नेकपा संकटको मूल कारण ओली–प्रचण्डबीचको यस्तो अविश्वास, पार्टी फुटाउने हल्लाले प्रचण्डलाई ‘ब्याक फायर’

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री निवास, बालुवाटारमै असार १८ गते स्थायी कमिटी बैठकमा जानकारी दिए– प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदै छन् । ४० प्रतिशतभन्दा कम सांसद्को समर्थनमा पार्टी फुटाउनसक्ने व्यवस्था गरिँदैछ । उनले पार्टी फुटाउँदै छन् ।

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको सिफारिश रोक्न बालुवाटारबाट राष्ट्रपति कार्यालय दौडिएका उनले त्यहाँबाट फर्किएपछि बालुवाटारमै स्थायी कमिटी सदस्यहरुलाई यस्तो जानकारी दिएका थिए । करिब एक घण्टा कुरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे पनि सरकारको निर्णय कार्यान्वयन गर्नबाट रोक्न नसकेका उनले यस्तो खबर लिएर फर्केका थिए । 

परिस्थितिबारे प्रचण्डको ‘बिफ्रिङ’ सँगै नेकपा वृत्तमा अध्यादेश र पार्टी विभाजनको हल्ला फैलिएको थियो । कार्यकारी अध्यक्षले नै पार्टी फुट्ने बताएपछि स्थायी कमिटी सदस्यहरुले न पत्याउने कुरै भएन । यो खबर देशभरि फैलियो– आगो सरी । अनि आ–आफ्ना गुटका नेतालाई तलदेखि फोन गरेर सोध्ने लहर चल्यो । गुट फरक पर्नेले अर्को गुटका नेतालाई मान्छे मन परे पनि माथिको गुटका कारण सँगै जान नसक्नेसमेत जानकारी गराए । अर्थात्, मानसिक विभाजन तलसम्म एकसाथ भयो ।  

त्यसै साँझ मन्त्री रहेका एक स्थायी कमिटी सदस्यले बताएका थिए, ‘प्रचण्डजीले राष्ट्रपतिलाई सोध्नुभएछ– अध्यादेश पनि आउँदै छ ? राष्ट्रपतिजी जवाफ दिनुभएछ– अहिले आइसकेको छैन । भोलि २५–३० प्रतिशत सांसद्ले अर्को पार्टी बनाउन सक्ने गरी अध्यादेश जान्छ होला । त्यसपछि फुट्छ ।’

यो विश्लेषण आफैँमा अपरिपक्व थियो । त्यसो गरेर दल फुटाउँदा प्रधानमन्त्री ओलीको सत्ता निरन्तर हुन सक्दैनथ्याे । संविधानले अहिलेकै अवस्थामा प्रधानमन्त्रीलाई  संसद् विघटन गर्ने अधिकार पनि दिएको छैन । आफू सत्तामा पनि नरहने गरी पार्टीको एक नम्बर नेता सत्तासीन प्रधानमन्त्री ओलीले पार्टी कसरी फुटाउलान् र ! भन्ने सहजै अनुमान गर्न सकिन्थ्याे । तर, ओलीले पार्टी फुटाउन लागे भन्ने कार्यकारी अध्यक्षको भनाइतिरै सबैकाे विश्वास रह्यो । अनि कोही एकता जोगाउने अभियानतिर लागे । कोही चाहिँ तत्कालै बहुमतका आधारमा निर्णय गरेर अगाडि जानुपर्छ भनेर फूटलाई नै समर्थन गर्नेतिर अभियान चलाए । यो अझै जारी छ । 

नेकपाका इमान्दार नेता–कार्यकर्ता फूटको विपक्षमा छन् । साविक एमालेका ‘माधव नेपाल पक्ष’ का जिल्ला तहका नेता–कार्यकर्ता नेपालले तृतीय अध्यक्ष भएर पार्टीलाई एकजुट बनाउन क्रियाशील हुनुपथ्र्यो भन्ने पक्षमा छन् । साविक माओवादीका पनि नेता–कार्यकर्ता फूटको विपक्षमा छन् । भारतीयको साथ–समर्थन देखिने गरी आएको प्रचण्डको अभिव्यक्तिसँग सन्तष्ट छैनन् । यसको प्रभाव स्थायी कमिटीभित्रै साविक माओवादीको मसाल स्कुलिङका नेताहरुमा देखिइसकेको छ । ओलीले पार्टी फुटाउँछन् भनेर प्रचण्डले गरेको ‘ब्रिफिङ’ ले उनलाई हलुका बनाएको छ । स्थायी कमिटी र पार्टीभित्रको समीकरणमा पनि ‘व्याक फायर’ गरेको छ । यसको असर आगामी दिनमा पनि अवश्य पर्ने छ । 

