‘फेयर एन्ड लभ्ली’को नयाँ नाम ‘ग्लो एन्ड लभ्ली’

बहुराष्ट्रिय कम्पनी युनिलिभरले चर्चित क्रिम ‘फेयर एन्ड लभ्ली’को नाम परिवर्तन गरेको छ। सौन्दर्य प्रसाधनका सामाग्रीहरु उत्पादन गर्दै आएको युनिलिभरले सुन्दरताको परिभाषालाई समावेशी बनाउन फेयर शब्द हटाएको हो।

बिहीबार युनिलिभर कम्पनीले आफ्ना क्रिमबाट फेयरनेस, ह्वाईटनिङ जस्ता शब्दहरू हटाएर ‘ग्लो एन्ड लभ्ली’ र पुरूषले प्रयोग गर्नेको नाम ‘ग्लो एन्ड ह्यान्सम’ राखेको हो।

पछिल्लो समय चलेको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका बीच युनिलिभरले आफ्नो वेबसाइट मार्फत् फेयर–फेयरनेस’,‘ह्वाइट–ह्वाइटेनिङ’ र ‘लाइट–लाइटेनिङ’जस्ता शब्दको प्रयोग आफ्ना उत्पादनको ब्रान्डिङ र विज्ञापनबाट हटाउने घोषणा गरेको थियो।

गत मे २५ मा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडलाई नियन्त्रणमा लिन मिनिसोटाका एक प्रहरी अधिकारीले घाँटीमा घुँडाले थिचेका थिए। फ्लोयडले सास फेर्न नसकेको बताए पनि प्रहरीले नछाडेपछि उनको ज्यान गएको थियो।

उक्त भिडिओ सार्वजनिक भएदेखि अमेरिकामा नश्लभेदविरूद्धको आन्दोलन चर्किएको थियो। आन्दोलनका क्रममा दासप्रथासँग सम्बन्धित केही सालिकहरू पनि ढलाइएका थिए।

युनिलिभरद्वारा उत्पादित सौन्दर्य क्रिम र अन्य उत्पादनहरुको विज्ञापनका उत्पादनले रंगभेदलाई बढावा दिएको भन्दै प्रतिबन्धको समेत माग हुने गरेको छ।

यसैबीच ‘डोभ’ साबुनको ‘एल ओरियल’ कम्पनीले पनि ह्वाईटनिङ, फेयर, फेयरनेस जस्ता शब्दहरू हटाएको थियो।

 

प्रकाशित मिति: : 2020-07-03 14:27:26

प्रतिकृया दिनुहोस्