२५ देशबाट २७ हजार ८ सयको हवाई उद्धार, तर बेखर्ची श्रमिक विदेशमै अलपत्र

केदार दाहाल/मुना कुँवर

विदेशमा अलपत्र परेका नेपालीलाई हवाइमार्गबाट नेपाल ल्याउन ३२ जेठबाट शुरु पहिलो चरणको उद्धारमार्फत २५ देशबाट २७ हजार ७ सय ८० जनाको उद्धार गरिएको छ । तर, विदेशमा रोजगारी गुमाएर बेखर्ची बनेका ठूलो संख्याका नेपाली श्रमिकलाई भने सरकारले उद्धार गरेन । बेखर्ची श्रमिकलाई विदेशबाट निःशुल्क उद्धार गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश सरकारले हालसम्म पनि पालना नगर्दा रोजगारी र आम्दानी गुमाएर अलपत्र परेका कामदार विदेशमै अलपत्र परेका हुन् । सामान्यभन्दा दोब्बरभन्दा महँगो भाडाका चार्टर फ्लाइटको टिकट खरिद गर्ने नेपालीलाई मात्रै सरकारले नेपाल फर्काइरहेको छ ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका तर भिसा अवधि बाँकी रहँदै बेरोजगार भएका बेखर्ची श्रमिकलाई उद्धार गर्न सर्वोच्चले १ असारमा आदेश दिएको थियो । सर्वोच्चको आदेशअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७’ को मस्यौदा बनाए पनि मन्त्रिपरिषद्ले पारित गरेको छैन । श्रम मन्त्रालयले कार्यविधिको मस्यौदा मन्त्रीपरिषद्मा पेश गरेको एक साता भए पनि हालसम्म पारित नभएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । 

प्रकाशित मिति: : 2020-07-13 08:14:56

प्रतिकृया दिनुहोस्