कोरोना महामारीबीच आह्वान गरिएको संसद्को बजेट अधिवेशनको ‘मुख्य विजनेश’ सकिएको थियो । पार्टीभित्रैबाट घेराबन्दी महसुस गरेका प्रधानमन्त्रीले हठात अन्त्य गरिदिएका थिए । मन्त्रिपरिषद्को निर्णय पनि यति छिटो गरियो कि कतिपय मन्त्री त साविकजस्तै सम्झेर ढिला गरी पुगेका थिए, के निर्णय हो भन्ने पत्तो नपाउँदै निर्णय शितल निवास पुगिसकेको थियो ।

स्थायी कमिटी डाकिएको समयमा प्रधानमन्त्रीले अकस्मात मन्त्रिपरिषद् बैठक डाकेका थिए तर प्रधानमन्त्रीले प्रचण्डलाई मन्त्रिपरिषद् बैठकअघि नै संसद् अधिवेशन अन्त्य गर्न लागेको बताएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ । तर, मन्त्रिपरिषद् बैठकलगत्तै प्रचण्डको त्यस दिनको दौडधूप, प्रधानमन्त्रीसँग यसबारे शितल मनले छलफल गर्नुको साटो अध्यादेश ल्याउने आशंका र त्यसपछि कमजोर अवस्थामा रहेका केपी ओलीले पार्टी फुटाउने विश्लेषणसहितको ‘ब्रिफिङ’ ले नेकपाका दुई नेताबीचको अविश्वास कुन तहमा पुगिसकेको रहेछ भन्ने प्रष्ट पार्छ । 

कार्यकारी अध्यक्षले नै पार्टी फुट्ने अवस्थाको व्याख्या गरेपछि छाँगोबाट खसेजस्तो अवस्थाका नेकपा कार्यकर्ताहरु आ–आफ्नो गुट समाउन पुगेका छन् । त्यसपछि करिब एक सातासम्म लगातार पार्टी फुट्ने विश्वासका साथ हल्ला चलेपछि विभिन्न हस्ताक्षर संकलन, फूटविरुद्धका अभियान चले । बल्ल–तल्ल दुई अध्यक्षबीच बैठक बसाउन दोस्रो तहका नेताहरु सफल भए । माथिल्ला तीन गुटमै लामबद्ध स्थायी कमिटी बैठकले झन फूटलाई नै बढावा दिने देखेका नेताहरुले पुनः स्थायी कमिटीमा आएका विषयलाई दुई अध्यक्षमै फर्काए ।   

त्यसपछि नकारात्मक उर्जा नै प्रवाह भएको सही, पार्टी एकता घोषणाको २६ महिना लाग्दा नेकपाका तीनै खेमा सक्रिय भए । प्रधानमन्त्रीको समर्थनमा देशभरि जुलुश निस्किए । साविक माओवादी केन्द्रले पनि सरकारविरुद्ध मैदानमा उत्रियो । कताकति भिडन्त समेत भए । 

नेकपाका दोस्रो तहका तीनै गुटका प्रभावशाली स्थायी कमिटी सदस्यहरु फुट्न नहुने सन्देश प्रवाह गर्न क्रियाशील भए । दबाब समूह बने । फुटबाट बचाउने समूहको संयोजन घनश्याम भुसालले गरे जसलाई प्रधानमन्त्रीनिकट समूहबाट शंकर पोखरेलको साथ दिएको देखियो । फूटमै व्यक्तिगत लाभ देख्ने केही सचिवालय र स्थायी कमिटी सदस्य भने नेकपाभित्र दन्केको आगोमा आफ्नो रोटी सेकाउन क्रियाशील भए । क–कसले के–के गरे भन्ने सबै प्रष्ट छ । 

असार १८ गतेदेखि एक साता नेकपा फुट्ने हल्ला प्रवल भयो । फुट्न नदिने प्रयास र दौडधूप पनि त्यही अवधिमा भयो । बालुवाटार र खुमलटारमा कति पटक गुटका बैठक बसे ? त्यसबाहेक कोटेश्वर र भैंसेपाटीमा पनि छलफल भए । सबैभन्दा चर्चित त झम्सिखेलस्थित अँगेनु रेष्टुरेन्टको ‘डिनर मिटिङ’ भयो । यसलाई ‘खुमलटार’ पक्षले कित्ता प्रष्ट गर्ने बैठक भनेर प्रचार गरेको थियो ।

