नवरात्री महिमा

दशैँको दोस्रो दिनकी देवी– ब्रह्मचारिणी

‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चितानन्दमय ब्रह्मस्वरुपको प्राप्ति गराउन जसको स्वभाव हो, उनलाई नै ब्रह्मचारिणी भन्दछन्। नवरात्र व्रतमा माता भगवतीको दोश्रो रूप ब्रह्मचारिणी माताको हो। नवरात्रको दोस्रो दिन यिनकै विग्रहको पूजा आराधना गरिन्छ। 

हातमा कमण्डलु र अभय मुद्रा माता ब्रह्मचारिणीको स्वरुप हो। यिनको यो स्वरुप परम शान्तिदायक र कल्याणकारी हुन्छ। माता ब्रह्मचारिणीकोे कृपाले साधकको समस्त पाप र विघ्न–बाधा नष्ट भइहाल्छ। यिनको उपाशक शेरको समान पराक्रमी र निर्भय भइहाल्दछ।

दशैंघरमा प्रथम् दिन विधिपूर्वक घटास्थापना गरिसकेपछि शैलपुत्रीको पूजा गरिन्छ भने दोश्रो दिन भगवतीको ब्रह्मचारिणी रुपको पूजा–अराधना गरी मनाइन्छ। पूजा स्थानमा श्री दुर्गा सप्तशतीको पाठ गरिन्छ।

श्री दुर्गा सप्तशती संस्कृत भाषामा विभिन्न ऋचा, स्तोत्र, मंत्र तथा कथाको रुपमा रहेको पाइन्छ। श्री दुर्गा सप्तशतीमा सप्तश्लोकी दुर्गा, श्री दुर्गाष्टोत्तरशतनामस्तोत्रम्, देवि कवच, अर्गलास्तोत्र, कीलक, वेदोक्त रात्रिसूक्त, तन्त्रोक्त रात्रिसूक्त, श्रीदेव्यथर्वशीर्षम्, नवार्णविधि तथा सप्तशती न्यासको पाठ दुर्गा पाठको पूर्वा·को रुपमा गरिन्छ।

त्यसपछि वास्तविक पाठ सुरु हुन्छ। मुख्य पाठमा जम्मा १३ अध्यायहरु रहेका छन्। ती अध्यायहरुलाई भगवतीको तीन चरित्रहरुमा विभाजन गरिएको छ। 

प्रथम चरित्रको पाठ महाकालीको अराधना तथा उनको प्रशन्नताको लागि गरिन्छ। यसमा प्रथम अध्यायको मात्र पाठ हुन्छ जसमा मार्कण्डेय ऋषिले सूर्यपुत्र सावर्णि भगवतीको अनुग्रहले कसरी मन्वन्तरको स्वामी हुन पुगे ? 

राजा सुरथले शत्रुहरुवाट पराजित भएर आफ्नो राज्य गुमाईसक्दा पनि माता भगवतीको अराधनाबाट फेरि आफ्नो गुमिसकेको राज्यश्री प्राप्त गर्न सफल भए भने कथाको साङ्गोपाङ्गो वर्णन छ। यसै अध्यायमा मधु कैटभ नामक दुई भयानक राक्षस दाजुभाइहरुको भगवान विष्णुद्वारा वध भएको बारेमा कथा वर्णित छ। 

प्रथम चरित्रपछि मध्यम चरित्रको पाठ गरिन्छ। मध्यम चरित्रमा दोश्रो, तेश्रो तथा चौथो अध्याय पर्दछन्। यी तीन अध्यायहरुमा महिषासुर वधको कथा वर्णित छ।

मध्यम चरित्रको पाठ भगवती महालक्ष्मीको अराधना तथा प्रशन्नताको लागि गर्ने गरिन्छ। यस प्रस·मा महिषासुर राक्षसका सहायक राक्षसहरु यथा–चिक्षुर, चामर, उदग्र, महाहनु, असिलोमा, बाष्कल, बिडाल, दुर्धर, दुर्मुख आदि राक्षसहरुको वधको कथा वर्णित छ।

यी दुई चरित्रपछि उत्तर चरित्रको पाठ हुन्छ। उत्तर चरित्रमा पञ्चम् अध्यायदेखि १३ अध्यायसम्म जम्मा आठ अध्यायहरुको पाठ हुने गर्दछ। उत्तर चरित्रको पाठ श्री महासरस्वतीको अराधना तथा प्रशन्नताको लागि गरिन्छ।

यस प्रसंमा चण्ड–मुण्ड, धूम्रलोचन, रक्तबीज, निशुम्भ, शुम्भजस्ता भयानक राक्षसहरुको वधको कथा वर्णित छ। तदन्तर देवताहरुद्वारा देवीको स्तुति तथा देवीद्वारा देवताहरुलाई वरदान, देवी चरित्रको पाठको महात्म्य तथा अन्त्यमा राजा सुरथ र वैश्यलाई देवीको वरदानका कथाहरु वर्णित छन्।

तीनवटा चरित्रको पाठ गरिसकेपछि फेरि विनियोग, ऋष्यादिन्यास, करन्यास, ह्दयादिन्यास, अक्षरन्यास, दिङन्यास, देवीको ध्यान गरेर नवार्ण मन्त्रको जप गरी ऋग्वेदोक्त देवीसूक्त, तन्त्रोक्त देवीसूक्त, प्रधानिक रहस्य, वैकृतिक रहस्य, तथा मूर्तिरहस्यको पाठ पढेपछि क्षमाप्रार्थना गरेर पाठको समापन गरिन्छ। 

दुर्गाद्वात्रिंशन्नाममाला, सिद्ध कुञ्जिका स्तोत्र तथा दुर्गा मानस पूजा ऐच्छिक पाठ हो। दुर्गा पाठका अन्यान्य अरु पनि पाठका प्रकारहरु अस्तित्वमा छन्। राम्रो पाठ गर्ने पाठकको लागि केही नियमहरु पनि भी निर्दिष्ट छन–माधुर्यमक्षरव्यक्तिः पदच्छेदस्तु सुस्वरः। धैर्यं लयसमर्थं च षडेते पाठका गुणाः।।

अर्थात्, अक्षराभिव्यक्तिमां मधुरता, पदच्छेदनमा निपूणता तथा सुस्वर बाट पाठ, धैर्य तथा लयसमर्थ आदि छववटा पाठक को गुण मानिन्छ।

त्यस्तै–गीती शीघ्री शिरःकम्पी तथा लिखितपाठकः। अनर्थज्ञोअल्पकण्ठश्च षडेते पाठकाधमाः।। अर्थात् छिटो छिटो गाउनु,, टाउको हल्लाई–हल्लाई पाठ गर्न, हस्तलिखितप्रति पाठ गर्न, अर्थ के ज्ञान न हुनु, कण्ठस्थ पाठ गर्नु आदि छ वटा अधम पाठकहरुको गुण हो। 

आजको लागि हामी माता भगवतीको रुपको स्मरण गरौं–ॐ बालरविद्युतिमिन्दुकिरिटां तु·कुचां नयनत्रययुक्ताम्। स्मेरमुखीं वरदाड्ढुशपाशाभीतिकरां प्रभजे भुवनेशीम्।।

प्रकाशित मिति: : 2021-10-08 09:42:00

प्रतिकृया दिनुहोस्