अन्तर्वार्ता

मलाई कुनै पार्टीकाे उम्मेदवारसँग डर छैन : जगदिस खरेल (भिडियाेसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्, जगदिस खरेल।

उनले विद्यार्थीकालमा युवा संगठनहरुमा आवद्ध रहेर काम गरिसकेका छन्। दोलखा र सिङ्गो नेपाली राजनीतिलाई नजिकबाट नियालेका खरेल अहिले आफैँ उम्मेदवार बनेका छन्। उनी एक युवा इन्जिनियर तथा सफल व्यवसायी पनि हुन्।

दोलखा जिल्लाको सर्वाङ्गीण विकासका एजेण्डा बोकेर चुनावी मैदानमा हाेमिएका उनै उम्मेदवार खरेलसंग बिएल नेपाली सेवाका लागि रविन पुन मगर (आइडु) ले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:

चुनाव नजिकिँदै छ, कस्तो छ तपाईंको तयारी?

हामीले एक महिनाभन्दा अघिदेखि नै चुनावकाे तयारी गर्दै आएका छौँ। जिल्लाका ७४ वडामध्ये २०/२५ वडामा चुनावी अभियान सञ्चालन गरिसकेका छौँ, अब बाँकी दिन अन्य वडामा पनि सकाउनु पर्ने चुनौती छ। संगठन विस्तार र चुनाव प्रसारको काम संगै लगिराखेको कारणले हामीलाई अझ बढी समय लागेको हो। र पनि हामीलाई जनताहरुले गर्नुभएको माया सार्है राम्रो भएको कारणले गर्दा त्यति ठुलो चुनौती लागेको छैन।

तपाईंहरुको पार्टी त प्रदेशसभाको चुनावमा गएन नि, यो विषयमा तपाईंको बुझाइ के छ?

प्रदेशको संरचना नै राम्रो छैन, त्यस कारण हामी प्रदेशमा गएनाैँ। त्यहाँ देशले धान्न सक्ने अवस्था छैन। त्यसैले गर्दा भोलिका दिनमा प्रदेशको संरचना हटाउनेकी सुधारेर लाने भन्ने कुरामा रुलिङ भइरहेको छ। प्रदेश सरकारका संरचना सुधार्नै पर्छ। सिङ्गो पार्टीको निर्णय हो, अहिले हामी प्रदेश सरकारमा नजानु ठिक हो।

तपाईंको राजनैतिक पृष्ठभूमि जनताले माग गर्दा के भन्नुहुन्छ नि?

राजनैतिक पृष्ठभूमि भन्दै गर्दा म कलेज जीवनमा पूर्वाञ्चल युनिभर्सिटीको नेविसंघको उपसभापति पनि थिएँ। तर म जिल्लामा त्यतिधेरै सक्रिय भइनँ। तर म भोटरको रुपमै रहेँ। नेपाली कांग्रेसमा मेरो त्यस्तो ‘पोर्टफोलियो’ केही पनि होइन। कांग्रेसलाई भोट हालेको मान्छे चाहिँ हुँ। एउटा सक्रिय कार्यकर्ताको रुपमा चाहिँ काम गरेँ।

त्यसो भए अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट किन उम्मेदवारी दिनुभयो?

मेरो उम्मेदवारी त कहीँबाट पनि तयारी थिएन। तपाईंले भन्नुभएको चाहिँ कांग्रेसमा टिकट नपाएर यता आएको भन्ने होला तर त्यसो होइन। तपाईंले जिल्लामा बुझ्न सक्नुहुन्छ, म स्थानीय चुनावबाटै निष्क्रिय भएको थिएँ। म कांग्रेस, एमाले, माओवादी कुनै पार्टीमा नजाने भन्ने कुरा थियो। म स्वतन्त्र रुपमा बाहिर आउँछु भन्ने थियो। मैले कतै टिकट माग गरेको थिइनँ। यसैबीचमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो। रवि लामिछानेज्युले गर्नुभएका पहिले र अहिलेका सबै कामको अध्ययन गर्दै उहाँलाई सपोर्ट गर्दा देशले निकास पाउँछ भन्ने आशले यताबाट उम्मेदवारी दिएको हुँ।

युवाको कुरा उठ्दै गर्दा तपाईंलाई युवा, इन्जिनियर, व्यवसायी वा अन्य के भनेर भोट दिने?

