‘त्यो मै हुँ’ भन्ने....

छन्द - उपजाति 

जो  गर्छु मैले पछिबाट  गर्ने
विरोधमा फेरि अगाडि सर्ने
बुझ्नै न सक्ने भन के छ भित्र
“त्यो मै हुँ” भन्ने रिपु हो कि मित्र

केही न जान्दा अतिनम्र  बन्ने
थोरै बुझेमा दुनियाँ न गन्ने 
कृतघ्नताको उसमा छ चित्र 
“त्यो मै हुँ” भन्ने रिपु हो कि मित्र

“वा-वाह”मा नै बहुमान्य मान्दा
मै एक सर्वज्ञ भनेर ठान्दा
दुर्गन्ध बन्दो भ्रमजन्य  इत्र 
“त्यो मै हुँ” भन्ने रिपु हो कि मित्र

बिर्को  कहीँ छैन सबै छ नाङ्गो 
त्यस्मा छ सानो  उपनाम  बाङ्गो 
बुझिन्छ भाषान्तरमा पवित्र 
“त्यो मै हुँ” भन्ने रिपु हो कि मित्र

यो काव्य देखेर अवश्य अर्को
लेखिन्छ काव्योत्तर काव्य चर्को 
के द्वेष हो यो, भगवन् ! विचित्र
“त्यो मै हुँ” भन्ने रिपु हो कि मित्र

नक्कल गर्न छोडेर, प्रयोग गर अक्कल
त्यसपछि सबै कार्य बन्नेछन् निजी सक्कल

प्रकाशित मिति: : 2020-07-18 14:42:00

प्रतिकृया दिनुहोस्