नेपाल एक विविध भूगोल भएको देश हो। जहाँ कतिपय दुर्गम क्षेत्रहरू अझै पनि विकासका दृष्टिकोणले निकै पछाडि छन्। त्यस्ता क्षेत्रहरू मध्ये कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला भौगोलिक विकटता र कठिन जीवनशैलीका कारण सधैँ चर्चामा रहन्छ। यहाँ विकासका पूर्वाधार निर्माण चुनौतीपूर्ण छन्।
हालै जुम्ला विमानस्थलको स्तर वृद्धि अर्थात् विस्तार गर्ने चर्चा चलिरहेको छ। तर, तत्कालीन अवस्थालाई विश्लेषण गर्दा विमानस्थलको विस्तारभन्दा पनि शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन जस्ता अन्य अत्यावश्यक विकासका क्षेत्रमा लगानी गर्नु बुद्धिमानी देखिन्छ।
विमानस्थलको स्तरोन्नति आवश्यक नभएको भने होइन। यसले हवाई यातायातलाई सहज बनाउन र बाह्य सम्पर्क विस्तार गर्न मद्दत गर्छ। तर, जुम्लाको वर्तमान परिवेशमा प्राथमिकता निर्धारण गर्नु जरुरी छ।
अधिकांश जुम्लावासी अझै पनि आधारभूत आवश्यकताहरूबाट वञ्चित छन्। गुणस्तरीय शिक्षाको अभावमा बालबालिकाहरू अवसरबाट टाढा छन्। स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा सामान्य रोगले पनि जटिल रूप लिने गरेको छ। सिँचाइको अभावमा कृषि उत्पादन न्यून छ र खाद्यान्नको लागि परनिर्भर हुनुपरेको छ। सडक सञ्जालको कमजोर अवस्थाले दैनिक जीवनयापन र आर्थिक गतिविधिहरूलाई कठिन बनाएको छ। यस्तो अवस्थामा विमानस्थलको स्तर वृद्धिमा ठूलो लगानी गर्नु तत्कालका लागि प्रत्युत्पादक हुन सक्छ।
हालको अवस्थामा जुम्ला विमानस्थलमा साना जहाज बस्ने गरेतापनि विस्तारपछि ठूलो जहाज आउने भन्ने कुरा अझै कसैले पनि जनता सामु प्रष्ट पार्न सकेका छैनन्। जुम्ला विमानस्थल विस्तार पछि आउने जहाज भनेको ‘एटीआर ४२’ हो जुन जहाज नेपालबाट फेज आउट हुने क्रममा छन् भने भौगोलिक बनावटको कारण ‘एटीआर ७२’ जहाज विस्तारपछि पनि बस्न नसक्ने सबैलाई जानकार नै छ। यदि ‘एटीआर ७२’ जहाज नै अवतरण गराउने हो भने पनि विमानस्थल विस्तारको लागि जग्गा पुग्ने अवस्था छैन। न त विमानस्थल नै अर्को ठाउँ सार्ने सम्भावना।
‘एटीआर ७२’ जहाज अवतरण गराउनलाई विभिन्न कुराले प्रभाव पार्दछ। जसमा एउटा कारण हो जनसंख्या- जुम्लाको जनसंख्या कति छ र त्यसमा पनि हवाई यातायात प्रयोग गर्ने जनसंख्या कति छ सायद भन्नु नपर्ला। जुम्ली जनताको आयस्रोत के कस्तो छ हवाईजहाजमा चढ्न सक्ने क्षमता छ कि छैन? त्यो पनि विचार गरियोस्। त्यसैले धावनमार्ग विस्तार भएपनि ठूला जहाज अवतरण गर्न नसक्ने निक्षित छ।
भएको खेतीयोग्य जमिन मासेर धावनमार्ग विस्तार गर्नु कतिको जायज होला? यो सबै जुम्लाका बुद्धिजीवीले बुझ्न जरुरी छ। टेक्निकल हिसाबले पनि ठूला जहाज अवतरण गराउन मुश्किल भन्ने कुरा थाहा हुँदाहुँदै अझै विमानस्थल विस्तार गर्नुपर्छ भन्ने होडबाजी चलेको छ। सानो जहाजले दैनिक ३ फ्लाइट गर्दा त पेसेन्जर खोज्नुपर्ने अवस्था छ भने विस्तार भएपछि पेसेन्जर कताबाट ल्याउने हो? त्यसको पनि विचार गर्न जरुरी छ। जुनसुकै जहाज आएपनि घाटा खाएर त कसैले पनि सेवा दिँदैन होला क्यार!