सबैभन्दा प्रभावशाली सक्रियता चाहिँ चिनिया राजदूत होउ यान्छीको रह्यो । प्रधानमन्त्री ओलीलाई कम्युनिष्ट भाषामा भन्दा ‘प्रधानशत्रु’ नै घोषणा गरिसकेको छ– भारतीय मिडियाले । त्यही शैलीमा चिनिया राजदूत यान्छीलाई पनि लाञ्छित गरेको छ । यतिसम्म कि उनले प्रधानमन्त्री ओलीसँग हिन्दीमा संवाद गरेको भिडियोसम्म बनाएको छ । अनि प्रचण्डलाई ‘हमारे आद्मी’ भन्नसम्म चुकेको छैन । भारतीय पक्षले ओलीलाई गाली र प्रचण्डलाई ताली बजाउँदा त्यसको नेपालभित्र पर्ने असर भने प्रशंसकहरुले अनुमान नै गरेका छैनन् ।

अहिलेको नेकपा विवादको पृष्ठभूमि जेठ १० गते नेकपा स्थायी समिति बैठक सुरु हुनुभन्दा अघि नै तयार भइसकेको थियो । सचिवालय बैठकमा नै प्रकट भइसकेका थिए । दुई महिनाअघि बैशाख २० गते सचिवालय बैठकमा प्रधानमन्त्री ओली र प्रचण्ड दुवैले आत्मलोचना गरेर त्यसअघिको विवाद टुंगिएको घोषणा गरेका थिए तर जेठ ५ गते सरकारले लिपुलेक–लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि ओलीमाथि भारतीय दबाब बढ्यो । असार १० गते सुरु भएको स्थायी कमिटी बैठकको उद्घाटनमै प्रचण्डले आफूले प्रधानमन्त्री पदको दाबी छाडेकोमा पश्चात्ताप गरे, प्रधानमन्त्रीको चर्को आलोचना गरे ।

ओली पक्ष विश्वास छ– भारतीय गुप्तचर संस्था ‘रअ’ ले सरकारविरुद्ध नेकपाका नेतालाई उचालेको छ । एकजुट बनाएको छ । नक्सा जारी गर्ने सरकारलाई ढालेर देखाउन खोजेको छ । प्रधानमन्त्री मात्र होइन, राष्ट्रपतिसमेत फेर्ने योजना खुमलटारमा बनेको छ । राज्यकै संयन्त्रबाट सूचना प्राप्त गर्ने प्रधानमन्त्रीलाई आफूविरुद्धको योजनाबारे अन्य नेतालाई भन्दा बढी जानकारी हुनु स्वाभाविक हो । शायद् यस्तै सूचनाको आधारमा प्रधानमन्त्री ओलीले असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बताए– ‘मलाई हटाउन भारत र पार्टीभित्रका नेताहरु लागिपरेका छन् ।’ 
उक्त अभिव्यक्तिपछि ओलीविरोधी गुटको बैठक बस्यो– खुमलटारमा । असार १५ गते बिहान माधव नेपाल, वामदेव गौतम प्रचण्डनिवास पुगे । झलनाथ खनाललाई फोनमा कुरा गरियो । अनि बैठकमा प्रचण्डले यसबारे बोल्ने योजना बन्यो । त्यसै दिनको स्थायी कमिटी बैठकमा प्रचण्डले भने, ‘भारतले हटाउन खोजेको होइन, मैले हटाउन खोजेको हुँ । राजीनामा दिनूस् ।’ यो घटनापछि विवाद छताछुल्ल भयो ।

अनि संसद् अधिवेशन अन्त्य र राष्ट्रपतिमाथि अविश्वाससम्मका कुरा आएका हुन् । नेकपाका तीन गुटमध्ये दुई गुट एकतिर भएर ओली पक्षलाई एक्ल्याएको अहिलेको परिस्थितिमा बहुमतले निर्णय गरेर ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट च्यूत गर्नुपर्ने दबाब प्रचण्डमाथि छ । तर, ओली पक्ष भने दुई अध्यक्षको सहमतिबाट मात्र चल्ने हुनाले बहुमतले निर्णय गर्न नसक्ने अडानमा छ । 

