यात्रा अनुभव

सिस्नेकाे काखमा एक निन्द्रा (तस्बिरहरु)

BreaknLinks
BreaknLinks

मलाई घुम्न भनेपछि असाध्य मनपर्ने। चाहे त्याे नेपालमै हाेस् वा विदेशमा, घुम्न र नयाँ कुरा बुझ्न पाएपछि हुरुक्कै हुने, म। भनिन्छ नि, जीवन अध्ययन र सिकाइमै बित्छ भनेर, त्यस्तै नयाँ कुराको ज्ञान लिन कि त बिभिन्न किसिमका पुस्तकहरु पढ्नु पर्छ वा यात्रामा निस्कनुपर्छ। म अहिलेसम्म धेरै देश घुमेँ, खासगरी वर्षमा एउटा देश घुम्ने याेजना हुन्छ, मेराे। यो वर्षको तिहारको समयमा जापानको माउन्त फुजी जाने योजना थियो। तर, कोभिड– १९ को कारण पर्यटकलाई घुम्ने अनुमति रहिन्छ, त्यसैले याेजना रद्द भयाे।

आफ्नो योजना रद्द भइसकेपछि मनमा एउटा खुल्दुली चाहिँ भइरहेको थियो। यो दसैँ/तिहारमा कहाँ जाने ? कता जाने ? काेही कसैले कतै घुम्न जाउँ भने पनि हुन्थ्याे नि भन्ने कुरा मनमा खेलिरहेकाे थियाे।

यो साल मेरो सन्तानको हजुरआमा र अंकल स्वर्गवास हुनु भएकोले भाइ–टीका पनि थिएन। त्यही भएर गाउँमा जाने कुरा पनि भएन। म एउटा होटेल पर्यटन व्यवसायी भएकोले यसपटक कर्मचारीहरुसँग बसेर तिहार मनाउने याेजना बनाएकाे थिएँ। त्यही क्रममा तिहारकाे अघिल्लाे दिन साथी आकाश बुढा मगर (आर्टिष्ट) र सिस्ने– २ का एक जना भाइ टुप्लुक्क हाेटेलमा आउनु भयाे। केहीबेरकाे भलाकुसारी सँगै कहाँ जाने, कता जान लागेको भन्ने मेरो प्रश्न खस्न नपाउँदै आकासले गुप्ता दह र ठुलो सिस्ने जाने हो भनेर भनिहाल्यो। म पनि के कम, म पनि यही खोजीराखेको गुप्ता दह ठुलो सिस्ने मात्र किन डवारी लेक काटेर सेफोक्सुण्डो नै जाउँ भनिहालेँ। खासमा कुन योजनाले आएको हुन् किन जान लागेको भन्ने प्रश्न नै गरिएन मेरो कुरालाई सहज रुपमा स्वीकारेर लौ न त जाम भन्ने कुरा भयो।

आकाशले भोलि टीका हो, पर्सि ११ गते खलङ्गाबाट ३ जना भाइहरु आउँदैछन्, टेन्ट लिएर त्यसो भए म पनि एकजना भाइ दिल्चन पुन (फोटो ग्राफर) भाइलाई लिएर आउँछु, ऊसँग टेन्ट पनि छ भनेँ। ऊसँग क्यामेरा पनि, टेन्ट पनि छ। घुम्न जाँदा नभइनहुने नछुट्ने चाहिँ फोटो नै हो, फोटो खिच्न र भिडियोको लागि अहिले बिभिन्न खालका एन्ड्रोइड फोन क्यामेराहरु प्रयोग गर्ने गरिन्छ, मानौँ फोटो भिडियो भएन भने घुम्नुको मज्जा त्यति आउँदैन। र, अरुलाई घुमेको प्रमाण र रबाफ पनि त देखाउनुपर्छ झन दिल्चन भाइसँग डिएसएलआर क्यामेरा भएपछि त मलाई मात्र नभएर सबैलाई गज्जब हुने भयो, भनेर योजना बनाउन थालियो तर अझैसम्म दिलचन भाइलाई त थाहै छैन कतै दिल्चन भाइले मेरो काम छ, म जान सक्दिनँ भनिदिए भने के गर्ने भन्ने पनि सोचिएन। मैले दिल्चन भाइलाई फोन गरेँ, भाइ हामी त गुप्ता दह, सिस्नेसम्म जाने योजना बनाइम् तिमी नाई भन्न पाउँदैनौँ सुरुमै भनिहाले। सिस्नेसम्म मात्र किन भने भने उसले हस जान्छु भनोस् भनेर नै भनेको पछि त कन्भिन्स गरी हाल्छु भन्ने मलाई कन्फिडेन्ट थियो। दिल्चन भाइ रोल्पा थवाङमा भैली खेल्दै रहेछ दिल्चन भाइ पनि घुम्ने र व्लग बनाउने नै उसकाे काम हो, झन नयाँ ठाउँमा जाने भइसकेपछि त नाइ भन्ने कुरै भएन।

