नेपाली कांग्रेसको औपचारिक केन्द्रीय कार्यसमितिको बैठक नबसेको झण्डै वर्षदिन पुग्नै लागेको छ। अघिल्लो महिना आह्वान भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको थियो।
आवश्यक पर्दा पदाधिकारी बैठक र संसदीय दलको बैठकबाट कांग्रेस चलिरहेको देखिन्छ। अर्कातर्फ कांग्रेसका संगठनात्मक कार्यक्रमहरू भने नियमित झैं चलाइएको भएपनि असन्तुष्टि केन्द्रदेखि वडा तहसम्म छताछुल्ल भइरहन्छन्।
सत्ता साझेदारीमा सन्तुष्ट छैनन् केन्द्रीय तहका नेताहरू। यद्यपी गठबन्धनलाई स्वीकार गरेको कांग्रेस सत्ता केन्द्रीत बढी देखिन्छ। बेलाबखत विभिन्न विभागमा सदस्य मनोनयन भइरहेका हुन्छन तर मुख्य भातृ संगठनहरूका अधिवेशन हुन सकिरहेका छैनन्। भइरहेका अधिवेशनहरूमा पनि चरम गुटता हावी छ। लमजुङमा नेपाल तरुण दलमा भएको घटनाले कांग्रेस अनुशासनको चरम लापरवाही अवस्थाबाट गुज्रेको पुष्टि गर्छ।
अर्कातर्फ कांग्रेस निर्धारित अवधिमा महाधिवेशन हुन्छ वा हुँदैन भन्ने विषयले तुल पकडेको देखिन्छ। कांग्रेसका आन्तरिक मञ्च र कार्यक्रममा यो विषयले महत्वका साथ प्रवेश पाएको छ। नेतृत्वका विभिन्नमा पुग्ने उत्कठ चाहना राखेका पात्रहरू आन्तरिक ध्रुवीकरणमा आ-आफ्नो पक्षको लबिङ मजवुत बनाउने प्रयासमा लागेका छन्।
कांग्रेसको अघिल्लो महाधिवेशनमा बनेका समूहहरूको निरन्तरता र नयाँ समूहको निर्माण दुवैथरीका गतिविधि कांग्रेसभित्र तिव्र गतिमा चलिरहेका छन्। त्यो भन्दा फरक ढगंले सभापति शेरबहादुर देउवा निकट पात्रहरूले तेस्रो धारको नयाँ समीकरण बनाउने अभ्यास पनि गरिरहेका छन्।
कांग्रेसको संस्थापन पक्षको नेतृत्व कस्ले गर्ने भन्नेमा मतभेद छ। सभापति देउवापछि कसलाई नेता मानेर अघि बढ्ने भन्ने ढुलमुलले संस्थापन पक्ष एकमत देखिंदैन। त्यसैगरी कांग्रेसभित्रको मुख्य प्रतिपक्ष डा.शेखर कोइराला र गगनकुमार थापाबीचको सतहमा आएको असमझदारीका बाबजुत उक्त समूह पनि अस्तित्व र निरन्तरताको संकटबाट गुज्रिरहेको देखिन्छ।
अब कुरा कांग्रेसका पुराना लोकप्रिय, संगठनमा मजवुत र कहलिएका नेताहरूका छोराहरू कांग्रेसभित्र आफ्नो कमजोर प्रदर्शनका कारण नेतृत्वमा पुग्ने संघर्षमा पुछारतिर भेटिन्छन्। यद्यपी उनीहरूले समीकरणको नयाँ प्रयास थालेको बेलाबखत झल्को दिन्छन।
तीमध्ये कांग्रेसका संस्थापक मध्येका एक बीपी कोइराला पुत्र डा.शंशाक कोइराला, सर्वमान्य नेताको ख्याती कमाएका स्व.गणेशमान सिंहका छोरा प्रकाशमान सिंह, त्यसैगरी तराई मधेशबाट केन्द्रसम्म कहलिएका नेता स्व.महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधिका गतिविधि नेतृत्वमा पुग्ने प्रयासका लागि केन्द्रीत छन्। तर निधि र सिंह त्यसका लागि अघिल्लो महाधिवेशनबाट कमजोर प्रमाणित भइसकेका पात्र हुन्। बाँकी रहेका डा.कोइराला एकपटक महामन्त्री भइसकेर सभापतिमा आँट गर्न नसकेको छवि बन्न पुगेका पात्र हुन्। उनीसँग कोइराला लिगेसीको एउटा विश्वास कार्यकर्ता माझ कायम रहेको देखिन्छ। जो सत्तामा पुगेका छैनन्। उनी पटक-पटक कांग्रेस केन्द्रीय कार्य समिति र संसदमा छन्।
