जोया अर्थात जलारी (भिडियाे)

 लकडाउनमा बालिबालिका –१ 

हिलाम्मे बाटो। साँघुरो खोला। जहाँ धमिलो पानी बगिरहेछ। खोलामाथि रहेको पुलमा असारे भेलले छुनै आँटेको छ। त्यही पुल नजिकै खोला किनारबाट मास्तिर उक्लिदै छिन्, जोया बुढा (७)।

उनीसँगै छन्, बालसखाहरु। जो अहिले खोलामा माछा मार्दै दिन बिताइरहेका छन्। लकडाउन नहुँदो त यतिबेला जोयाहरु उज्जवल भविश्यको खोजिगरिरहेका हुन्थे होला। बिहानै उठ्ने, गृहकार्य गर्ने, विद्यालय जाने, दिनभरी पढ्ने, साँझपख घर फर्किने हुँदो हो।

तर विगत साढे तीन महीनायता जोयाहरुको समय तालिका फेरिएको छ। दैनिकी फेरिएको छ। सम्भवत उनीहरु आफूलाई स्वतन्त्र महशुस गरिरहेका छन्। विद्यालयमा गएर घोगन्ते शिक्षा आर्जन गर्दिनन् जोया। गुरुआमाको आदेश पालना गर्नु पर्दैन।

‘छोरी/छोरा गृहकार्य गर, सरसफाइ गर, सधै जथाभावि डुल्ने होइन, ज्ञानी बन्नुपर्छ है,’ घरमा पनि आमा बुवाको कडा निर्देशन समेत पालना गर्नु पर्दैन। त्यहाँ भेटिएका मध्ये सबै भन्दा कान्छी थिइन्, जोया।

गाउँ नजिकैको एक संस्थागत विद्यालयमा एल.के.जी.मा पढ्ने उनी, अहिले खुल्ला आकाशको चरी जस्तै कावा खाइरहेकी छिन्। आफूले चाहेको गरिरहेकी छन्। कहिले हिलोमा लतपतिएर दिन बित्छ। असारे महिना भएरै होला, कहिले रोप्न जान भ्याउँछिन्। तर अधिकांश समय उनी जाने भनेको खोलामै हो। जहाँ उनी जालमा माछा पार्छिन्। पढेर होइन गरेर सिकिरहेकी छन्।

उनी कोहलपुर १४ को नयाँ बस्तीमा बस्छिन्। उनका आमाबुवा प्युठानबाट केही वर्ष अघि झरेका थिए। बुवाको नोकरी छ। आमा पनि एनजिओको जागिरे छिन्। जोया यतै जन्मिन्, हुर्किन्। यतै पढ्छिन्। एक्लो सन्तान समेत हुन्,उनी।

असार पहिलो साता भेट्दा जोया खोलामा माछा मारेर घर फर्किदैछिन्। काँधमा आफू भन्दा दुई गुणा ठूलो जाल, कम्मरमा माछा राख्ने घैला, हातमा स–साना माछा राखेको बोतल बोकिरहेकी छन्। शरिरमा एकसरो लुगा छ । नांगो खुट्टा हिडिरहेकी थिइन् उनी बाटैबाटो।

‘माछा कहाँबाट पारेको नी?’ ‘उ त्यो खोलामा।’ फिसिस्क हाँस्दै जवाफ दिन्छिन्। ‘के गर्छौ, भन्ने प्रश्नमा, सजिलै उत्तर दिन्छिन्, पढ्छु। अहिले चाही ‘माछा मार्ने। तीन जना साथी। बिहानै आएको हो।’ अलि असहज भए जसरी उत्तर दिइन्। 

उनीहरु दौडिएर गए। अलि पर पुगेपछि उनको घर भेटियो। जोयाकी आमा सरस्वती नल्कामा सरसफाईमा व्यस्त छिन्।

जोयाको विषयमा प्रश्न गरेपछि बिएल नेपाली सेवालाई जोयाका आनीबानी, स्वाभाव र लकडाउनको दैनिकी बारे यसरी सुनाइन्।

‘हामी यहाँ आएको दश वर्ष भयो। प्युठानबाट बसाइसराइँ गरि यहाँको आएको हो। उहाँ (श्रीमान) को जागिर यतै छ। सानो घर छ। परिवारमा तीन जना छौं। जोया मेरो पहिलो सन्तान हो। सात वर्षकी भइ। अलि चुल्बुले छ। यतै बोडिङ्गमा पढ्छे।

पढाई राम्रो छ। करिब चार महिना हुन लाग्यो। स्कूल लागेको छैन। कोरोना भाइरसले केट्केटीको पढाई बिगार्ने भयो। अझै कहिले खुल्ने हो थाहा छैन। हामीलाई यहाँ नानी सम्हाल्न हैरान भइसक्यो।

पहिला पहिला त घर मै पढ्ने, खेल्ने, टिभि हेर्ने गर्थी।  केही दिन भयो, छिमेकी साथीहरुसँग गइरहेकी छ। दैनिक १०–१२ वटा माछा ल्याउँछ। मैले जानु हुँदैन खोलाले बगाउँछ भन्छु। मान्दिनँ।

सानै देखि अलि जिज्ञासु छ। केही नयाँ कुरा देख्यो की आफै गर्नै पर्ने जिद्धिपन छ। माछा मार्न पनि पहिला जान्थिन। छिमेकीका साथीहरुलाई जाल बोकेर जान देखेपछि मरिहत्ते गरि। एक हप्ता बढि भइसक्यो जान थालेको। 

हिलो माटोमा लतपतिएर आउँछ साँझ। एकै छोरी हो। अलि बढि नै माया गरेर हुर्कायौं। राम्रा काम गर्न भने रोकतोक गरेकी छैन। छोरीलाई नर्स बनाउने इच्छा छ।

लकडाउनको समयमा उनीहरु प्रयोगात्मक शिक्षा सिकिरहेका छन्। विद्यालयमा भने सैद्धान्तिक कुरा मात्रै हो सिकाउने। यो एक प्रकारले नयाँ कुरा सिक्ने अवसर समेत भएको छ।’

माछा मारेर दिनु भन्दा माछा मार्ने तरिका सिकाउनु पर्ने तर्क गर्छिन् जोयाकी आमा। 

यहाँ अहिले विभिन्न विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन्। उनी पढ्ने विद्यालयले भने त्यसो गरेको छैन। कोहलपुर क्षेत्रका तीन रेडियोले अनलाइन कक्षा  सञ्चालन गरेका छन्।

जोयाको परिवारको रेडियोमा पहुँचमा छैन। उनी मात्रै होइन उक्त गाउँका अभिभावकलाई सरकारले सञ्चालन गरेको वैकल्पिक शिक्षा अन्तर्गत अनलाइन कक्षा बारेमा जानकारी छैन।

‘भविश्यमा नर्स बनी हालिन भने मानिसको शरिरको चिरफार गर्न सक्छिन् की नाई थाहा छैन। लकडाउनको समयमा साना–साना माछा मारेर राम्रैसँग चिरफार गर्न भने सक्ने भइसकिन्,’ जोयाकी आमाले हाँस्दै भनिन्।

प्रकाशित मिति: Jul 09, 2020 18:33:45

प्रतिक्रिया दिनुहोस

सबै