कर्णाली राजमार्गको नाग्म-जुम्ला खण्डमा पहिरो

कर्णाली राजमार्गअन्तर्गतको नाग्म-जुम्ला सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। शुक्रबार राति परेकाे अविरल बर्षासँगै गएकाे पहिराेका कारण तिला गाउँपालिका १ राराको गाडगुडेनीकाे सडकखण्ड अवरुद्ध भएको हो।

झण्डै २० मिटर सडकमा पहिरो गएकोले दैनिक रुपमा बिरामी ओसारपसार गर्ने एम्बुलेन्स लगायतका अतिआवश्यक सवारीसाधनसमेत गुड्न सकेका छैनन्। 

सडक डिभिजन कार्यालयको टोली पहिरो गएको स्थानमा पुगेपनि मेसिन नहुँदा पहिरो पन्छाउन सकेको छैन। कार्यालयको जेसीभी सिंजा खण्डमा भएकोले तत्कालका लागि पहिरो पन्छाउन मजदुर परिचालन गरिएको छ। 

सडक माथिबाट ठूलाठूला चट्टान सडकमा खसेकोले पन्छाउन सकस भइरहेको ट्राफिक प्रहरी दिलानन्द भट्टले बिएल नेपाली सेवालाई जानकारी दिए। उनका अनुसार ठूलो जेसीभीले मात्र सडकको पहिरो पन्छाउन सकिने अवस्था छ।  

माथिबाट खसेको ढुंगाले सडक भास्सिएको छ। शुक्रबारदेखि ढुंगा खस्दै आएकोमा विहान मात्र ठूलो पहिरो खसेको स्थानीय बताउँछन्। रारालिही प्रहरीचौकी इन्चार्ज कृष्णबहादुर खड्का सडक खुलाउनको लागि पहल भइरहेको बताए। 

‘पहिरो निकै ठूलो भएकोले मानिस लगाएर पहिरो पन्छाउन सकिने अवस्था छैन्। जेसीभी नआउँदासम्म सडक खुल्ला जस्तो देखिदैन। सडक डिभिजन कार्यालयको जेसीभी आउने कुरा छ,’ उनले भने।

स्थानीय प्रशासन कार्यालयले शनिबार विहान ६ देखि दिउँसो ४ बजेसम्म जोरबिजोर गरेर सवारी सञ्चालन गर्ने भनिरहेको बेला सडकमा पहिरो गएकोले मर्का भएको यातायात व्यवसायी बताउँछन्। 

उनीहरुले तत्काल सडक खुलाएर निर्वाध रुपमा सवारी चल्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन्।
 

प्रकाशित मिति: : 2020-07-11 14:35:06

प्रतिकृया दिनुहोस्