आस्था 

( मन्दाक्रान्ता छन्द )

विष्णु पन्थी

याँगौं, म्यान्मा

आस्था हो जान अटल तिमी वास गर्ने मनैमा
आस्थाले दिन्छ सहजपना दिव्य ऊर्जा तनैमा
आस्थानै हो अटल रहने नित्य श्रद्धा स्वरूप
आस्थावान् ती असल जन हुन् रंक हुन् या त भूप॥१॥

आस्थाले मार्ग कुशल गरी लान्छ उत्थान गर्दै
आस्थामा आश्रित जनहरू बाच्दछन् ज्ञान छर्दै
आस्था ब्रह्माण्ड जगत पिता राम कृष्णादि बुद्ध
आस्था नारायण शिव मही विश्व गर्ने विशुद्ध॥२॥

आस्था ॐकार सहित हुने गूँज वेदान्त तत्व
आस्थामा सम्मिलित गरिँदा फुर्छ यसको महत्व
आस्थाले नित्य सुमति दिने साथ संगै रहेर
आस्थाले जीवन सुखमयी पार्छ साथी बनेर॥३॥

आस्था विस्तारित हुनगयो बाँडियो बेसहाय
हिन्दू बौद्धादि मत र कतै भिन्न छन् सम्प्रदाय
जे चाहे मान्न पनि सकिने आज आस्था भनेर
ती आस्थाले जनहित गरून् शान्तिदाता बनेर॥४॥

प्रकाशित मिति: : 2020-07-25 15:30:00

प्रतिकृया दिनुहोस्