नेपाल पर्यटन बोर्ड पाटा ड्रीम ट्राभल फेस्टिवलमा सहभागी

नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) द्वारा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रम ड्रीम टु ट्राभल फेस्टिवलमा उपलब्धिमूलक सहभागिता जनाएको छ।

चार सातासम्म चल्ने यो एक अनलाइन इभेन्टले विश्वव्यापी यात्रा व्यवसायहरूलाई एउटै सन्जालमा जोड्छ, र यी चुनौतीपूर्ण समयमा यात्राको लागि तयारी गराउँछ । भिजिट नेपाल कार्यक्रम अन्तर्गत उक्त उत्सवमा बोर्डले नेपाललाई कोविड १९ पछिको समयमा शरीर, दिमाग र आत्माको पुनरुत्थान र स्वास्थ्यको लागि पर्यटन गन्तव्यको रूपमा प्रदर्शन गर्‍यो। भिजिट नेपाल कार्यक्रम जुलाई ६–१० सम्म जारी रह्यो। कार्यक्रमको पहिलो दिनमा बोर्ड प्रबन्धक बिमल कँडेलले नेपाल गन्तव्यको बारेमा एक प्रस्तुति दिएका थिए।

सोही दिन प्रत्यक्ष अनुभव सत्रमा बोर्डले मोमो बनाउने प्रत्यक्ष प्रस्तुति दियो, जहाँ एक मास्टर शेफले मम पकाउने बिधि प्रदर्शन गरेका थिए। मःमः नेपालको धेरै लोकप्रिय खानामध्ये एक हो।

जुलाई ७ मा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रत्यक्ष बीबीसी न्यूज फायरसाडमा सहभागी भए। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय  रेग्मी, र नेपाल सरकार, बोर्ड तथा एस समूह होटेलका अन्य अधिकारीहरूले नेपाललाई अध्यात्मिक केन्द्रका रुपमा छलफल र प्रस्तूति गरेका थिए।

पाटा ड्रीम टु ट्राभलको नलेज सेसनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले आध्यात्मिक पर्यटन सम्बन्धी प्रस्तुति दिएकी थिइन्। प्रस्तुतिले नयाँ समयमा नेपाल केवल भ्रमण गर्ने ठाउँ वा कुनै नियमित पर्यटन गन्तव्य मात्र नभएर पुर्नताजगी र आध्यात्मिक उपचार गर्ने ठाउँ पनि भएको भन्ने कुरामा जोड दिएकी थिइन्।

भिजिट नेपाल कार्यक्रमको अन्तिम दिनमा संस्कृति अभियन्ता अनिल चित्रकारले बुद्धको जन्मस्थल लुम्बिनीका बारेमा आयोजित प्रत्यक्ष कार्यक्रममा सहभागी भए। लुम्बिनी पूर्वाधार, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, र मास्टर प्लानको बारेमा वर्णन गर्दै चित्रकारले लुम्बिनी भगवान बुद्धको जन्मस्थलको रूपमा भ्रमण गर्ने ठाउँ मात्र नभएर आफैं चिन्न सघाउने गन्तब्य भएको प्रकाश पारेका थिए।

ड्रीम टु ट्राभल फेस्टिवल, डिजिटल अनुभवकोसम्भावनाहरू मार्फत गन्तब्य र यात्रालाई एकजुट गर्ने भर्चुअल इभेन्ट हो,  जुन ४ साता सम्म चली जुलाई १७ मा सकिनेछ।

प्रकाशित मिति: : 2020-07-12 17:16:19

प्रतिकृया दिनुहोस्