राष्ट्रपतिसँग छलफल गर्न प्रचण्ड शितल निवासमा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भए लगत्तै उनी शीतल निवास पुगेका हुन्।

भेटका क्रममा अध्यादेश ल्याउने आशंकामा प्रधानमन्त्री ओलीको तयारीलाई बल पुर्‍याएपछि प्रचण्ड शीतल निवास गएका हुन्। ‘तपाई पार्टीको एउटा पक्षमा लाग्नु हुँदैन है’ भन्ने आग्रह गर्न प्रचण्ड शीतल निवास गएको स्रोतले बताएको छ।

संसद अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री ओलीले पार्टी फुटाउनका लागि अध्यादेश जारी गर्ने अड्कल बढेको छ।

यसअघि बिहीबार बिहान प्रधानमन्त्री ओलीले  राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए। राष्ट्रपतिसँगको छलफलपछि बालुवाटारमा मन्त्रिपरिषदको बैठकबाट ओलीले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए।  

यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए।  पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए।

हालको कानुन अनुसार कुनैपनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ। प्रधानमन्त्री ओलीको पक्षमा हाल संसदीय दलमा ४० प्रतिशत सदस्य रहेको तर केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य पुग्ने अवस्था छैन।

यस्तोमा प्रधानमन्त्री ओलीले संसदीय दलमा मात्र ४० प्रतिशत पुर्‍याउँदा पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश जारी गर्न सक्छन्।

प्रकाशित मिति: : 2020-07-02 15:24:28

प्रतिकृया दिनुहोस्