि नेपाली चलचित्र र संगीत क्षेत्रले करोडौ लगानी गरेको छ। तत्कालका लागि त्यो लगानीलाई जोगाउन र यस क्षेत्रको भविष्यका लागि पनि यो भन्दा उत्तम विकल्प छैन। त्यसैले नेपाली चलचित्र तथा संगीत क्षेत्रका जिम्मेवार व्यक्तिहरूले यही दिशामा पहल गर्नुपर्छ। पलका फ्यान हुँ भन्नेहरूले पनि यही कोणबाट आफूलाई जिम्मेवारीका साथ प्रस्तुत गर्नुपर्छ। यतिबेला पलले जे गरे ठीक गरे र १७ वर्षीया नावालिगले जे गरिन्, त्यो चाँहि बेठीक हो भनेर जुन किसिमको संकथन बनाउन खोजिएको छ, त्यो जन्ती प्रतिक्रियालाई तत्काल रोक्नुपर्छ। त्यो नेपाली समाजको चरित्र पनि हैन र त्यसले कसैको भलो पनि गर्दैन। 

नेपाली समाज क्षमाशील छ र क्षमा पनि दिन्छ। त्यो हेर्न धेरै टाढा जानै पर्दैन, नीलो चलचित्र सार्वजनिक भएकी नम्रता श्रेष्ठलाई दोस्रो इनिङमा नायिकाकै रूपमा स्विकार गर्यो नेपाली समाजले। पललाई पनि त्यही रूपमा स्विकार नगर्नुपर्ने कारण छैन। तर, त्यसको पहिलो शर्त पलले नावालिगलाई विश्वासमा लिएर नेपाली जनतासँग माफी माग्नुपर्छ। र, वालिग भएपछि उनीसँग विवाह गरेर एउटा आदर्श जोडीका रूपमा जीवन बिताउनुपर्छ। त्यसो गर्दा उनीहरूकै रियल-कथा पनि रिल-कथाभन्दा कम हुँदैन। 

म चाहन्छु, कोही हारेर पनि नेपाली चलचित्र र संगीत क्षेत्रको जीत होस्। त्यसो गर्दा सम्बन्धित सबैलाई यो एउटा ‘महागल्ती-पाठशाला’ भने हुनैपर्छ। यो विन्दुमा उभिदा व्यक्तिगत रूपमा म पारिजात दिदीसँग माफी माग्छु। उनले भनेकी थिइन्, गल्ती दुई प्रकारका हुन्छन्- क्षम्य र अक्षम्य। उनले बलात्कारलाई अक्षम्य गल्तीको कोटीमा राखेकी थिइन्। तर, मैले यहाँ यो सहमतिमै भएको ठानेर सशर्त क्षमाको कुरा गरें। ठूलो स्वार्थका सामु कहिलेकाँही सानातिना कुरा गौढ बनाउनु पर्नेरहेछ। नेपाली चलचित्र र संगीत क्षेत्रको भलाइको लागि यसपटक त्यसो गर्नुपर्यो। सक्नुहुन्छ भने दिदी यसपटकलाई माफ गरिदिनु होला।  

आगामी अंकमा 
किन जन्मिन्छन् ‘०७८/७९ ब्यास-१२’हरू ?


यो पनि पढ्नुहोस् :
पल शाह प्रकरण- श्रृंखला १ : कति बिरोधाभास छ- 'नायक' र 'बलात्कार' !

 
 

प्रकाशित मिति: : 2022-02-25 05:17:00

प्रतिकृया दिनुहोस्