यो तीनवटै कुरा भन्दै गर्दा पनि मैले राजनीति गर्न जानेको छैन। तर मैले काम गर्न जानेको छु। काम गरेर आएको हुँ। युवा पनि हुँ। कुनैपनि काम गर्दा त्यसको रेट एनालाइसिसको कुरा हुन्छ, त्यो म जान्छु। तर अन्य उम्मेदवारहरु कोही राजनीतिबाट रिटाएर अवस्थामा हुनुहुन्छ।

विकासे एजेण्डामा काम गर्दा उहाँहरुभन्दा म जान्ने छु। उहाँहरु ५ वर्ष, १० वर्षमा आउनुहुन्छ अनि उम्मेदवार बन्नुहुन्छ। तर म यहीँ छु, मलाई यहाँको समस्या थाहा छ। तन मनले अन्यभन्दा म उत्कृष्ट छु, मलाई भोट दिनुहुन्छ। जनताहरुलाई यो कुरा थाहा छ।

तपाईं कार्यकारीभन्दा पनि नीतिनिर्माण क्षेत्रमा जाँदै हुनुहुन्छ, त्यतातिर तपाईंको तयारी के छ?

सबैभन्दा पहिले म दोलखा जिल्लाको भएको कारणले दोलखाको समग्र विकासकै कुरा लैजान्छु। नीतिनिर्माणको कुरामा म एक्लैले बनाउने होइन, राम्रो नीतिनिर्माणलाई समर्थन र नराम्रोको विरोध गर्ने हो। त्यही पनि नीतिनिर्माण त पहिले नै भइसकेको छन् तर ती कुरा व्यवहारिक रुपमा आएन भनेर मैले यो कुराहरु उठाउन खोजेको हो। नीतिनिर्माण समूहगत काम हो।

ठुलाे दलसंगै अहिले त गठबन्धन पनि छ। तपाईंको प्रतिद्वन्द्वी को हो, कोसंग डर छ?

म एक युवा हुँ। मलाई कुनै डर छैन, म डराउने भए उम्मेदवार नै बन्ने थिइनँ। स्थानीय तहमा एमाले, कांग्रेस, माओवादीलाई भोट दिएका मान्छेले अब मलाई भोट दिनुहुन्छ। मलाई कुनै पार्टी उम्मेदवारसंग डर छैन।

अहिले त चुनाव जित्नलाई पैसाको खोलो बगाउने परिपाटी छ, तपाईंले खर्च गर्न सक्नुहुन्छ?

चाहेको भए सक्थेँ, तर गर्दिनँ। किन गर्दिनँ भने इतिहास हेरेको छु मैले, दोलखामा चुनाव जित्नलाई दलहरूले पैसा बाँडेकै छन्। उहिले जनताहरु शिक्षाको रुपमा पछि हुनुहुन्थ्यो तर अहिले जनता शिक्षित भइसक्नुभयो। उहाँहरुलाई मासुभात, पैसा दिएर भोट किन्नुपर्ने अवस्था मलाई छैन।

उहाँहरुकाे स्वविवेकले भोट दिनुहुन्छ। उहाँहरुलाई पैसा कसैले दिन्छ भने खाइदिनुहोस् तर पैसा दिने मान्छेलाई भोट नदिनुस् भन्छु। किनभने त्यही मान्छेले पछि त्यो पैसा फेरि उठाउँछ, त्यो भ्रष्टाचार हो। त्यसकारणले म पैसाको खोला बगाउँदिनँ।

तपाईंहरुलाई अहिले बागमती प्रदेश समितिले चुनावी अभियान प्रशिक्षण पनि दिइरहेको छ, के यो उपलब्धिमूलक रह्यो त?

प्रशिक्षण एकदमै उपलब्धिमूलक छ। उहाँहरुले हामीमा अझै चेतनाकाे विकास गरिदिनुभएको छ। पार्टीभित्रका वास्तविक कुरा, हामीले गर्न हुने/नहुने कुराहरु सिकाउनु भयो। उहाँहरुले दिनुभएको प्रशिक्षण चुनावको यो माहोलमा एकदमै महत्वपूर्ण छ र अनिवार्य पनि हो।

अन्त्यमा, दोलखाका आम जनताले मङ्सिर ४ मा घण्टीमै भोट किन दिने?

अन्य पार्टीमा अन्तर छ। हामी विकास र निकास बोकेर आएका छौँ। हाम्रो भिजन एजेन्डा सहि छ। हामी ढुङ्गा हानेर, टायर बालेर आएका हैनौँ। हामी काम गर्ने मान्छेहरु आएका छाैँ। हाम्रो पार्टीले सम्भावना बोकेका मान्छेहरुलाई अगाडि ल्याएको छ। हामी ती पुराना पार्टीको विकल्पमा पनि छौँ। समग्र दोलखाको विकासको लागि मलाई भोट दिनुहुन्छ भन्ने मलाई विश्वास छ।

प्रकाशित मिति: : 2022-11-01 22:10:00

प्रतिकृया दिनुहोस्