त्यतिगरी खाना खाइवरी आकाश र अक्क्ष भाइ ११ गते बेलुका जसरी पनि प्वांग बस्न आउनु भनि बिदावारी गरेर हिँडे।

अब त्यति राम्रो ठाउँमा जाने भएपछि ड्रोन क्यामरा पनि लैजानुपर्यो र गोप्राेको पनि व्यावस्था गर्नुपर्यो भनी दिल्चन भाइलाई फोन गरेँ। गोप्राे दिल्चनसँग नै रहेछ र ड्रोनको लागि १८ मगरात सांस्कृतिक सर्जक तिलक रोका मगरसँग माग्यौं। ड्रोन, गोप्राे र क्यामेराको व्यवस्थापन भयो यति भएपछि भ्रमण गज्जब हुने भयो। गुप्ता दह ३६०० मिटर उचाइमा टेन्टमा बस्नु छ।

जाडोबाट बच्नलाई सिल्पिंग ब्याग त चाहियो, अब त्यो कहाँबाट ल्याउनु दिल्चनसँग त रहेछ, मेरो लागि एक जना प्रहरी साथीसँग मागेर सिल्पिंग व्यागको पनि व्यवस्थापन भयो।

१० गतेको दिन टीका लगाउने कार्यक्रमहरु पनि सकियो। भोलिपल्ट ११ गते लग्भग बेलुका ४:३० बजे सिस्ने २ नाइगारतिर लाग्यौं। दिल्चन भाइको जावा मोटरसाइकलमा, लगभग ४० मिनेटमा जहाँसम्म रोड बनेको छ, देउखोलामा पुगियो खासमा आजको बसाइ प्वांग बजारभन्दा पनि माथि डट्कुना भन्ने ठाउँमा रहेछ। जो आकाशसँग आउने अक्ष्य भाइको घर रहेछ। किनभने भोलि घाम नलाग्दै उकालो काट्ने योजना थियो।

हाम्रो बाइक डेउखोलामा राखी झोलाहरु कसिवरी लौरो टेक्दै नाईगार्डको यात्रा तय गरियो। बाटो केही अप्ठ्याराे पहिरोले देउखोला भिर छिचोल्दै करिब डेढ घण्टामा नाईगार्ड बजार पुगियो, जो साबिकको सिस्ने, प्वांग, जांग, खाराबांग गा.वि.स र डोल्पाको यात्रुहरुको लागि संगमस्थल सानो बजार छ। त्यहाँ पुग्दा साथीहरु भोलिको लागि बिभिन्न खानेकुराहरुको बन्दोवस्त गर्दै थिए, सँगै २ वटा ब्रोइलर तयार बनाएका थिए। त्यहाँबाट लगभग ४५ मिनेटको ९० डिग्री उकालो चढ्ने बेला नै मलाई थाहा भइसकेको थियो, भोलिको यात्रा कसकाे कठिन यात्रा हुन्छ भनेर।

आजको दिन दत्कुनामा बास्नु थियो, यहाँ आइपुग्दा रात परिसकेको थियो। हामी पुग्दा हाम्रो खाना ढिडो र मुलाको तरकारी बनिसकेको थियो। एउटै खालको खाना धेरैचोटी खायो भने त्यो जति नै मिठो भएपनि मुखले अर्को स्वादको अपेक्षा गरेको हुन्छ, त्यस्तै ढिडो र मुलाको तरकारी र महीको स्वादसँग मज्जाले बेलुकाको खाना खाइयो।

