महाधिवेशन फागुनमै गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ। 

केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले कोराेना भाइरसकाे संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने निर्णय लिएको हो। 

प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ।

महाधिवेशनका लागि नयाँ प्रस्तावित तालिकामा क्रियाशील सदस्यताको नवीकरण, वितरण र छानविन प्रकृया सकेर मंसिर मसान्तभित्र सम्पूर्ण सूची निर्वाचन आयोगलाई बुझाई सक्नुपर्ने उल्लेख छ। 

पार्टीका अन्तरिम संरचनासमेत अझै समायोजन भइसकेका छैनन्। जसले महाधिवेशनको तयारी अघि बढाउन कठिनाई परेको छ। 

तर बैठकले समायोजनको काम साउन १० गते भित्र सक्ने लक्ष्य लिएको छ। अझै २६ जिल्लाको समायोजन हुन अझै बाँकी छन्। समायोजन नभएका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य हुन सकेको छैन।

क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाईसक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ।

क्रियाशील सदस्यतामाथि उजुरी गर्ने समय असोज मसान्त, पुनरावेदनका लाग कात्तिक मसान्त र सम्पूर्ण विवाद टुंगाउनका लागि मंसिर २५ गते सम्मको समय दिइएको छ।

 क्रियाशील सदस्यताको छानविन गर्नेदेखि विवाद टुंग्याएर अन्तिम सूची निकाल्ने काम पार्टीद्धारा गठित छानविन समितिले गर्छ। तर, अहिलेसम्म समिति बनेको भने छैन। मंसिर मसान्तभित्र क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउने समय पनि कांग्रेसले तोकेको छ। त्यसपछि मात्रै वडा तहदेखि अधिवेशनको प्रकृया सुरु हुन्छ।

महाधिवेशनको परिमार्जित तालिका यस्ताे छ

केन्द्रीय अधिवेशन फागुन ७, ८, ९ र १० गते।
गाउँ /नगर, वडा अधिवेशन ०७७ पुस ६ गते
गाउँ/नगरपालिका अधिवेशन ०७७ पुस ८ गते
प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको
जिल्लाका अधिवेशन ०७७ पुस १३
एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६
प्रदेश अधिवेशन माघ ६ गते

प्रकाशित मिति: : 2020-07-06 19:40:16

प्रतिकृया दिनुहोस्