कामदार बनेर लिम्पियाधुरा पुग्दा

अनुभूति र यथार्थ

० नेपाली भूमि अतिक्रमण गरी बसेका भारतीय सेनालाई सघाउने मन त थिएन। तर, गौरा पर्व मनाउन रोजगारी गरेर खर्च जुटाउनु थियो।
० छियालेकबाट माथि भारतको ‘नोटिफाइड’ क्षेत्र सुरु हुन्छ। विदेशीले बहुदेशीय यात्रा अनुमतिपत्र बनाउनुपर्छ। स्थानीयले भारतीय नागरिक भएको परिचयपत्र देखाउनुपर्ने रहेछ।

० छियालेकबाट कालापानी र लिपुलेकसम्म सडक भएकाले गाडी चल्थ्यो। लिम्पियाधुरा क्षेत्रमा सडक विस्तार नभएकाले हामी सात जना भने त्यता जाने भयौं।

० छियालेकबाट पारि नेपालको छाङरु गाउँ टलक्क देखिन्थ्यो। छाङरुमा नेपाल टेलिकमको टावर छ। भारततर्फ सञ्चारको कुनै सुविधा नभएकाले भारतीय सेना घरमा सम्पर्क गर्न हाम्रा फोन माग्थे।

० अचम्मलाग्दो कुरा के देखियो भने लिम्पियाधुराको शून्य प्वाइन्ट अर्थात् चीनसँगको सीमामा भारतीय सेना रातारात जाँदा रहेछन्। राति नै सीमा अवलोकन गरी बिहान ८–९ बजेसम्म ओल्सा बेसमा फिर्ता हुने रहेछन्।

० ओल्साबाट पुल तरेर पारिपट्टि ४–५ किलोमिटर सिधा उकाली चढेर हामी लिम्पियाधुरामा अँध्यारो–उज्यालो (झिसमिसे) अवस्थामा पुग्यौं। लिम्पियाधुरा क्षेत्रका चट्टानहरूमा हिउँ थियो। कुनै–कुनै ठाउँमा हिउँ पग्लिएको थियो। कालो माटो, कालो चट्टान र काला मसिना ढुंगा मात्रै त्यो क्षेत्रमा देखिन्थ्यो।

० लिम्पियाधुरा पासमा ढुंगा जोडेर चिनियाँ अक्षरमा केही लेखिएको थियो। भारतीय सेनाले त्यस क्षेत्रको फोटो खिचे, बिहानको साढे ८ बजेतिर सबै फिर्ता भए।

० मैले यति राति किन सीमा हेर्नुपर्ने भनेर एक जना जवानलाई सोधें। पछि चिनियाँ सेना पनि सीमा हेर्न आउन सक्ने भएकाले बिहान सबेरै जाने गरेको उनले खुलाए। सीमा क्षेत्रमा काम गरिरहेका भारतीय सेनामा चीनको त्रास धेरै रहेछ।

० पछिल्लो समय सीमा विवाद चर्किएको र भारतले सडक विस्तार गरिसकेकाले नेपालीलाई उक्त क्षेत्रमा रोजगारीमा लगाउन बन्द गरेको छ। उक्त क्षेत्रमा रोजगारी गुमाएका नेपालीले के काम गरेर परिवार चलाइरहेका होलान् ?


अतिक्रमित नेपाली भूमि गुञ्जी, नावी, कुटी गाउँ हुँदै लिम्पियाधुरासम्म पुग्ने संयोग मिल्यो। मलाई कालापानी र लिपुलेक नेपालको हो भन्ने जानकारी पहिले नै थियो। लिम्पियाधुरासम्मै नेपाली भूमि हो, गुञ्जी, नावी र कुटी गाउँ पनि नेपालकै हुन् भन्नेमा अनभिज्ञ थिएँ। जब भारतले सन् २०१९ नोभेम्बरमा कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्‍यो त्यसपछि विकसित घटनाक्रमका क्रममा नेपालका सीमाविद्ले पनि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा सार्वजनिक गरे। तब मलाई गुञ्जी, नावी र कुटी पनि नेपाली गाउँ भएको थाहा भयो।

प्रकाशित मिति: : 2020-07-27 08:26:31

प्रतिकृया दिनुहोस्