बिहान ४ बजेको अलार्म बज्यो, म व्युझिएँ तर कोही पनि उठ्ने पारा ल्याउँदैन्थे सायद हिजोको उकालो चढाइले होला मलाई पनि बिहान उठन साह्रै अल्छी लाग्छ झन त्यसमा हिजोको ठकाइले ४ बजे उठने मान्छेहरु बल्ल ७ बजे मात्र उठेर आ-आफ्नो तयारी गरियो। एक दिनको बसाइलाई सिस्नेको काखमा जति सकिन्छ रमाइलो वातावरण गर्ने सबैको एक मात्र चाहना थियो। हामीसँग गितार, हुक्का र सेकुवाको लागि चिकेन सबै प्याक गरियो र हामी अब निस्किँदै थियौं।

हामी बसेको घर पल्लाेपट्टी अक्ष्य भाइको ठुलो बुबाले दूध खाएर जानुस् भन्नुभयो मनैले खोजेको उहाँले गाउँको मानाबाट झन्डै २/२ माना ७ जनालाई खुवाउनुभयो। ओहो ! यहाँको जीवनशैली कतै पनि सम्माे छैन, पाखा पखेरा भीर प्रत्येक दिन घाँस दाउरा काट्नुर्ने तल गएभारी सँग उकालो चढ्नुपर्ने, माथि गए भारीसँग ओरालो झर्न त्यत्तिनै गाह्रो, सोच्दा पनि अत्यासलाग्दो तर उहाँहरु कति सहज र स्वस्थ हुनुहुन्छ। हामी उकालो चढ्न तयार भयौं। मलाई थाहा थियो मेरो झोला सबैगरी १० केजी जति थियो तर यसले मलाई जित्ने छ भनेर र अक्ष्यको ठुलो बुबाको छोरा जेठा कक्षा ९ मा पढ्ने लक्का जवान (नाम सोध्न पनि सोधिएन सबैले जेठा भनेको सुनेर जेठा भन्न नै सहज भयो)लाई जाम गुप्ता दह भनेँ, ऊ पनि दाइहरुसँग जाने भएपछि रमाइलो हुने, स्कुल पनि छैन भने पछि जाने अनुमती उसकाे बुवासँग माग्यो बुवाले केही पनि भन्नु भएन जा पनि भन्नु भएन नजा पनि भन्नु भएन त्यसले छोराको इच्छामा मौन समर्थन देखियो तर आमाले मानिदनु भएन सबैको आमा त्यस्तै हुन छोराछोरीलाई केही होला भन्ने चिन्ता सधैँ हुन्छ, माया हुन्छ। तर, जेठा मान्ने वाला थिएन जेठा हामीसँग गयो भने सबैभन्दा फाइदा मलाई थियो र मन मनै गइदिए हुन्थयो भन्ने मलाई पनि लागिराखेको थियो। अन्तमा जेठा जाने नै भयो आमाको पनि मौन समर्थन पायो। हामी लगभग ८ बजे बाटो लाग्यौं। उकालो ९० डिग्री मा जति उकायो लागियो त्यति नै खुला आकाश र रमणीय भूगोलहरुको दृश्यले मनहरु चंगा बनाउँदै थियो तर मेरो पाइलाहरु उकालो चदन पटक्कै मनिराखेको थिएनन ४/५ पाइला सार्यो कि छात्ति फुट्ला जस्तो भइ हाल्ने म सबै जनाको पछि भए साह्रै नसक्ने भएपछि जेठाले दाइ तपाईको भारी म बोक्छु तपाई यो गितार बोक्नु भनेपछि ओहो मैले खोजेको पनि यही हो भनेँ।

त्यसपछि केही सहज भयो तर बाटोको अवस्था हेर्दै कहालीलाग्दो थियो १ किमी उकालो काट्न ३ घण्टा लाग्यो त्यसपछि हल्को त्यर्छो बाटो लागेपछि कालो धार ढुंगै ढुंगाको डाडा चड्नुपर्ने लगभग ५०० मि. ठाडो नांगो ढुंगैढुंगाको उकालो तल हेर्दा कता हो कता पूरै आँखा घुम्ने यस्तो बाटो म जीवनमा कहिले पनि चडेको थिएन यो मेरा लागि सगरमाथा नै थियो। अगाडि हेरेको म भन्दा अगाडी दुई जना भाइहरुको अगाडि पनि एकजना भाइ पूरै भित्तामा चप्केर हिँडेको देखेर म जस्तै अरु पनि रहेछन भन्ने भयो। डर, सहास, कष्ट र उत्साह सबै थियो, यो यात्रा मा यस्तो अनुभूति जो कसैले गर्दैन जस्तो लाग्छ।

