जब पहिरोले बगाएका १८ महिने नातिका नयाँ लुगा भेटिए...

टाेपलाल अर्याल

पहिरोले पुरिएको घरमा सरसामान खोज्दै गरेकी गुल्मीको इस्मा गाउँपालिका– १ हस्तिचौरकी कमला सारू एकाएक रुन थालिन् । उनकै वरिपरि सरसामान निकाल्दै गरेका स्थानीय बासिन्दा र सुरक्षाकर्मी चकित परे । 

केही स्थानीय बासिन्दाले सम्झाउन खोजे, तर उनी झन हिकहिकाइन् । उनले एक जोर लुगा सुमसुम्याउँदै भनिन्, ‘भर्खरै मैले नै नयाँ लुगा किनेकी थिएँ । कसरी मन थाम्नु ।’ 

बिहीबार राति आएको पहिरोले घर पुरिँदा उनका १८ महिने नातिको ज्यान गएको थियो । त्यसयता सम्हालिने कोसिस गर्दै आएकी उनी एकाएक नातिका लुगा भेटेपछि भक्कानिएकी थिइन् । उनले नै नातिका लागि केही दिनअघि नयाँ लुगा किनेकी थिइन् । जुन लुगा राम्ररी लगाएका पनि थिएनन् । कमलाले भनिन्, ‘जति गर्दा पनि भुल्न उपाय छैन । झलझल्ती आँखामा आइहाल्छ ।’

प्रकाशित मिति: : 2020-07-06 08:19:35

प्रतिकृया दिनुहोस्