काठमाडौं र ललितपुरका चार फर्मविरूद्ध मुद्दा, पौने चार अर्बको बिगो

काठमाडौं र ललितपुरका चार कम्पनीलाई पौने चार अर्ब बिगो माग्दै उच्च अदालत पाटनमा राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। 

भन्सार, मूल्य अभिबृद्धि कर र आयकर छलेको अभियोगमा काठमाडौं-१७ सोह्रखुट्टेको हाइटेक इन्टरनेशनल प्रा.लि. र ललितपुर-२ का जेएसएस मोबाइल सर्भिसेज, श्री श्याम इन्पेक्स र श्री श्याम बाबा इन्टरप्राइजेजविरूद्ध विभागले तीन अर्ब ८२ करोड बिगो माग्दै बुधबार अदालतमा मुद्दा दायर गरेको हो। 

हाइटेक इन्टरनेशनलले दुई अर्ब ४२ करोड ९८ लाख बराबरको राजश्व चुहावट गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। सो कम्पनीका सञ्चालकसमेत दुई जनालाई उक्त बिगो, जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको मैनालीले बताए। 

हाइटेकले भन्सार बिन्दुबाट मालवस्तु पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी लुकाइछिपाइ चोरी पैठारी गरेको अनुसन्धानमा देखिएको छ। सो कम्पनीले धेरैजसो मालवस्तुको ‘लुज’ बिल र न्यून विजकीकरण गरी एक अर्ब ७१ करोड ५६ लाख २८ हजार १११ भन्सार, मूल्य अभिबृद्धि कर ५९ लाख २८ १३ ८० र १२ करोड १४ लाख ३४ हजार ९४९ लाभांश कर छलेको विभागको दाबी छ। 

जेएसएससहितका तीन कम्पनीका प्रोप्राइटरसहित चार जनालाई एक अर्ब ३९ करोड ७ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ। भन्सार नतिरी पटक-पटक अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याई बिल बीजक जारी नगरी बिक्री गर्ने गरेको पाइएपछि ती कम्पनी अनुसन्धानमा तानिएका थिए। 

ती कम्पनीले भन्सार चुहावटतर्फ एक अर्ब एक करोड ९८ लाख २३ हजार ७१७, ३२ करोड २४ लाख ६३ हजार ३९ र लाभांश कर चार करोड ८५ लाख १५ हजार २१९ रुपैयाँ छलेको विभागले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-15 15:33:03

प्रतिकृया दिनुहोस्