‘फेयर एन्ड लभ्ली’बाट ‘फेयर’ शब्द हटाइने

बहुराष्ट्रिय कम्पनी युनिलिभरले गोरो वा सेतो रंगलाई महत्व दिने शब्दहरु आफ्ना उत्पादनबाट हटाउने निर्णय गरेको छ।

सौन्दर्य प्रसाधनका सामाग्रीहरु उत्पादन गर्दै आएको युनिलिभरले  बिहीबार सुन्दरताको परिभाषालाई समावेशी बनाउने निर्णय गरेको बताउँदै उक्त निर्णय गरेकाे जनाएकाे छ।

युनिलिभरले आफ्नो वेबसाइट मार्फत् 'फेयर-फेयरनेस’,‘ह्वाइट–ह्वाइटेनिङ’ र ‘लाइट–लाइटेनिङ’जस्ता शब्दको प्रयोग आफ्ना उत्पादनको ब्रान्डिङ र विज्ञापनबाट हटाउने घोषणा गरेको छ। फेयर एन्ड लभ्ली क्रिमबाट पनि फेयर शब्द हटाइने भएको र यसको नयाँ नामाकरण केही महिनामा गरिने बताइएको छ।

कम्पनीका ब्युटी एन्ड पर्सनल केयरका प्रमुख सन्नी जेनले भनेका छन्, 'हामी छालाको कुनै एउटामात्रै रंग सुन्दर हुन्छ भन्ने होइन र सौन्दर्य कुनै एउटामात्रै रंगमा निहीत छैन भन्ने मान्यता राख्छौं। फेयर, ह्वाइट र लाइट (गोरो र सेतो) शब्दको प्रयोगले एक किसिमको रंग र वर्णलाई मात्र सुन्दरका रुपमा संकेत गर्छ र यो ठिक होइन भन्ने कुरालाई हामी स्वीकार गर्छौं।' उनले भनेका छन्, 'हामी छालाको चमक बढाउने र निखार ल्याउने उत्पादनहरुमा प्रयोग हुने भाषालाई परिवर्तन गर्न चाहन्छौं।'

उनले एसियाभर बिक्री हुने गरेको क्रिमको विज्ञापनको भाषा पनि परिवर्तन गरिने बताएका छन्। यसको विज्ञापनमा गोरामात्र नभइ अन्य वर्णका महिलाहरुलाई प्रयोग गरिने उनले बताएका छन्। '

सौन्दर्य क्रिम र अन्य उत्पादनहरुकाे विज्ञापनका उत्पादनले रंगभेदलाई बढावा दिएको भन्दै प्रतिबन्धको समेत माग हुने गरेको छ।
 

प्रकाशित मिति: : 2020-06-25 19:45:47

प्रतिकृया दिनुहोस्