राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवका लागि २७ जनाको आवेदन परेको छ। ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ लागू भएसँगै खालि रहेको सदस्यसचिव पदका लागि पहिलोपटक खुला आवेदन मागिएको हो।
बिहीबार आवेदनको अन्तिम दिनसम्म २७ जनाको आवेदन परेको हो। सदस्य सचिवका लागि आवेदन दिनेहरुमा निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालसँगै ललितपुरका रोशन महर्जन, भरतपुरका अनिल अधिकारी, सोलुखुम्बुका हर्कबहादुर राई, सुनसरीकी मिना श्रेष्ठ, डडेलधुराका शिवराज भट्ट, बाग्लुङ्गका लिलबहादुर थापा, काठमाडौंका रवि राजकर्णिकार, काठमाडौंकै अचुतम लामिछाने, ललितपुरकी निलम सिंह बज्राचार्य, झापाका मेघराज पौडेल रहेका छन् ।
यस्तै काठमाडौंका रामेश्वर श्रेष्ठ, ललितपुरका अच्युत खनाल, पोखराका मनबहादुर गुरुङ, मोरङ्गका विजयकुमार राई, काठमाडौंका सानुराजा केसी र किशोर शाही, ललितपुरका अन्जु श्रेष्ठ, सुदिल शाही, काठमाडौंका रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, बाजुराका खेमराज अधिकारी, काठमाडौंका राम पुडासैनी, ललितपुर सुनिल नकर्मी, काठमाडौंका रणबहादुर चन्द, मकवानपुरका दिपेन्द्र ढकाल र कास्कीका तेजबहादुर गुरुङले सदस्य सचिव पदका लागि निवेदन दिएका छन् ।
निलम बज्राचार्य र अन्जु श्रेष्ठ पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी हुन्। यस्तै अनिल अधिकारी नेपाल क्रिकेट संघको बागमती कोषाध्यक्ष हुन्। रवि राजकर्णिकार एथ्लेटिक्स संघमा आबद्ध छन्।
यस्तै पहिलो आवेदन दिने रोशन महर्जन गएको १० वर्षदेखि नेपाल व्यायाम मन्दिरमा कार्यसमितिमा नै रहेर काम गरिरहेका व्यक्ति हुन्। उनी शारीरिक सुगठनका निर्णायक पनि हुन्। राजनीतिक हस्तक्षेप नभइ स्वतन्त्र रुपमा सदस्य सचिवको छनोट हुने हो भने आफू स्वतः सदस्य सचिवमा छनोट हुने महर्जन बताउँछन्।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिमबहादुर रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समितिले आवेदन दिनेमध्येबाट एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा पेश गर्नेछ।
तोकिएको समयभित्र प्राप्त कार्ययोजनाहरुलाई सिफारिस समितिले अध्ययन गर्ने र कुनै उमेदवारलाई सिफारिस समितिले थप स्पष्ट हुन चाहेमा बैठकमा बोलाई छलफल गर्न सक्ने कार्यविधिमा उल्लेख छ।
मन्त्रालयले मन्त्रीपरिषदमा पेश गरेको तीन नामबाट एक सदस्य सचिव हुनेछन्। त्यसरी मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदबाट नियुक्त भएका सदस्य सचिवको कार्यकाल चार वर्षको रहनेछ।