ठाडो नाङ्गाे ढुंगै ढुंगाको उकालो काटिसकेपछि हामी आफ्नै अगाडि सिस्नेलाई देख्छौँ लाग्छ सिस्ने हिमाल हामीलाई नै स्वागत गर्न बसेको जस्तो। लगभग १ घण्टाको यात्रा सिस्ने हिमालसँग लुकामारी गर्दै हामी सानो गुप्ता दह पुग्छौँ। त्यहाँ पुग्दा सिस्ने बादलको घुम्टाे लगाइसकेको हुन्छ। तर, हमीलाई दहले थप आकर्षण उत्सुक्ता बदाइराखेको हुन्छ। यहाँ वर्षातको समयमा प्वांख, सिस्ने, चारगाउँलगायतका गाउँहरुबाट वस्तुभाउ भेडा बाख्रा गाई भैँसी घोडा खच्चड लिने रहेछन् त्यतिखेर बस्नको लागि बनाइएका २/३ वटा गोठहरु पनि छन्। पूर्णिमामा दहिले हान्ने जात्रा पनि लाग्दोरहेछ वर्षाको समयमा प्रसस्त मात्रामा दूध दही हुने भएकोले एकअर्का लाई दहिले हानाहान गरेर रमाइलो गर्दा रछन।

१ वर्षअगाडि मात्र एक जना युवा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको थाहा थियो। त्यही भएर कसैले पनि पौडी खेल्ने र नुहाउने र त्याहाँ रमाइलो गर्न मनाही छ। यो दह हेर्दामा जति रमाइलो छ, त्यत्ति नै पवित्र पनि छ। एकछिनको थकानको बसाइपछि हामी एउटा अल्ली व्यवस्थित गोठमा खाने बस्नेको व्यवस्थामा लाग्छौँ, हाम्रा टेन्टहरु तयार बनाउँछौँ। कोही खाना पकाउन, कोही मासु काट्न, कोही सेकुवा बनाउन कोही आगोको लागि दाउरा तयार गर्न लाग्यौँ। खाने कुरा सबै पाकिसकेपछि सबैजना बसेर भइहरु गितार समाएर गित गुन्गुनाउन थाले कसैले हुक्का भर्न, थाले कसैले सेकुवा बाँड्न थाले आहा कति रमाइलो। मैले पनि टुटेफुटेको श्वार मिलाएर गीत गाएँ, आहा त्यो समय। हाम्रो टिममा मदिरा रक्सी खाने कोही पनि थिएन सबैजना खाना खइसकेपछि १०:३० मा सुत्ने तयारी भयो दिनको थकाइले कतिखेर भुसुक्कै भइएछ थाहै भएन।

बिहान पूर्णरुपमा उज्यालो नहुँदै निन्द्राले छोड्यो टेन्टमा म र दिल्चन भाइ सुतेका थिए, दिल्चन भाइले टेन्ट खोलेर हेर्दा भाइले ओ माइ गड भने मैले आत्तिदै के भो के भो भाइ भन्दा ल मत के भनेको भन्दा त सिस्ने हिमाल त यही छ त दाइ। मैले पनि टेन्टबाट टाउको बाहिर निकाल्दै बाहिर हेरेको त अजंगको कति नजिकै स्पर्श गरौंजस्तै आफ्नै अगाडि छ। त्यति भन्दा नभन्दै अर्को टेण्टका साथीहरु पनि उठे हामी किन आश्चर्यमा थियौंँ भने हिजो बेलुका हामी यहाँ पुग्दा सिस्नेलाई बादलले छोपिसकेको थियो। म थोरै नोस्ताल्जिक भएँ, सानो छँदा म जति सिस्ने हिमालसँग कसले साक्षत्कार गर्यो होला र मेरो गाउँभन्दा माथि हाम्रो गाई/वस्तुहरुको गोठ थियो त्यो गोठमा प्रायजसो म एक्लै हुँन्थेँ र गाईवस्तु र यही हिमालसँग कुराकानी गरिराख्थें तर त्यतिखेर टाढा देखिन्थयो तर आज आफ्नो अगाडि नै पाउँदाको खुसी हुँदैन होला बालपनसँग जोडिएको मेरो एक सम्बन्ध हो नि। हिजो हिँडेरै आउने बेला जति कठिन यात्रा थियो नि आज त्यत्तिनै आश्चर्य ,रोमाञ्चिक र उत्साहित थियौँ।