बरु विमानस्थल विस्तारको सट्टा के कसरी हुन्छ फ्लाइट थप्ने तिरपो लाग्ने हो कि। नेपाल वायुसेवाको फ्लाइट दैनिक गर्ने हो कि? भन्ने कुरातिर ध्यान जानु जरुरी छ। अथवा टिकट प्रणाली अनलाइन गर्दा पनि केही सहज भने पक्कै हुन्थियो कि? विमानस्थल विस्तार गर्न धेरै खर्च लाग्छ त्यसको सट्टा प्रदेश सरकारले आफ्नै जहाज सञ्चालन गर्ने भन्ने कुरा थियो त्यसलाई प्राथमिकतामा राख्ने हो कि? वर्तमान अवस्थामा विमानस्थल विस्तार गर्नु भनेको देशलाई आर्थिक भार थप्नु हो। त्यसैले विमानस्थल विस्तार गर्नु भन्दा दैनिक फ्लाइट थप्न जरुरी देखिन्छ भने विमानस्थल विस्तारको सट्टा अन्य विकासका पूर्वाधारमा लगानी गर्न आवश्यक देखिन्छ।
जुम्लाको अर्थतन्त्रको मुख्य आधार कृषि हो। यदि कृषि क्षेत्रमा लगानी गर्ने हो भने, उत्पादन वृद्धि गर्न सकिन्छ। सिँचाइ प्रणालीको विकास, उन्नत बीउबिजनको प्रयोग र कृषि औजारको उपलब्धताले किसानहरूको आयस्तर बढाउन मद्दत गर्नेछ। यसले खाद्य सुरक्षालाई सुनिश्चित गर्नुका साथै अन्य जिल्लामा कृषिजन्य उत्पादन निर्यात गर्ने सम्भावना पनि बढाउँछ।
सडक पूर्वाधार विकास अर्को महत्वपूर्ण क्षेत्र हो। गुणस्तरीय सडक निर्माणले यातायातलाई सहज र सुरक्षित बनाउँछ। यसले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन र आवश्यक सामग्रीहरूलाई गाउँसम्म ल्याउन मद्दत गर्छ। सडक सञ्जालको विस्तारले अन्य विकासका पूर्वाधार निर्माणलाई पनि सहज बनाउँछ।
विमानस्थलको स्तर वृद्धि भविष्यको लागि महत्वपूर्ण हुनसक्छ। तर, अहिलेको आवश्यकता भनेको जुम्लाका नागरिकको जीवनस्तरमा तत्काल सुधार ल्याउने क्षेत्रमा लगानी गर्नु हो। शिक्षा, स्वास्थ्य, कृषि र सडक जस्ता क्षेत्रमा गरिएको लगानीले प्रत्यक्ष रूपमा नागरिकको जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउँछ र दिगो विकासको आधार तयार पार्छ।
अतः तत्कालीन अवस्थामा जुम्लाको विकासका लागि विमानस्थलको स्तर वृद्धि गर्नुभन्दा पनि अन्य महत्वपूर्ण क्षेत्रहरूमा लगानी गर्नु नै बुद्धिमानी र दूरदर्शी निर्णय हुने देखिन्छ। यसले जुम्लालाई विकासको मूल प्रवाहमा समाहित गर्न र यहाँका नागरिकलाई समृद्ध भविष्यतर्फ डोर्याउन मद्दत गर्नेछ।