सरकार किन प्रश्न सुन्दैन?

काठमाडौं- सत्यको आग्रह यति जटिल होला भनेर जनताको सरकार भएको देशमा सोच्न सकिने विषय होइन। गणतन्त्रको यो बेला माहामारीको जोखिममा समेत सत्ताको खेलमा सरकार व्यस्त हुनु जति दुःखद छ, आवाजहरु दबाउनु र नसुन्नु अझ बढी जटिल। 

कोरोना भाइरस (कोभिड १९) को माहामारी नआउँदै तयारी नगर्नुदेखि अहिलेसम्म के कसरी काम भए हरेकलाई थाहा छ, सत्ताको बचाउ गर्नेहरुलाई नै पनि। त्यही काम राम्ररी गर भनेर युवाहरुले आवाज उठाएको पनि लामो समय भयो। 

सामाजिक सञ्जालमा लेखेका आग्रहलाई गाली देख्ने सत्ताले सडकमै पुगेको आवाज पनि सुनेन। काम गर्नुभन्दा मुख थुन्नु सजिलो ठान्यो। गएको जेठको अन्तिम साता कोरोना महामारीविरुद्ध सरकारको काम गराइ र भ्रष्टाचारका विषयमा युवाहरु बालुवाटारमा शान्तिपूर्ण प्रदर्शनमा थिए। तीन दिनमा त्यस्तै प्रदर्शन बालुवाटारमा दुईपटक भयो।

त्यस्तै प्रदर्शन देशभर फैलियो। काठमाडौंमा पनि चोकचोकमा युवाहरु देखिए। आवाजहरु उठे। प्रश्नहरु गरिए। तर जवाफ अझै छैन। सरकारले बोलेर दिनुपर्ने जवाफको माग पनि उनीहरुले गरेका होइनन्। उनीहरु चाहन्छन् सरकारले कामले जवाफ देओस्।

प्रकाशित मिति: : 2020-07-01 08:17:25

प्रतिकृया दिनुहोस्