हिउँसँग लडिबुडीः आहा! फिकुरी ट्रेक {भिडियो}

नेपाल भ्रमण वर्ष २०२० तथा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्धेश्यले गत फागुन ११ देखि १५ गतेसम्म रसुवा नुवाकोट पर्यटन समाजले अध्ययन तथा परिचयात्मक भ्रमण आयोजना गरेको थियो।

राजधानी नजिक भएर पनि पर्याप्त स्रोत, साधन र प्रवर्धनको अभावले नुवाकोट र रसुवा जिल्लामा पर्यटकीय गन्तब्यहरु ओझेलमा परेकोले नयाँ गन्तब्यको रूपमा विकास र प्रवर्धन गर्ने उद्देश्यले एक्सप्लोर र परिचयात्मक भ्रमण आयोजना गरिएको थियो।

पछिल्लो समय मौलाउँदै गएको स्थानीय होमस्टेले आन्तरिक पर्यटकलाई समेत आकर्षित गरेको छ। नुवाकोट र रसुवाको विभिन्न ऐतिहासिक स्थल, डाँडा, भञ्ज्याङ, सुन्दर बस्ती, मनोरम पहाड र वन जंगलको यात्रा हुँदै गरिने एक हप्ताको ट्रेकिङ ट्रेल विदेशी माझ पनि लोकप्रिय हुनसक्ने आयोजकले दाबी गरेको छ।

हिमाली जिल्ला रसुवाका तामाङ हेरिटेज ट्रेल, लाङटाङ,  तथा गोसाईकुण्डमा स्वदेशीसँगै विदेशी पर्यटकमाझ लोकप्रिय छ। यद्यपी नयाँ  पर्यटकीय स्थानको पहिचान र प्रवर्धन हुने अपेक्षा भ्रमणको रहेको छ।

समुन्द्र सतहदेखि ३,५६८ मिटरमा अवस्थित फिकुरीडाँडा धार्मिक र सेताम्मे हिमालको दर्शनका लागि आकर्षक गन्तब्य हो। नुवाकोटको किस्पाङ गाउँपालिका–२ मा अवस्थित डाँडाबाट गणेश हिमाल, लाङटाङ हिमाल, दोर्जे लाक्पा, मनास्लु, अन्नपूर्णलगायतको लामो लर्कनमा हिमाल देखिन सकिन्छ।

धार्मिक हिसाबले महत्व मानिने फिकुरी डाँडा बौद्धमार्गी र हिन्दू धर्मावलम्बिको लागि पवित्र स्थल हो। जनै पूर्णिमामा मेला लाग्छ। जहाँ सर्वसाधारणको चहलपहल र स्थानीय लामा र झाँक्रीको ठूलो भेला हुन्छ ।

फिकुरी ट्रेक दुवै आन्तरिक र विदेशी पदयात्रीका काठमाडौंदेखि नजिक छोटो र सस्तो गन्तब्य पनि हो।

रसुवा-नुवाकोट पर्यटन  समाजले ‘फिकुरी ट्रेकिङ ट्रेल’ को ५ दिने अध्ययन अवलोकन तथा परिचयत्मक भ्रमण आयोजना गरेको टोली नुवाकोट दरबारबाट सुरू गरेर रसुवाको घलेगढी पुगेर टुंगिएको थियो।

भ्रमण टोलीमा नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका कार्यकारी सदस्य, पूर्व टान अध्यक्ष  तथा वरिष्ट पर्यटन उद्दमी दिपक महतको पनि सहभागिता थियो।  फिकुरी ट्रेल अत्यन्तै सम्भावना बोकेको र काठ्माडौंदेखि नजिकको गन्तब्य पनि भएको भन्दै महतले यसको पूर्वाधार विकासमा स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्न पर्यटन वोर्ड सधै तयार रहेको बताए।

पदमार्गमा हिमाली गाउँवस्ती र जिवनशैली, डाँडापाखा, ऐतिहासिक सम्पदा, संस्कृतिको जानकारी संकल गरेर फर्केका छौं, यो पदमार्गको प्रचार प्रसार गर्ने भ्रमण टोलीका संयोजक ऊर्जा तामाङले बताए।

‘फिकुरी ट्रेक अध्ययन भ्रमण’ मा पर्यटन ब्ययवसायी, पर्यटन विज्ञ, पथ प्रदर्शक, पत्रकार, टान र भिटोफ नेपालको प्रतिनिधि टोली सम्मिलित थियो।  

५२ जना सहभागी टोलीले नुवाकोट दरवार, सूर्यगढी, मानेगाउँ, भाल्छे, नोघडेरी, ढ्वाछाप भेडाखर्कहुँदै फिकुरी डाडाँको पदयात्रा गरेको थियो। त्यसपछि ताजी, सातदोबाटो, डाडागाउँहुँदै शान्तिबजार भएर घलेगडी पुगेर यात्रा सम्पन्न गरेको थियो।

यस कार्यक्रमको मुख्य प्रवर्धक नेपाल पर्यटन वोर्ड थियो भने नुवाकोट समन्वय समिति, विदुर नगरपालिका-१०, किस्पाङ गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकाले सह-कार्य गरेको थियो। 

फिकुरी पदमार्गको विवरण

पहिलो दिनः काठमाडौं- चोकडे (१३०८ मि) साईड ट्रेक सुर्यगढी
दोस्रो दिनः चोकदे-मानेगाउँ (९७५ मि)
तेस्रो दिनः माने गाउँ भाल्छे (१९६८ मि)
चौथो दिनः भाल्छे-फिकुरी (३५६८मि)
पाँचौं दिनः फिकुरी-ताजी गाउँ (१८४९ मि)
छैटौ दिनः ताजी-ठूलो गाउँ (३२७ मि)
सातौं दिनः ठूलो गाउँ- घलेगडीहुँदै कालिकास्थान १६६५ मि
आठौ दिन: कालिकास्थानदेखि काठमाडौं

हेर्नुहोस् यात्राका तस्बिरहरू:

प्रकाशित मिति: : 2020-06-29 14:10:29

प्रतिकृया दिनुहोस्