जर्मनीमा क्रिकेट सुरु, हेलमेट साट्दा सेनिटाइजर प्रयोग गर्न निर्देशन

कोरोना भाइरसको महामारीका कारण क्रिकेटको जननी मानिने इंग्ल्याण्डमा खेल ठप्प छ। तर, क्रिकेटसँग खासै नाता नरहेको जर्मनीले भने क्लब क्रिकेटको सुरुवात एक महिना अगाडि नै सुरु गरेको छ। 

एकदिवसीय क्रिकेटको आयोजना बन्द भए पनि जर्मनीले टि–२० क्रिकेट खेल्न भने खुला गरेको छ। जर्मनीमा १६ मध्ये १४ राज्यमा क्रिकेट सुरु भइसकेको छ। खेल घरेलु मैदानमा धेरै भइरहेको छ। खेलाडीले अधिक भ्रमण नगरोस् भनेर यस्तो उपाय अपनाइएको स्थानीय पदाधिकारीले बताएका छन्। 

जर्मनीमा क्रिकेटलाई ‘कन्ट्याक्ट खेल’ को रुपमा व्याख्या गरिएको छैन। त्यसैले यो खेलले आयोजनाको स्विकृति पाएको हो। 

जर्मनी क्रिकेट संघका कार्यकारी प्रमुख ब्रायन मेन्टले भन्छन्, ‘हामीलाई विशेषज्ञले बताएअनुसार क्रिकेट खेल्दा कोरोना सर्ने सम्भावना न्युन छ। हामी कहाँ क्रिकेटलाई नन–कन्ट्याक्ट खेलको समूहमा समावेश गरिएको छ। यसै कारण खेल्ने अनुमति पाइएको हो। हामीले ‘सोसल डिस्टेन्सिङ’ को नियम पनि बनाएका छौं।’

जर्मनीमा पछिल्लो समय क्रिकेट  लोकप्रिय हुँदैछ। यहाँ पहिले खेलाडीहरु हेलमेट फेरबदल गरेर खेल्ने गर्थे तर कोरोनाका कारण यसको नियममा परिवर्तन गरिएको छ। एउटा खेलाडीले अर्को खेलाडीलाई हेलमेट दिँदा सेनिटाइज गर्नुपर्ने नियम राखिएको छ। 

विकेटकिपरलाई पनि स्टम्प नजिकै बस्ने स्विकृति छैन। जर्मनीमा कोरोना संक्रमितको संख्या १ लाख ९६ हजार नाघिसकेको छ। यस्तै, फिल्डिङ गर्दा खेलाडी बीचको दूरी साढे एक मिटरको दूरी अनिवार्य गरिएको छ। 

जर्मनीमा अफगानी शरणार्थीको संख्या बढेसँगै क्रिकेटको लोकप्रियता पनि चुलिएको हो। विगत ६ वर्षमा क्लबको संख्या ७० बाट बढेर ३ सय ७० पुगेको छ। महिला क्रिकेट पनि लोकप्रिय हुँदै गइरहेको छ।

प्रकाशित मिति: : 2020-07-04 18:55:25

प्रतिकृया दिनुहोस्