खुमलाटारकाे बैठकपछि प्रचण्ड र नेपालले ओलीलाई भने: अब प्रधानमन्त्रीबाट राजीनामा दिनुस्

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन्।

बुधबार दुई अध्यक्ष ओली र दाहालबीच भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार प्रधानमन्त्री निवासनेपालसहितको त्रिपक्षीय संवाद भएको हो। छलफलमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन्।  

यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए। बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समितिका  ६ नेता प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको छलफलमा पनि प्रधानमन्त्रीको राजीनामा माग्नाे अडान कायम राख्ने सहमति भएको एक नेताले बताए।

'अब स्थायी समिति बैठक अगडि बढाउनुपर्छ,' एक नेताले भने,'स्थायी समिति बैठकमा छलफल गरेर एउटा निर्णय लिनुपर्छ। त्यसलाई प्रधानमन्त्रीले मान्नुपर्छ।'

एजेन्डा र प्रधानमन्त्रीको राजीनामाको विषयमा नेकपामा अहिले दाहाल र नेपाल एउटै समूहमा छन्। १० असारबाट जारी स्थायी कमिटी बैठकमा दाहाल र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् भने प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान दोहोराइरहेका छन् । बुधबार दाहालसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीको यही अडान थियो । बरु उनले चाँडो महाधिवेशन गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पदबाट राजिनामा मागेपछि नेकपाभित्रको अन्तरद्धन्द्ध ह्वात्तै बढेर गएको हो । 

ओली विरुद्ध अर्का अध्यक्ष दाहालसहित, नेता नेपाल, अर्का नेता झलनाथ खनालसहितको टोली सक्रिय भएपछि नेकपाको स्थायी समिति बैठकसमेत पटक पटक स्थगित हुन पुगेको छ । 

समस्या समाधानका लागि दुई अध्यक्ष बीच पटक पटक छलफल भए पनि निकास निस्कन सकेको छैन् । 

पछिल्लो पटक दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ।

प्रकाशित मिति: : 2020-07-16 14:29:57

प्रतिकृया दिनुहोस्