यसै सिल्सिलामा दुई अध्यक्षबीच सात पटक बैठक भइसकेको छ । पछिल्लो समय ओली–प्रचण्ड एक्लाएक्लै बस्दा सौहाद्र्र कुराकानी हुन थालेको छ । बालुवाटारबाट जाँदा मिल्यो–मिल्यो हुने फेरि गुटमा छलफल गरेपछि प्रचण्डले  निर्णय लिन नसक्ने गरेको ओली पक्षको बुझाइ छ । दुई अध्यक्षबीच सात पटक भएका वार्ता परिणामबिहीन भएका छन् । 

भारतीय मिडियाले प्रधानमन्त्री ओलीलाई सम्झौता नै हुन नसक्ने ‘प्रधानशत्रु’ घोषणा गरिसकेका छन् । भारतसँग जोरी खोज्नेको कसरी धुलोपिठो हुन्छन् भन्ने विश्लेषण गरिसकेका छन् । अनि ‘हमारे आद्मी’ भन्दै आफ्ना ‘मित्रशक्ति’ भनेर नेकपाकै अर्का अध्यक्ष प्रचण्डको प्रशंशा गरिरहेका छन् । नेपालमा हेर्नै नसक्ने समाचार प्रशारण गरेपछि भारतीय मिडिया नेपालभित्र प्रशारण नै बन्द गरिएको छ । 

चिनियाँ राजदूतको शीर्षनेतासँग भेटघाट लगत्तै नेकपाको विवाद केही मत्थर हुने दिशामा अघि बढेको छ । यसैबीच कार्यकारी अध्यक्ष प्रचण्डले तीन दिन काठमाडौं छाडेर पुनः काठमाडौं फर्किएका छन् । त्यसपछि भएका दुई बैठकमा पनि कुनै सहमति हुनसकेको छैन । पार्टीमा यत्ति ठूलो संकटका बेला प्रचण्डको तीन दिन चितवन भ्रमणलाई सरकारी पक्षले फेरि शंकाको दृष्टिले हेरेको छ । स्थायी कमिटीकै नेताहरु प्रचण्ड राजनीतिक भेटघाटका लागि पर्साको सीमावर्ती क्षेत्र ठोरीसम्म पुगेको भन्ने सूचना आएको कानेखुशी गरिरहेका छन् । यस्तै आशंकाबीच फेरि प्रधानमन्त्री ओलीले अयोध्याबारे विवादास्पद भाषण गरेका छन् । पुनः भारतीय पक्ष बिच्किएको छ ।

दुई अध्यक्षबीच सहमतिका लागि क्रियाशील नेताहरुका कुरा सुन्दा नेकपा भौतिक रुपमा तत्कालै फुट्ने संभावना टरेजस्तो देखिन्छ । त्यसको एकमात्र कारण फुटेपछि दुबै पक्ष सकिन्छौँ भन्ने डर हो । नेकपा स्थायी कमिटी सदस्य रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले त प्रचण्डलाई खुमलटार गएर प्रष्ट शब्दमै भने, ‘फुट्यो भने यो वा ऊ भन्ने होइन, सबै एक साथ सकिन्छौँ । पश्चिम बंगालबाट शिक्षा लिनुपर्छ ।’
अहिलेसम्मको विवादले नै संघीय संसद्मा दुईतिहाई, छ वटा प्रदेशसभामा भारी बहुमतसहित प्रदेश सरकार बनाएको र दुईतिहाईभन्दा बढी स्थानीय तह जितेको  नेकपालाई मानसिक रुपमा अत्यन्त कमजोर बनाइसकेको छ । नेकपाका नेता–कार्यकर्ता पराजित मानसिकताका साथ शीर निहुँ¥याउने अवस्थामा पुगिसकेका छन् । शंकैशंकाबीच एउटाले अर्कोलाई पाएसम्म छिर्के हान्ने तहको सम्बन्धले नेकपा भौतिक रुपमा नफुटे पनि आगामी दिनमा शक्तिहीन हुँदै जाने छ । भौतिक रुपमा नै फूटको अवस्थामा पुग्यो भने त नेपाली कम्युनिष्ट आन्दोलन नै एकादेशको कथा बन्ने निश्चित छ । 
 

प्रकाशित मिति: : 2020-07-16 00:13:00

प्रतिकृया दिनुहोस्