अघिल्लो महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गरेपनि सभापतिमा देउवालाई सघाएका कारण राजनीतिक लाभ र सत्ताको लाभ लिन सिंह सफल रहेका छन्। तर संगठनमा उनको साख उति मजवुत नभएको कांग्रेसभित्रको लेखाजोखा हो। त्यसैगरी प्रत्यक्ष निर्वाचनका लागि मधेसमा आँट गर्न नसकेर संसदबाट समानुपातिकबाट छिरेका निधि पनि सभापतिमा देउवालाई साथ दिएको उपहार पाइसकेका पात्र हुन्।
बेलाबखत डिनर र लञ्च जमघट गरेर प्रतिष्पर्धी र सभापति देउवालाई आफू साथमा रहेको र बलिया भएको मनोवैज्ञानिक दवाब देखाउन यी तीन पात्र सतहमा आउने गर्छन्। पछिल्लो पटक यीनै तीन पात्रलाई अघि सारेर थप ३ जना कांग्रेस नेताहरूले सके सभापति देउवाको साथ लिने नभए कार्यकर्ताहरू माझ आफ्नो अस्तित्वलाई मजवुत बनाउने रणनीति बनाएको बुझिन्छ। ति ३ जना हुन गोपालमान श्रेष्ठ, कृष्ण प्रसाद सिटौला र डा.प्रकाशशरण महत। यी तिनै जनाको अभिष्ट आफ्नो अस्तित्व संकटग्रस्त हुन थालेपछि मोर्चाबन्दीमा लागेका छन्।
गोपालमान श्रेष्ठ कांग्रेस विभाजन हुँदा देउवालाई साथ दिनेहरू मध्ये पहिलो पंक्तिका पात्र हुन्। उनको देउवासँग विभिन्न विषयमा असन्तुष्टि निरन्तर कायम छ। अर्का पात्र सिटौला कोइराला परिवारसँग निकट भए पनि सुशील कोइरालासँगको असन्तुष्टिसँगै उनको निधनपछि देउवासँग निकट भएका पूर्वमनोनित महामन्त्री समेत हुन्। उनको पूर्वी भेगमा डा.शेखर कोइराला सँगको असन्तुष्टी कायम छ। त्यसैगरी अर्का महत्वपूर्ण पात्र हुन डा. प्रकाशशरण महत। देउवालाई सँधैभरी साथ दिंदै आएका डा.महत अघिल्लो पटकको महाधिवेशनमा आफ्नै समूहको साथ नपाएर महामन्त्रीमा पराजित भएपछि नयाँ समीकरणबाट अघि बढ्ने रणनीति बनाउने अवस्थामा छन्। संस्थापन पक्षभित्र स्वभाविक दावेदार रहेका उपसभापति पूर्णबहादुर खड्का इतर भएर यो समूहलाई नयाँ समीकरणको आवश्यकता महशुस भएको निकटस्थहरू बताउँछन्। डा. महत पनि देउवालाई साथ दिएर निरन्तर सत्ता र पार्टीमा भूमिकामा रहँदै आएका पात्र हुन्।
पछिल्लो समय पूर्व महामन्त्री सिटौला राष्टिय सभा पुगेपछि राजनीतिमा खरो रुपमा उत्रिएका छन्। पार्टीमा उप सभापति भइसकेका श्रेष्ठ र निधि भने देउवाको लिगेसीका हकदारका रुपमा समूहलाई आफ्नो पक्षमा तान्ने कसरतमा छन्। अर्कातर्फ डा.शंशाक कोइराला मझधारबाट केही कोइराला लिगेसी र केही संस्थापन देउवाको साथ लिएर अघि बढ्ने नीतिमा रुमलिएका छन्। डा.महत, सिटौला र श्रेष्ठ भने अस्तित्व र अवसरका लागि समूहको संयोजन गर्ने भूमिकामा उत्रिएका छन्।
कांग्रेसको संगठनमा बलिया अनुहारका नेताहरू स्व.बीपी कोइराला, स्व.गणेशमान सिंह र स्व.महेन्द्रनारायण निधिका ३ छोराहरूले आफ्ना पिताहरूका अघिल्लतिर देखाउन सक्ने लायक काम भने गर्न नसकेको कांग्रेसभित्र आलोचना भइरहन्छ। न त सरकामा रहँदा न त कांग्रेसको संगठनका खातिर। पारिवारिक राजनीतिक संस्कार बोकेको कोइराला, सिंह र नीधि परिवारका यी ३ जना पार्टीको दोस्रो तहको पद र पटक पटक सरकारमा सहभागी भइसकेका अनुहार भएपनि क्षमता र कार्यशैली आफ्ना पिताहरूसँग नाम दाँज्न सक्ने तहमा पुछारबाट पनि जुड्दैनन्। केवल गुट र उपगुट निर्माण गरेर आफू सुरक्षित हुने दाउपेचमा देखिन्छन्।
