अन्य कम्युनिस्ट नेताको नजरमा नेकपा विवाद– सिद्धान्त होइन लेनदेन र स्वार्थको लडाईं !

सरकार समेत हाँकिरहेको नेपालको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको संकटलाई पार्टीका ८ लाख कार्यकर्ता मात्र होइन, स्वदेश र विदेशमा रहेका धेरै नेपाली र भारतीय मिडियाले समेत चासोका साथ हेरिरहेका छन् ।

चालू पाचौं स्थायी कमिटी बैठकमा सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवादले संकटको रूप लिएको थियो । 

संकट समाधानका निम्ति नेताहरूले व्यक्तिगत र सामूहिक पहल जारी राखेका छन् । ओलीले राजीनामा दिनैपर्छ भन्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूले आफ्नो यही अडानलाई बटमलाइन बनाएका छन् भने ओली पक्षका नेताहरूले नेतृत्व हस्तान्तरण गर्ने उपयुक्त थलो महाधिवेशन रहेको भन्दै तत्काल प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन नहुने अडानमा अडिग छन् । 

यही विवादका कारण गत असार १० गतेबाट शुरू भएको नेकपाको स्थायी कमिटी बैठक पटक–पटक स्थगनको मारमा परेको छ । नेकपामा शीर्ष नेताहरूले गर्ने व्यक्तिगत समझदारी मान्य नहुने र स्थायी कमिटी बैठकले नै निकास दिनुपर्ने मत राख्ने नेताहरू पनि धेरै छन् तर आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्री ओलीले बैठकको सामना गर्ने हिम्मत राख्न सकेका छैनन् ।

प्रकाशित मिति: : 2020-07-24 00:14:25

प्रतिकृया दिनुहोस्