नेपाली प्रधानमन्त्री केपी ओलीले तताएको अयोध्या मुद्दा, ५ अगस्टमा भूमि पुजन (भिडियो)

आदिकवि भानुभक्त आचार्यको जन्म दिवसमा प्रधानमन्त्री केपी ओलीले अयोध्या भारतमा नभई नेपालमा भएको र राम नेपालमा जन्मिएको बयान दिएपछि भारतमा यसको प्रभाव देखिन थालेको छ। 

नेपाली प्रधानमन्त्रीको बयानपछि उत्तर प्रदेशको लखनउस्थित अयोध्यामा भगवान रामको मन्दिर बनाउने कामलाई भारत सरकारले तिब्रता दिने छाँट देखिएको हो।

अयोध्यामा राम मन्दिर बनाउन ५ अगस्टमा भूमि पुजन गरिने भारतीय अखबारहरूले बताएका छन्। अयोध्यामा १६१ इन्चको राम मन्दिर बन्ने तय भएको छ। श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अनुसार ३ देखि साढे ३ वर्षको भित्र मन्दिर निर्माणको काम पुरा हुनेछ। 

मन्दिर निर्माणका लागि देशका १० करोड परिवारसँग आर्थिक सहयोग अपेंक्षा गरिएको पनि ट्रस्टले बताएको छ। ट्रस्टले शनिबार प्रधानमन्त्री कार्यालयलाई ३ र ५ अगस्टमा भूमि पुजनको तिथि पठाएको थियो। भारतीय अखबारहरूका अनुसार प्रधानमन्त्री कार्यालयले ५ अगस्टको समयलाई स्विकृति प्रदान गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भूमि पुजनमा समावेश हुने आशा गरिएको छ। 

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष नृपेन्द्र मिश्रको संयोजकत्वमा १२ सदस्यीय टोलीको शनिबार बैठक भएको थियो। जसमा तीन सदस्यले भिडियो कन्फ्रेन्सिङमार्फत भाग लिएका थिए। ट्रस्टका महासचिव चम्पत रायले बताएअनुसार मनसुनको समय समाप्त भएपछि मन्दिर निर्माण कार्यले तिब्रता पाउने छ। 

करिब अढाई सय वर्षदेखि विवादित बनेको राम जन्मभूमि–बाबरी मस्जिद मुद्धामा यसै वर्ष सर्वोच्च अदालतको अन्तिम निर्णय बाहिर आएको थियो। जसमा सर्वोच्चले अयोध्यामा राम मन्दिर बनाउन फैसला दिएको थियो। फैसला भएको लामो समय बितिसक्दा पनि काम सुरु भएको थिएन।

तर, सीमा विवादलाई लिएर नेपाल–भारतबीच सम्बन्ध चिसिरहेको बेला नेपाली प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा भएको तथा भारतले सांस्कृतिक अतिक्रमण गरेको बयान दिएका थिए। ओलीको बयान आएको सातादिन नबित्दै ट्रस्टले बैठक बसेर शिलान्यास गर्ने कामलाई अगाडि बढाउने निर्णय गरेको हो।

यो पनि हेर्नुहोस्

कालापानी जानुपर्ने प्रधानमन्त्री, किन लागे अयोध्यातिर?

अयोध्या फैसला: विवादित जमिन हिन्दू पक्षलाई मन्दिर बनाउन दिने

अयोध्यामा राममन्दिर बन्ने भएपछि हिन्दू स्वयंसेवक संघले पशुपतिमा गर्यो दिप प्रज्जवलन

प्रधानमन्त्री ओलीको भगवान रामसम्बन्धि बयानपछि भारतको अयोध्यामा मन्दिर बनाउने अभियानले तीब्रता लिँदै

प्रकाशित मिति: : 2020-07-19 15:46:56

प्रतिकृया दिनुहोस्