भनिन्छ, नि जति अफ्ठ्यारो यात्रा उति नै सुन्दर गन्तव्य तर हिँडेर जाँदा गन्तव्यको प्रवाह कसलाई हुदोरहेछ र वास्तवमा जहाँ पाइला रोकिन्छ उही नै गन्तव्य हुदोरहेछ। हाम्रो अगाडि बेहुलीझैँ प्रकृतिले श्रृङ्गारिएकाे सिस्ने हिमाल र त्यहाँबाट आउने चिसो हावाले हामीलाई स्पर्श गर्दै गरेको महसुस र भान हुन्थ्यो। गुप्ता दहलाई ऐना बनाएर आफूलाई हेर्दै लजाएको जस्तो लाग्थ्यो अनि हामीसँग मुस्कुराएको जस्तो लाग्थ्यो अनि हामी पनि सिस्नेको गोडमा खेलिरहेको आफूलाई बच्चाजस्तो अनुभूती पनि हुन्थ्यो बच्चा हुँदाकाे याद र क्षणहरु नोस्ताल्जिक भएर आउथ्यो।

सबैजना आ-आफ्नो धुनमा थिए। साथीहरु कोही फोटो खिच्दै थिए, कोही भिडियो त कोही ड्रोन उडाएर सबैजनाको भिडियो लिँदै थिए सबैजना सुन्यतामा रमाइराखेका थिए। साँच्चिकै प्रकृति कति सुन्दर छ, हामी मानिसहरु पनि त प्राकृतिक नै हौ तर कहिले काही प्रकृतिलाई नै चुनौती दिँदा विभिन्न प्राकृतिक प्रकोपहरु भोग्नुपर्ने हुन्छ। सबैथाेक प्रकृति नै हो, हामी पनि प्रकृतिकै सिर्जना हौँ, त्यही भएर कहिलेकाहीँ प्रकृतिमै हराउन र समर्पित हुन मन लाग्छ। हामीसँग ४ घण्टाको साक्षत्कार सँगै बिस्तारै बादलुको घुम्टाेमा लुक्न थाल्यो सिस्ने हिमाल हामी सिस्नेसँग टाँसिएर सम्झनाका अविस्मरणीय क्षणहरु फोटो र भिडियोमा कैद गर्यौं र हामी पनि आफ्नो बिहानको खानाको बन्दोवस्त गरी ठुलो गुप्ता दह हुँदै हामी आफ्नो गन्तव्यतिर लाग्यौँ फर्क्यौ।

यो एउटा सानो भए पनि पर्यटन प्रवर्धन थियो, हाम्रो सर्कलका र हामीसँग जोडिएका साथीहरुलाई चिनाउनु र देखाउनु थियो नेपालमा यस्ता धेरै सुन्दर प्रकृतिहरु भएता पनि यसकाे आफ्नै विशेषता र महत्व छ, यो पश्चिम धौलागिरी हिमशृंखलाअन्तर्गत पर्दछ। यो मित्र मान ब. खत्रीले बनाएको सिस्ने राउन्डअन्तर्गतको एउटा रुट पनि हो। पछि–पछि विस्तारै भौतिक संरचनाको विकास मोटर बाटोको निर्माणसँगै अझै यसको महत्व बढ्दै जानेछ। यो लेख्दासम्म हाम्रो त्यहाँको फोटोहरु सामाजिक सञ्जालहरुमा रखिसकेका थियौँ। हामी गइसकेपछि अहिलेसम्म ७ वटा ग्रुपले गुप्ता दह भ्रमण गर्न पुगिसकेका छन्।

(लेखक होटल व्यवासायी तथा युवा उद्यमी हुन्)

प्रकाशित मिति: : 2022-11-13 14:34:00

प्रतिकृया दिनुहोस्

    Very energetic 👏

    • 2 महिना अगाडि
    • Dolmo- fyooba