प्रकाशमान सिहं कांग्रेसको बाह्रौं महाधिवेशनमा सुशील कोइराला खेमामा पुगेका थिए। निधि चौधौं महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उम्मेद्वार भएका थिए। तर पनि उनीहरू अन्तिममा देउवाको शरणमा पुग्नुपर्ने अवस्था आएको थियो। यो उनीहरू संगठनमा कमजोर अवस्थामा भएको प्रष्ट देखिन्छ।
महामन्त्री र उप सभापति भइसकेका ३ पुत्रहरू सिंह, कोइराला र निधि संगठनमा किन आफ्ना पिताहरू झैं रुचाइएनन त? अथावा पटक पटक पदाधिकारी र मन्त्री भएका ३ जना नेता पुत्रहरू उनीहरूका पिताको पदचापमा हिंड्लान कि भनेर कार्यकर्ताहरूले विश्वास गरेर यहाँसम्म पुगेका हुन्। उनीहरूको क्षमता र कार्यशैलीले देशभरीका कांग्रेस कार्यकर्ताहरूको त्यो विश्वासमा मलजल हुन सकेको देखिएन्। यद्यपि उनीहरूमा पार्टीको नेतृत्वमा पुग्ने चाहना कायम देखिन्छ। त्यसको अर्को पाटो पार्टी, कार्यकर्ता र देशका खातिर उनीहरूले (आफ्ना पिताको दाँजोमा नभएपनि) उल्लेख्य काम गरेका गिन्ति गरेर देखाउने विषय पनि उति भेटिदैनन्।
नैतिकता, इमान्दारीता र अनुशासनसँगै पार्टीको संगठन, देश र विधिको शासनका लागि कहलिएका उनै तीनजना स्व.कोइराला, स्व.सिंह र स्व.निधिका छोराहरूबाट नैतिकता, इमान्दारीता र अनुशासनसँगै पार्टीको संगठन, देश र विधिको शासनका पक्षमा के कति योगदान भएको छ कांग्रेस कार्यकर्ताहरूले तौल जोख गरेकै होलान। आम निर्वाचन र पार्टीभित्रका चुनावमा त्यसको नजिता देखिन्छ नै। भलै पार्टी र सत्तामा उनीहरू निरन्तर लाभ र पदमा पुगेकै छन्।
के यो वशं परम्पराको प्रभाव मात्रै हो वा उनीहरूको राजनीतिक लगानीको नतिजा हो। उसो त नेपालमा मात्रै होईन। दक्षिण एशियाको राजनीतिको घेरा र निरन्तरता यसैगरी चलेको छ। भारतमा नेहरू, गान्धी, यादव, पवार, ठाकरे उता पाकिस्तानमा भुट्टो र शरिफ परिवार बंगलादेशमा पनि र श्रीलंकामा समेत अवस्था यस्तै छ।
नेपाली कांग्रेसमा आसन्न महाधिवेशन केन्द्रीत गतिविधि अनौपचारिक रुपमा अघि बढिरहँदा कांग्रेसको नेतृत्वका लागि आकाँक्षीहरूका संख्यामा पनि बढावा भइरहेका छन्। गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौलासमेत सभापतिका आकांक्षी भएर अघि बढेका देखिन्छन्। के उनीहरूको प्रयास कारगर होला त? कांग्रेस वृत्तमा यो विषयमा चर्चा चुलिंदै गएको छ।
अर्कातर्फ संस्थापन इतर पक्षका सम्भावित सभापति सहितका पदाधिकारीका आकांक्षीहरूको ताँती पनि लामै बन्ने अवस्था देखिन्छ। कांग्रेसभित्रको अनेकन समूहका ध्रुवीकरणका विभिन्न खाले प्रयासहरू निरन्तर चलिरहेकै छन्।
माथि भनिएका ठुला नेताहरूका छोराहरूको दाँजोमा २ जना अरु पात्रहरू पनि छन्। कांग्रेसभित्र टावरंगी व्यक्तित्व स्व.गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला भने नेतृत्वका लागि आकांक्षी देखिदैन। अघिल्लो महाधिवेनमा उनी आफ्नो उम्मेद्वारीबाट निरास भएकी थिइन्। कांग्रेसभित्र क्रान्तिकारी छवि बनाएकी नेतृ स्व.नोना कोइरालाका छोरा डा. शेखर कोइराला सभापति पदका लागि स्वाभाविक आकांक्षीका रुपमा आफ्नो सक्रियता देखाइरहेका छन्।
नेपाली कांग्रेसको आसन्न महाधिवेशन कहिले आह्वान हुन्छ कुनै टुंगो छैन। मुख्य विवाद भनेको निर्धारित अवधिमा कांग्रेसको महाधिवेशन हुने हो वा होइन? यो विषयले समीकरणका कैयौं प्रयासलाई जीवन दिने सम्भावना देखिन्छ।